• ५ माघ २०८१, शनिबार

काठ चोरीको आरोपमा प्रहरी चौकी घेराउ, इन्चार्ज उपर कारवाही

blog

चोरी भएको काठबारे अस्थायी प्रहरी चौकी सन्तपुरमा छलफल हुँदै । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, वैशाख ३ गते ।
चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्जले काठ चोरी गरेको भन्दै सोमबार बिहान स्थानीयले चौकी घेराउ गरेपछि इन्चार्ज उपर कारवाही हुने भएको छ ।

सोही स्थानकै कृषि सहकारी साझा संस्थाको भवनमा सञ्चालन हुँदै आएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव संस्थाकै काठ चोरीको आरोपमा कारवाहीमा पर्ने भएका हुन् ।

काठले बनेको साझा संस्था पक्की भवनमा परिणत भएपछि संस्थाले प्रहरी चौकी परिसरमै सुरक्षितसँग राखेको काठ चौकीका इन्चार्ज यादवले विभिन्न किसिमका फर्निचर बनाई आफ्नो घरमा पठाउनेगरेको स्थानीय काठ मिस्त्रीबाट जानकारी पाएपछि सन्तपुरवासीले चौकी घेराउ गरेका हुन् ।

वडा अध्यक्ष जितेन्द्र चौधरीले संस्थाको केही परिमाणका काठ इन्चार्ज यादव बस्ने कोठामा समेत भेटिएको बताउनुभयो । उहाँका  अनुसार चोरिएको काठको क्षतिपूर्ति र इन्चार्ज यादवलाई कारवाहीको माग राख्दै चौकी घेराउ गरिएको वडा अध्यक्ष जितेन्द्र चौधरीले बताउनुभयो ।

घटनापश्चात् लगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खट्नुभएका प्रहरी निरीक्षक गायत्रीराज शर्माले स्थानीयसँग लामो छलफल गरी चौकीका इन्चार्ज यादव उपर अनुसन्धान गरिने र दोषी ठहरिएमा विभागीय कारवाही गरिने आश्वस्त पार्नुभयो ।

यता संस्थाका अध्यक्ष तथा पूर्व नगरपालिका प्रमुख रामचन्द्र चौधरीले संस्थाको काठ मात्र नभई इन्चार्ज यादवले चोरी निकासीको अवैध काठसमेत बरामद गरी निजी उपयोग गरेको आरोप लगाउनुभयो ।