• १७ असार २०८२, मङ्गलबार

पर्यटकको उत्साहजनक आगमन

blog

नवराज श्रेष्ठ 

रामेछाप, वैशाख ३ गते । नेपाली नयाँ वर्ष २०८१ को सुरुवातीसँगै जिल्लाको धार्मिक एवं पर्यटकीय स्थलमा आन्तरिक एवं बाह्य पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ । जिल्लामा प्रचारप्रसार नहुँदा धेरै पर्यटकीय सम्भावना बोकेका स्थान अझै ओझेलमा छन् तर पछिल्लो समय बढी प्रचारप्रसार भएपछि दोरम्बा शैलुङ गाउँपालिकामा पर्ने शैलुङ, खाँडादेवी गाउँपालिकामा पर्ने खाँडादेवी माईको मन्दिर, मन्थली नगरपालिकामा पर्ने थानापति महादेव र उमाकुण्ड तथा गोकुलगङ्गा गाउँपालिकाको सङ्गम स्थलमा रहेको ताँवेडाँडा धेरै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । 

नयाँ वर्ष २०८१ को पहिलो दिन शैलुङ, खाँडादेवी माईको मन्दिर, थानापति महादेव र ताँवेडाँडामा आन्तरिक पर्यटकको उत्साहजनक आगमन देखिएको हो । विगतमा भन्दा यस पटक नयाँ वर्षमा शैलुङ घुम्न र यहाँको वातावरणसँग रमाउन आउने आन्तरिक पर्यटक वृद्धि भएको शैलुङका स्थानीय दावासाङ्बु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “शैलुङलाई महाभारत पर्वत श्रेणीको सबैभन्दा अग्लो स्थान मानिन्छ । शैलुङको विशेष महìव रहेकाले यहाँ घुम्न र यहाँको वातावरणसँग रमाउन पर्यटक आउने गरेका छन् । विगत वर्षको नयाँ वर्षमा भन्दा यो वर्षको नयाँ वर्षमा शैलुङ घुम्न आउने पर्यटकको उपस्थिति विशेष देखियो ।” 

रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङमा रहेको सय थुम्का, ग्रेट वालका अलावा शैलुङ्गेश्वर महादेव, बौद्ध छ्योर्तेनलगायतका थुप्रै धार्मिक तथा पर्यटकीय स्थलले शैलुङ क्षेत्रको महìव अझ बढाएको शेर्पाको भनाइ छ । पछिल्लो समय शैलुङ क्षेत्रका भ्रमणका लागि दैनिक रूपमा आउने पर्यटक बढिरहेको उहाँले बताउनुभयो । 

विमानस्थल पर्यटकले भरिभराउ 

गएको चैतबाट रामेछाप सदरमुकाम मन्थलीस्थित मन्थली विमानस्थलबाट लुक्ला उडान भइरहेको छ । मन्थली विमानस्थललाई प्रयोग गरी सीता, तारा र समिट एयरका जहाजले सगरमाथा क्षेत्रको भ्रमणमा आएका विदेशी पर्यटकलाई लुक्ला पु¥याउने र ल्याउने गरिरहेका छन् । 

नागरिक उड्डयन प्राधिकरणले (वसन्त ऋतु) को चैतदेखि जेठसम्म र (शरद ऋतु) को असोज पहिलो सातादेखि मङ्सिर १५ सम्म मन्थली विमानस्थलमार्फत लुक्लामा पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । नागरिक उड्डयन प्राधिकरण मन्थलीका वरिष्ठ अधिकृत पूजा थापाका अनुसार अहिले एउटा उडानमार्फत १४ देखि १८ जनासम्म पर्यटक मन्थली विमानस्थलबाट लुक्ला पुगिरहेका छन् । उहाँका अनुसार यो याममा ५० वटाभन्दा बढी मन्थली–लुक्ला उडान भएका छन् । 

अहिले हरेक दिन बिहानैदेखि मन्थली विमानस्थल विदेशी पर्यटकले भरिभराउ भए पनि बजार क्षेत्रमा पर्यटकको आवागमन शून्य छ । पर्यटनको लाभ रामेछापवासीले लिन पाएका छैनन् । मन्थली अहिले सगरमाथा क्षेत्रको उडानका लागि ट्रान्जिट बनिरहे पनि मन्थलीवासी र होटल व्यवसायीले केवल धुवाँ र धुलो मात्रै पाइरहेका रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कवीन्द्र लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्थलीमा राम्रा होटल छैनन् भन्ने जस्ता हल्ला चलाइयो । अहिले मन्थलीका होटलमा दुई सयभन्दा बढी पर्यटकस्तरका कोठाहरू छन् । यहाँका होटलले विदेशी पर्यटकका लागि आवश्यक सेवा विस्तार गरिरहेका छन् । यसमा सङ्घ पनि गम्भीर भएर लागेकै छ ।”

लाभ दिलाउन पहल

मन्थली विमानस्थलबाट भइरहेको लुक्ला उडानबाट मन्थलीवासीले अपेक्षाकृत लाभ नपाएको गुनासो आएपछि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले सरोकारवालासँग छलफल गर्नुभएको छ । नगरप्रमुख श्रेष्ठले केही दिनअघि पदयात्रा र ट्राभल कम्पनीसँग छलफल गर्नुभएको हो । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलासँग नगर प्रमुख श्रेष्ठले मन्थलीमा पर्यटकका लागि होटलसहित पर्यटकीय पूर्वाधार विकास गर्न नगरपालिका तयार रहेको बताउनुभयो । अहिले पनि पर्यटकीय पूर्वाधार निर्माण भइरहेको बताउँदै मन्थलीमा सुविधा छैन भन्ने हल्ला सत्य नभएको प्रस्ट पार्नुभयो । 

छलफलमा पर्यटकलाई ‘साइड भिजिट’ का लागि नजिकका गन्तव्य चिसापानीगढी, तिल्केस्थानगढी, थानापति महादेव मन्दिर, फुलासी चिया बगानलगायतका गन्तव्य रहेको जानकारी दिँदै ट्रेकिङ कम्पनीले आफ्नो प्याकेजमै यी गन्तव्यसमेत समेट्न आग्रह गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । 

नगर प्रमुख श्रेष्ठले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) का अध्यक्ष रमेश थापासँगको छलफलमा मन्थलीका स्थानीय बासिन्दा र मन्थलीका होटल व्यवसायीले अहिले त्यहाँ भइरहेको पर्यटकीय गतिविधिबाट खास लाभ नपाइरहेको भन्दै मन्थलीमा पर्यटकलाई ‘होल्ड’ गराउन आग्रह गर्नुभयो । भेटमा टानका अध्यक्ष बास्तोला र अध्यक्ष थापाले सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि मन्थलीबाट उडान गर्दा आफूहरूलाई कुनै असहज नरहेको र पर्यटकलाई मन्थलीमै राख्न पाए हुन्थ्यो भन्ने आफूहरूको पनि चाहना रहेको प्रतिक्रिया दिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । 

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “भेटमा टान र नाट्टा अध्यक्षले सहमति जनाउँदै मन्थलीमा पर्यटक राख्न कुनै गाह्रो छैन भन्नुभएको छ । यसका लागि मन्थलीका होटल व्यवसायीको सहभागितामा बृहत् कार्यव्रmम राख्न अनुरोध गर्नुभएको छ । उहाँहरूले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) सहित होटल सङ्घसँग सहकार्य गरेर मन्थलीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।”