• १९ असार २०८१, बुधबार

बागलुङ कालिकामा तिस हजार भक्तजन

blog

कालिका भगवती मन्दिरमा पूजाआजा गर्न आएका भक्तजन । तस्बिर : साधन घर्ती

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), वैशाख ३ गते । बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिकामा नयाँ वर्षको पहिलो दिन भक्तजनको ओइरो लागेको छ । वैशाख १ गते देशका विभिन्न भागबाट ठुलो सङ्ख्यामा आएका भक्तजनले दर्शन तथा पूजाआजा गरेका छन् । 

चैते दसैँ अर्थात् नवरात्रिको पाँचौँ दिन तथा नयाँ वर्ष वैशाख महिनाको पहिलो दिन शनिबार करिब ३० हजार दर्शनार्थीले पूजाआजा गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । चैते दसैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ ।

समितिमा अध्यक्ष खड्काले भन्नुभयो, “बागलुङ भगवतीमा विशेष गरेर चैते दसैँमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ ।” बागलुङ कालिका मन्दिर गण्डकी प्रदेशकै मुख्य शक्तिपीठ हो । सो गुठीले नवरात्रमा मन्दिर आउने भक्तजनको सहजताका लागि आवश्यक व्यवस्थापन गरेको अध्यक्ष खड्काले बताउनुभयो । दर्शनार्थीलाई लक्ष्य गरी मन्दिरपरिसर सरसफाइ गरिएको छ । नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिएको छ ।

सडकमार्ग हुँदै प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थी बागलुङ कालिका भगवतीको दर्शन गर्न पुग्ने गर्छन् । यसरी पूजआजा गर्दा मनोकाङ्क्षा पूरा हुने भएकाले म्याग्दीको बेनीबाट पूजा गर्न आएको गौदेवी गर्बुजाले बताउनुभयो ।

त्यसै गरी म्याग्दीको मालिका गाउँपालिका–५ बाट आएका देवीन्द्र बुढाले पनि मनले चिताएको कुरा पुग्छ भन्ने विश्वासका कारण कालिका भगवतीको दर्शन तथा पूजा गर्न आएको बताउनुभयो ।

अध्यक्ष खड्काका अनुसार चैते दसैँको सन्दर्भ पारेर गुठीले मेलासमेत आयोजना गरेको छ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्र्याउने लक्ष्य छ ।

मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी, कालिका कप खुला पुरुष भलिबल, राष्ट्रिय लोकभजन, छेलो फाल्ने प्रतियोगितालगायत विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरिएको छ ।