• १८ वैशाख २०८१, मङ्गलबार

पहाडी जिल्लामा वर्षाको सम्भावना

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ४ गते। काठमाडौँ उपत्यकासहित देशका पहाडी भूभागमा मंगलबार साँझ हल्का वर्षाको सम्भावना रहेको छ। 

पश्चिमी र स्थानीय वायुको प्रभावका कारण बेलुकापथ उपत्यकासहित पहाडी भूभागमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखामा मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। बादलको विकास हुनेक्रम जारी रहेकाले साँझपख चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ। 

मौसमविद् लामिछानेले भन्नुभयो, ‘अहिले देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली भएको छ। बादल विकसित भइरहेकाले साँझपख पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ।’’ 

अहिले कोशी र गण्डकी प्रदेशका पहाडी एक–दुई स्थानमा हल्का वर्षा भइरहेको उहाँले बताउनुभयो। 

प्रि मनसुनको समय भएकाले बिहानीपख मौसम राम्रो भएपनि साँझपख भने मेघ, गर्जन, चट्याङसहित वर्षाको सम्भावना हुने उहाँको भनाइ छ। 

आगामी तीन दिन नै मौसममा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् लामिछानेको भनाइ छ।