• १९ वैशाख २०८१, बुधबार

पदस्थापन नहुँदा शिक्षक अलपत्र

blog

पदस्थापनको माग गर्दैआएका शिक्षक–शिक्षिका । तस्विरः दिपकप्रसाद गौतम

दिपकप्रसाद गौतम

वीरगञ्ज, बैशाख ४ गते । शिक्षक सेवा आयोगको परीक्षा पास भई शिक्षा विकास तथा समन्वय इकाई पर्र्साबाट स्थायी नियुक्तपत्र लिइ पदस्थापनका लागि वीरगञ्ज महानगरपालिका पुगेका शिक्षकलाई महानगरपालिकाले पदस्थापना नगर्दा अलपत्र परेका छन्  ।

शिक्षा विकास तथा समन्वय इकाई पर्सा र वीरगञ्ज महानगरपालिकाबिच तालमेल नमिल्दा चैत २९ गते हातमा स्थायी नियुक्तिपत्र हात परेपछि महानगरपालिकाले पदस्थापना नगरेकाले विद्यालयमा हाजिर हुन नसकेका हुन् ।

हुम्लाको खार्पुनाथ गाउँपालिका –५ खर्पुर गाउँका मिना शाहीका अनुसार चैत २३ गतेदेखि आफू वीरगञ्जमा रहेकाले विद्यालयमा हाजिर हुन नसकेको बताउनुभयो । त्यसैगरी बझाङको बित्थरचिर नगरपालिका –७ सुनकुडाकी रेणुका जोशीको अवस्था पनि शाहीको जस्तै छ । उहाँ २५ गते वीरगञ्ज आउनु भएको बताउनुभयो । ‘स्थायी नियुक्तिपत्र हात परेपछि हाजिर हुन पाइएको छैन’ उहाँले भन्नुभयो । 

महानगरपालिकाले अस्थायी तथा करारका शिक्षक कर्मचारी बचाउन खोज्दा समस्या आएको आरोप जाजरकोटको भेरी नगरपालिका –२ तिमिलेका खिमबहादुर खड्काको आरोप छ । 

चैत ३० गते पदस्थापन गराइ हाजिरी गराएको भए २०८२ बाट ग्रेड खान पाइन्थ्यो, ग्रेड लिन सँगै पास भएका साथीभन्दा पछाडि परिने भयो भनी बैतडीको उचौडी नगरपालिका –६ भूमिराजका प्रकाशसिंह साउतले गुनासो गर्नुभयो ।

चैत २३ गतेदेखि नै वीरगञ्ज आएको र होटलमा बसिरहेको बताउँदै उदयपुरको  निमचुङबुङगा गाउँपालिका –४ बलमत्ताका कोइसन राईले भन्नुभयो, “पदस्थापना भए विद्यालयमा हाजिर भइन्थ्यो, कोठा खोजेर बस्न पाइन्थ्यो । पदस्थापना नहुँदा हामी अलपत्र परेका छौं ।”

वीरगञ्ज महानगरपालिका शिक्षा महाशाखाका अधिकृत हरि राउतले गोरखापत्रसँग भन्नुभयो, ‘मेयर (नगरप्रमुख) बाहिर हुनुहुन्छ, आएपछि केही निष्कर्ष निकिन्छ ।’ हामीकहाँ खाली सिट १३ मात्र छ । शिक्षा विकास तथा समन्वय इकाई पर्साले हचुवाको भरमा ४६ जना पठायो । कारण मागगरी पत्र लेखेका थियौं, जवाफ आएको छ । आएको जवाफका विषयमा महानगरपालिकामा छलफल भएको छैन । त्यसपछि मात्र टुङ्गो लाग्छ’ उहाँले भन्नुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई पर्साका निमित्त इकाई प्रमुख श्यामकिशोर प्रसादले महानगरपालिकाले यसअघि पठाएको अस्थायी करार तथा रिक्त सिटमा व्यवस्थापन गर्नेगरी पठाएको बताउनुभयो । 

महानगरपालिकाले २०८० असोज तथा चैत महिनामा पठाएको अस्थायी करार तथा रिक्त सिट ९९ रहेको देखियो । त्यसमा ४६ जना पठाएका हौंं, त्यहीअनुसार महानगरले माग गरेको जवाफ पनि दिएको उहाँले गोरखापत्रलाई बताउनुभयो । 

उहाँका अनुसार पर्साको वीरगञ्ज महानगरपालिकामा ४६ जना विन्दवासिनीमा १६ जना, जगरनाथपुर र पर्टेर्वा सुगौलीमा १५–१५ जना, ठोरी र छिपहरमाईमा १२–१२ जना, पकाहामैन पसर र जिराभवानीमा ९–९ जना, कालिका माई र पोखरिया नगरपालिकामा ८८ जना, त्यस्तैगरी बहुदरमाई, पर्सागढी र धोबिनीमा ६–६ पठाइएको छ । केही स्थानीय तहमा पदस्थापनमा यस्तो समस्या देखिएकाले त्यो चाँडै समाधान गरिने उहाँले बताउनुभयो ।