• १० मंसिर २०८१, सोमबार

अन्तर्मनको आँधी

blog

आँधीले सारा उडाएर लग्यो । मनको बेचैनी आँधीको मध्यभागमा पसेको भुमरी जस्तै बेप्रवाह घुमिरहेको छ । आँखाअगाडि बसिरहेको दृश्य क्षणभरमा परिवर्तन भयो । खरले छाएका गोठहरू नाङ्गा देखिए । विद्यालय र केही कहलिएका धनीको टिनको छानो धुवाँको पिरो राग खेप्न छोडेर खरबारीमा पुगेर विश्राम गरे । बाँसको झ्याङमा बसिरहेका चराहरू अलप भए । निहुरिएर शोभा प्रकट गर्ने बाँस पड्किएर भाटामा रूपान्तरण भएर भुइँमा थुप्रिए ।  धरामा रहेको धुलो र आकाशमा देखिएको कालो बादल नदीको वेगले कटान गरेको बगर जस्तै सफा देखिए । आँधीको वेगमा रमाइरहेका धुलोका कण, रुखका पात, ढोड, पराल र प्लास्टिकका झोलाहरू आफ्नो नृत्य सकेर शान्त देखिए । केही फुर्फुर गर्दै छन् अझै पनि उद्वेलित भएर, मेरो मनको बेचैनी जस्तै । 

खेतका गरा सिनिक्क बढारेको आँगन जस्तै भएका छन् । रुखका पुराना पात आफूलाई हुर्काउने हाँगा छोडेर अर्कै संसारमा पुगे । बाआमाबाट टाढिँदै गएका छोराछोरी जस्तै । मोतीबिन्दुले जकडेको आँखाको रोग शान्त भयो, सुन्दर दृश्य हेर्नका लागि । शरीरमा तातो तेल खन्याएको जस्तै गरी पोलिरहेको मन कुनै चोटबिना निरन्तर छल्किरहन्छ । नदीको प्रवाहमा बाधक बनेको ढुङ्गा जस्तै गरेर । 

बाँसघारीको गुँडमा भएका बचेरा कहाँ पुगे होलान् ? झरी बादलमा पखेटाले छहारी दिने आमाले किन गुँड छोडेर गई ? किन आफैँले हुर्काउँदै गरेका सन्तानको रक्षा गर्न सकिन ? यावत प्रश्नले जकडिन खोज्छ दिमागलाई । तर, समवेदनमा डुब्दै गएका आँखाले आफ्नै बच्चाको लासमा रमाइरहेका कागको समूह देख्छ । त्यो हानाथाप र लुछाचुँडीले भर्खरै खोलिएको मोतीबिन्दुको जालो नखुलेको भए हुन्थ्यो भन्ने जस्तै लाग्छ । 

कागले ठुगेर छोडेका बच्चाको अवशेषमा कमिलाको मोह देखियो । कमिलाले घिसार्दै लगेको अवशेषलाई देखेर आमाले विरोध गर्न खोजी । म यो दृश्य हेर्न सक्दिनँ भन्ने भानमा पखेटा फटफटाई । आँधीको वेगले झारेको डालीको चोटले प्रताडित भएको उसको पखेटा मसिना कमिलालाई विचलित पार्ने गरी फटफटाउन सकेनन् । फलतः कमिलाको साम्राज्यले पूर्ण रूपमा ढाकियो आफ्नै सन्तानको अवशेष । 

सृष्टिको चक्रमा आएको एक झोकाले भत्कायो पाँच महिनाको मेहनत । न अब आफ्नो कला र सिपले बनेको गुँड डालीमा देखियो । न त छन् गुडँमा काइँयो पलाएर हुर्किंदै गएका बचेराहरू । आहत भरेर जोडले एक पटक नमिठो स्वरमा चिच्याएको सुनियो । सायद बच्चाप्रतिको अन्तिम श्रद्धाञ्जली  होला । बाँसका रुखप्रतिको अविश्वास हो वा हेयको भाव केही बुझिएन । आफू उडेर पिपलको रुखको बलियो हाँगामा बसी र तल भुइँमा यत्रतत्र छरिएका कलिला प्वाँखहरूमा एकटकले आँखा गाडी । फेरि मनले मस्तिष्कलाई के सन्देश दियो थाहा भएन । टाउकोलाई घाइते भएको पखेटाको भित्र लुकाई र मस्त निद्रामा हराई मानौँ अहिलेसम्म केही भएको नै थिएन । भोलिपल्ट बिहानको सूर्योदयमा शीतले लपक्क भिजेको उसको शरीर खेतको आलीमा टल्किरहेको थियो ।

छानो हराएका गरिब परिवारले खरको जोहो गर्न थाले । नयाँ छानो बनाउनका लागि । टिनको चाहना राखेकाले महिना दिन कुर्नुपर्ने भयो । अहिले यहाँ धनीभन्दा गरिब सम्पन्न भएको देखियो । बास सुरक्षाको दृष्टिले । गरिबले चैनको निन्द्रा निदाउन सके । उनीहरूले खप्नु परेन दिउँसोको ताप र रातिको शीतको प्रभाव । धनीहरूले भोगिरहेको ताप र शीतको प्रभुत्व । फरक थियो त यतिबेला धनीको घरमा धुवाँको मुस्लो सिधै बाहिर निस्कन्थ्यो भने गरिबकोमा गुम्सिरहेको थियो ।

केही दिनमा सामान्य हुँदै गयो दैनिकी । भाँचिएका हाँगामा पलाउन थाले नयाँ डाली र पालुवाहरू । फेरि हरियाली छायो वातावरणमा । पुरिँदै गए लाछिएका हाँगाको चोट । भरिँदै गए घाउका डोबहरू । अग्लो बनेका हाँगाहरूको सैसला कम भएर आयो । थुम्म थुम्म रुखहरू गमक्क देखिए । सृष्टि अनियमितताबाट फेरि नियमिततामा रूपान्तरण भयो ।  हरिया डालीमा फेरि सुरु भयो चराको चिरविराहट । नयाँ गुँड बने । कोरल्न थाले अन्डा । सबै सामान्य देखियो । नदीको प्रवाह पनि घट्दै गयो । जलधारको प्रवाह कम भएपछि चलबलाउन थाले माछाका भुराहरू, नदीले भँगालो बनाउँदा छोडेको भागका ससाना पोखरीहरूमा । 

मसिना भुराहरूले आफ्नो किनारामा आएका कमिलालाई आहारा बनाउँदै गए । चलिरहेको जीवन चक्रमा सुक्दै गएको पानीमा प्राण रक्षा गर्न सकेनन् माछाहरूले । फलतः फेरि माछालाई खान थाले कमिलाहरूले । अहो, सृष्टिको चक्र ! कहिले को शक्तिमा हुन्छ, कहिले कसको गुलामी कसले गर्नु पर्छ । माछासँग भागेर जीवन बचाउनुपर्ने कमिला आज माछालाई नै बोकेर आफ्नो देवलको बाटो लागिरहेका छन् । कमिला र माछाको खेलबाट हामीले सिक्नै पर्छ ।

चक्रमा घुम्नु पर्छ । दिन र रातको प्रक्रिया चक्रका कारणले नै भएको हो । औँसी र पूर्णिमाको घुमाई पनि यस्तो हो । दाँत नभएर नै जन्म र दाँतबिना नै स्वाभाविक मृत्यु परम्परा त्यसै बनेको होइन होला । यो सृष्टि रचयिताको समयमा प्रविधिको विकास भएको थिएन । मात्र गणनाको लेखा थियो । सायद विज्ञानको गुरु गणित हो भन्दा यो विषयमा बढी न्याय हुन्छ जस्तो लाग्यो । जुन गणितले सिद्धान्त मात्र होइन, समय र उमेरको गणना ग¥यो । हामीले त्यही विषयलाई महत्वपूर्ण ठानेनौँ । जसले हाम्रो आयु, प्रकृति र सौन्दर्य शास्त्रको विकास गरायो । 

तपाईं भन्नु होला फूलमा के छ ? फूलमा मैले देख्ने तीन वटा अन्तर्वस्तु छन् । पहिलो हो वासना । दोस्रो पराग र तेस्रोमा छ सौन्दर्य । यी तीनमा सबैभन्दा कमजोर भनेको सौन्दर्य नै हो । वासना फैलिरहन्छ । तपाईं त्यसलाई जति लुकाउन खोज्नुहोस् । बन्द भाँडोमा राख्नुहोस् भाँडोलाई नै आफू जस्तै सुगन्धित बनाइदिन्छ । दोस्रो हो पराग जसले आफ्ना सन्तानलाई जीवित राख्नमा सदा धर्म निभाइरहन्छ । त्यो सौन्दर्य त तपाईं हातमा राखेर सुमसुम्याउँदा सुमसुम्याउँदै कतिबेला सकिन्छ थाहै हुँदैन । 

लम्बेतान व्याख्याले तपाईंको दिमागमा यो केही होइन भन्ने लाग्न सक्छ । खुट्टामा अलिकति चिनी दलेर हेर्नूहोस् सयौँ माहुरी तपाईंको वरपर हुने छन् । फेरि फोहोर दलेर हेर्नूहोस् झिँगाले कसरी घेर्न थाल्छन् । ¥याल सिँगान फ्याक्नूहोस् कमिलाको ताँती पाउनु हुने छ । 

कुँडेभरिको दुध एउटा झिँगाले रित्याउन सक्दैन तर बिचबाट दुध खाने लोभले मृत्यु अँगालेको छ । मह कसरी सङ्कलन र भण्डारण गर्ने भन्ने दिव्य ज्ञान पाएको मौरी महमा फस्यो भने निस्कँदैन । साथमा सहयोगको याचना राख्दा अरू सयौँ मौरीलाई आफूसँगै मार्छ । यति पनि नजान्ने तपाईं सिक्नका लागि विश्वविद्यालय गइरहनुभएको छ । के तपाईंलाई गुरुहरूले यो कुरा सिकाए त ? छैन होला । आफैँ अन्योलमा रहेका र वितृष्णाको जीवन बाँचेका गुरुहरूले सिकाउन पनि कसरी । जसले एउटा दिमागमा श्रीमतीको ताड्ना र अर्कोमा छोराछोरीको चाहना बोकेर हिँडिरहेका छन् । भन्नुहोला श्रीमतीहरू पनि त विश्वविद्यालयमा छन् नि ? हो, छन् तर उनीहरूको दिमागमा मैले माथि भनेको सौन्दर्यको भूत मात्र छ । त्यहाँ वासना र पराग छैन । जसले शुभाभिलाषी, जीवनको औचित्य र लय के हो भन्ने बाटो विद्यार्थीलाई देखाउन सक्दैनन् ।

आफ्नो अधिकारको निस्फिक्री प्रयोग गरेर मेरो अधिकारको हनन गर्दै मलाई हैरानी गर्ने यो रुखले अब आफ्नै अस्तित्व जोगाउन सङ्घर्ष गर्नुपर्ने छ । अहो ! परपर मैले हिमाल हेर्न खोज्दा कोल्टिनुपर्ने चिउरीको रुख अहिले आँधीपछि एउटा मुडोमा परिवर्तन भइसकेको छ । आँधी रोकिएपछि सकिन्छ मानवीय रोष र इष्र्या तर उसको निरन्तरता फेरि उसै गरी मौलाइरहन्छ जसरी बढ्छ हाम्रो अहङ्कार । 

यो एउटा भयानक आँधी हो, जीवनका लागि । यहाँ आँधीकै कारण प्रकृति मात्र होइन, जीव र जीवनको अस्तित्वसमेत सङ्कटमा पर्दै गएको छ । शिरीषको फूल जस्तै रङ्गीन हुने चाहना राख्नु स्वाभाविक हुन सक्छ तर नीरकमलको नक्कल गरेर रङ परिवर्तन गर्दा आफ्नो स्वाभिमान र अस्तित्व के हो भन्ने भुल्नु हुँदैन । यो ज्ञान विश्वविद्यालयबाट लुप्त हुँदै गएको छ । आँधीले उचाल्ने र पछार्ने दुवै गर्छ । नीलकाँडा जस्तै सदावहार हरियो बन्न सकिन्छ तर प्रत्येक वर्ष फुल्ने उसको रीत होइन भन्ने ज्ञान हामीले भुल्दै गएका छौँ ।   

Author

बोधराज पौडेल