• २२ वैशाख २०८१, शनिबार

गिट्टी कुटेर परिवार पाल्दै भूकम्पपीडित

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, वैशाख २ गते । जाजरकोटका भूकम्पपीडित महिला गिट्टी कुटेर परिवार पाल्न थालेका छन् । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका महिला घरखर्च जोह गर्न गिट्टी कुट्न थालेका हुन् । कतिपयले सदरमुकाममा आवास निर्माण गर्न थालेपछि घर निर्माणका लागि चाहिने गिट्टी कुट्न पीडित महिला खटिएका हुन् । भूकम्पले घर भत्किएर महिला, बालबालिका तथा वृद्धवृद्धा बढी जोखिममा परेका छन् ।

श्रम गरेर कमाएको पैसाले छाक टार्नुका साथै घरखर्च चलाउँदै आएका छन् । आम्दानीको अन्य स्रोत नभएपछि गिट्टी कुटेर परिवार पाल्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । त्रिपाल तथा टेन्टको अस्थायी आवासमा रात काट्दै आएका भूकम्पपीडित महिला खानाका लागि गिट्टी कुटेर पैसा कमाई परिवारलाई गास, बासको जोहो गरेका छन् । 

भेरी नगरपालिका–१, तिमिलेकी रामकला खड्काले गाउँको घर भूकम्पले भत्किएको र घर बनाउने रकम नहुँदा समस्या भएको बताउनुभयो । सरकारले अस्थायी आवास बनाउन दिएको २५ हजार रुपियाँ पाए पनि त्यसपछि रकम नपाउँदा समस्या भएको गुनासो उहाँले राख्नुभयो । पाँच महिना बित्दासमेत सरकारले रकम नदिँदा ऋण तिर्न, परिवार पाल्नका लागि बजारमा गिट्टी कुट्न थालेको भनाइ पीडित महिलाको छ । अरूले घर बनाउन लागेका बेला गिट्टीको माग बढेको थाहा पाएपछि आफूहरूले कुट्न थालेको उहाँले जनाउनुभयो । 

उहाँसहित अहिले १० जना महिलाले चर्को गर्मीमा पनि गिट्टी कुट्ने काम गरिरहेका छन् । भेरी नगरपालिका–१, डौरीकाडाँकी सीता सुनारले गाउँमा कृषि पेसाका लागि पर्याप्त जमिन नहुँदा श्रम गरी बिहान बेलुका खानाको जोहो गर्न सदरमुकाममा गिट्टी कुट्ने गरेको बताउनुभयो । 

दिनभरि गिट्टी कुटेर बेलुका त्रिपालमुनि बस्नु परेको उहाँको अनुभव छ । एक हप्तामा एक ट्याक्टर गिट्टी बनाउने गरेको भन्दै उहाँले त्यही बेचेर रोजीरोटी चलाएको उल्लेख गर्नुभयो । 

सरकारले उचित व्यवस्थापन नगर्दा गरिब, दलित, आर्थिक अवस्था कमजोर भएका महिलाले दुःख पाएका छन् । एक कट्ठा चामल, लत्ताकपडा दिनुभन्दा सरकारले सिपमूलक कार्यक्रम सञ्चालन गरी महिलालाई आत्मनिर्भर बनाइदिए खुसी हुने उहाँले बताउनुभयो । सदरमुकाम खलङ्गामा १२ जनाभन्दा बढी महिला गिट्टी कुट्न थालेका छन् । घर निर्माणका लागि बजारमा गिट्टीको माग बढ्दै गएपछि बेरोजगार महिला दिनभरको गर्मीमा खुला आकाशमा बसी गिट्टी कुट्न बाध्य भएका छन् ।