• १८ वैशाख २०८१, मङ्गलबार

पर्यटन राजधानी पोखरामा नयाँ वर्षको भव्य स्वागत

blog

कास्की, वैशाख १ गते । देशको पर्यटकीय राजधानी पोखरामा नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको छ । यहाँस्थित प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट शुक्रबार मध्यरातमा नयाँ वर्षको स्वागत गरिएको हो ।

नयाँ वर्ष वि.सं.२०८१ को स्वागत तथा वि.सं.२०८० को बिदाइका लागि लेकसाइडमा आन्तरिक तथा बाह्य पर्यटकको ठूलो भीड लागेको थियो । आतसबाजीसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर सडकबाटै नयाँ वर्षलाई स्वागत गरिएको थियो । होटल सङ्घ पोखराले नेपाली नयाँ वर्ष मनाउनका लागि लेकसाइडको साढे तीन किलोमिटर सडकमा नववर्ष महोत्सव आयोजना गरेको थियो । महोत्सवमा रमाउँदै स्वदेशी तथा विदेशी पर्यटकले नयाँ वर्षलाई भव्य स्वागत गरेका हुन् ।

नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक लेसाइडमा भरिभराउ थिए । नयाँ वर्ष मनाउन पोखरामा केही दिनदेखि पर्यटकको बाक्लो चहलपहल बढेको थियो । गत चैत २९ गतेदेखि सुरु नववर्ष महोत्सव आज सकिँदै छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फेवाताल किनारबाट नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको बताउनुभयो । नेपाली नयाँ वर्षलाई धूमधामका साथ मनाउने उद्देश्यले आयोजित महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएका उहाँको भनाइ छ ।

अध्यक्ष सुवेदीले भन्नुभयो, “देशको पर्यटकीय राजधानी पोखरामा भव्यरुपमा नयाँ वर्षको स्वागत गरेका छौँ । हजारौँ स्वदेशी तथा विदेशी पर्यटकले खुसी साट्नुभएको छ । अहिले नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य पोखरा बनेको छ ।” नयाँ वर्ष तथा विभिन्न बिदाका कारण पनि पोखरा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या वृद्धि भएको र भारतीय पर्यटकको आगमन पनि बढेकाले उहाँले बताउनुभयो । पर्यटन चहलपहल बढेसँगै व्यापार व्यवसाय पनि वृद्धि भएको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । 

पोखरामा तेस्रो मुलुकका पर्यटक पनि उल्लेख्य बढेका छन् । नव वर्ष महोत्सवकै कारण पर्यटक आगमन बढेको उहाँको भनाइ छ । नेपाली नयाँ वर्षलाई उल्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवमा परम्परागत नेपाली खानाको प्रवर्द्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य, हास्यव्यङ्ग्य प्रहसन र पर्यटक दौड प्रतियोगितालगायत रहेका छन् । रासस