• १३ साउन २०८१, आइतबार

आठ सयले लिए स्वास्थ्य सेवा

blog

अर्जुन काफ्ले

स्याङ्जा, वैशाख ३ गते । भिरकोट नगरपालिकाले गरेको वडा नम्बर १ को हेलूँ अस्पतालमा गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा ७८५ जनाले सेवा लिएका छन् । मनमोहन मेमोरियल एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्थानीयले विशेषज्ञ सहितको सेवा लिएका हुन् । 

स्वास्थ्य शिविरमा भिडियो एक्स-रे दुई सय जना, नाक कान घाँटी सेवा एक सय जना, स्त्री तथा प्रसूति रोग १३५ जना, सर्जरी सेवा ५० जना, सामान्य स्वास्थ्य उपचार १५० जना, हाड जोर्नी एक सय जना, बालरोग ५० जनाले सेवा लिएको वडा नम्बर एक वडा अध्यक्ष दीपेन्द्र केसीले बताउनुभयो । 

स्त्रीरोग सम्बन्धी उपचार सेवा लिएकामा  १२० जनाको पाठेघरको क्यान्सर जाँच गरिएको थियो । पाठेघर क्यान्सर जाँचमा पाँच जनाको सामान्य अपरेसन गरिएको थियो भने पाँच जनाको मनमोहन मेमोरियल अस्पतालमा निःशुल्क अपरेसन सेवा प्रदान गरिने भएको हो । 

पालिकामै जिल्लाकै सबैभन्दा ठुलो अस्पताल रहेर पनि सेवा लिन पोखरा, काठमाडौँ पुग्नु परेको बताउँदै भिरकोट नगरपालिकाको मेयर गोविन्द कुमार कर्माचार्यले गाउँमा विशेषज्ञ सहितको सेवाको दिन शिविर गरेको बताउनुभयो । उहाँले चाडै नगर अस्ताललाई दरबन्दी कायम गरी सेवा दिने र उपचारको लागि बाहिर जानु नपर्ने बनाउने बताउनुभयो । 

शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा मनोहर दिन सैयद सहित सात जना विशेषज्ञ सहित २५ जनाको स्वास्थ्य टोलीले सेवा प्रदान गरेको हो भने निःशुल्क औषधी समेत वितरण गरिएको थियो । 

स्वास्थ्य शिविरमा भिरकोट, पुतलीबजार नगरपालिका, अर्जुन चौपारी गाउँपालिकाका नागरिकले सेवा लिएका थिए ।