• १९ वैशाख २०८१, बुधबार

कानुन निर्माणको रफ्तार बढाउन आवश्यक : राष्ट्रियसभा अध्यक्ष

blog

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यसँगको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नारायणप्रसाद दाहाल । तस्बिर : सङ्घीय संसद्

काठमाडौं, वैशाख ३ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुन निर्माणको काम जुन रफ्तारमा हुनुपर्ने हो त्यसरी हुन नसकेको बताउनुभएको छ ।

संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवम् प्रभावकारी भूमिकाका लागि सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले यस्तो बताउनुभएको हो ।

नयाँ संविधान निर्माणसँगै देशमा सङ्घीय शासन प्रणालीको सुरुवात भएको उल्लेख गर्नुहुँदै  अध्यक्ष दाहालले संविधानको कार्यान्वयनका लागि सङ्घीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनुपर्ने काम अझैं बाँकी रहेको बताउनुभयो ।


“अहिले कानुन निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ, यसले ठूलो अन्तरविरोध पैदा भएको छ,” अध्यक्ष दाहालले भन्नुभयो, “नयाँ संविधान निर्माण भइसकेपछि जुन रफ्तारमा कानुन निर्माण हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन । यसतर्फ कानुन निर्माणको जिम्मेवारी लिएका सांसद र सङ्घीय संसद् गम्भीर हुनु जरुरी छ ।”

समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानुन निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमानदार हुनुपर्नेमा जोड दिनुभयो ।

नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरुलाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रमले संसदीय अभ्यास र प्रक्रिया बुझ्न महत्त्वपूर्ण हुने भन्दै अध्यक्ष दाहालले सिक्ने काम कहिल्यै नसकिने भएकाले यस्ता कार्यक्रमहरु सबैका लागि नियमित सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

कानुन निर्माणका विभिन्न चरणहरुबारे सिक्न, विधेयकमा छलफल, संशोधन र कानुनी कार्यमा पोख्त हुन बेला बेलामा यस्ता अन्तरक्रिया, गोष्ठी र छलफल हुनु जरुरी रहेको उहाँको भनाइ थियो ।


अभिमुखीकरणमा विधेयक निर्माण प्रक्रिया, विधेयकको संसदीय चरण, संशोधन प्रक्रिया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरुको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गर्नुभएको थियो भने राष्ट्रिय सभाका समितिहरु र निगरानीसम्बन्धी कार्यका बारेमा राष्ट्रिय सभाका पूर्वसदस्य राधेश्याम अधिकारी, सङ्घीयता, सङ्घ प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्ध तथा वित्तीय सङ्घीयताबारे राष्ट्रिय सभाका पूर्व सदस्य डा. खिमलाल देवकोटाले प्रस्तुति गर्नुभएको थियो ।

त्यसैगरी, संसदीय मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संसदमा प्रभावकारी भूमिकाका लागि महिला सांसदहरुको सशक्तीकरणबारे पूर्वसभामुख ओनसरी घर्ती, लैङ्गिक तथा समावेशी मुद्दामा संसद र संसदीय समितिहरुले खेल्नुपर्ने भूमिकाका विषयमा राष्ट्रिय सभाका निवर्तमान सभापति दिलकुमारी रावल थापा पार्वतीले बोल्ने कार्यक्रम छ ।

त्यस्तै, राष्ट्रिय सभाको संशोधित नियमावली र सभाको प्रभावकारिताबारे राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्याल र सङ्घीय संसद् सचिवालय, साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सचिवालय सचिव सुदर्शन खड्काले जानकारी दिने कार्यक्रम छ ।

सङ्घीय संसद् सचिवालयले आयोजना र जनसङ्ख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चको सहकार्यमा भएको एकदिने अन्तरक्रिया कार्यक्रमको उद्घाटनका अवसरमा सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले स्वागत तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने जनसङ्ख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चका महासचिव तथा संविधान सभा सदस्य डा. भीष्मनाथ अधिकारीले विषय प्रवेश गर्नुभएको थियो ।