• २२ वैशाख २०८१, शनिबार

राजनीतिको सही मार्गचित्र

blog

राजनीति राज्यसत्ता र शक्तिसँग सम्बन्धित विषय भएको हुनाले अन्ततः सत्ता र शक्ति प्राप्तिका लागि गरिने एउटा प्रयासको रूपमा चिन्न, बुझ्न र बुझाउन सकिन्छ । राजनीति आफ्नो वर्ग समुदायसँग सम्बन्धित रहेर गरिने कार्य हो र यसमा सत्ता र सामथ्र्यको अभ्यास हुन्छ । राजनीति वरपर हुन्छ, राजनीति तलमाथि हुन्छ, समग्रमा राजनीति नहुने ठाउँ हुँदैन । व्यक्तिको शरीरदेखि राजनीति सुरु भएर समाज, देश हुँदै विश्वमा नै राजनीति हुन्छ । राजनीति अंशदेखि वंशसम्म, व्यक्तिदेखि देश र संसार सर्वत्र हुन्छ । यद्यपि राजनीतिको भाष्य खराब भएको छ । खराब राजनीति होइन र हुन सक्दैन । खराब कुरालाई राजनीति भनिने भाष्य एकदमै त्रुटिपूर्ण छ ।

सरकार चलाउनु पनि राजनीति हो भने सवारी साधन चलाउनु पनि राजनीति हो, जसले जे राम्रो गर्छ त्यो राजनीति हो । खराब कर्म दुष्कर्म हो । त्यो सामान्य मान्छेदेखि प्रधानमन्त्री राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, व्यापारी, उद्योगपति, पत्रकार, लेखक, साहित्यकार जसले गरे पनि अराजनीति हो । अराजनीतिलाई राजनीतिको बिल्ला भिराएर हामीले गलत गरिरहेका छौँ । गृहणीदेखि मन्त्राणीसम्म हलो जोत्नेदेखि कपाल काट्नेसम्म जसले राम्रो काम गरिरहेका छन् त्यो राजनीति हो । सुकर्म जति छन् जे छन्, त्यो राजनीति हो । राजनीतिमा सुस्पष्टता हुन्छ, अराजनीतिमा भुलभुलैया र भ्रम हुन्छ । अराजनीतिमा भ्रमको खेती गरिन्छ, भ्रमको ब्याड बनाइन्छ, भ्रमको टनेल बनाई भ्रमको बीज रोपिन्छ, भ्रमको मल पानी हालिन्छ । भ्रमको गोडमेल गरिन्छ । अराजनीति अकर्मण्यता हो, अराजकता हो र अनिष्ठा हो तर राजनीतिमा जनताको आशा, विश्वास, भरोसा र विवेकको सत्य बोलिन्छ । राजनीतिले परिणामको ख्याल गर्दैन, निष्ठाको मार्ग मात्र हिँड्न मन पराउँछ । 

राजनीतिलाई अचानकको प्राप्तिमा भन्दा क्रमबद्ध सिलसिलेवार प्राप्तिमा सन्तोष र गन्तव्य पुग्ने खुसी हुन्छ । राजनीति आँधी, हुरी, घाम, पानी, असिना र बर्सातमा डगमगाउन सक्दैन । असहजतासँग पौँठेजोरी खेल्न आएको राजनीति सामान्य तगारोसँग गुनासो गरेर बस्दैन । राजनीतिलाई थाहा छ, नयाँ हुनुको अर्थमा उसले पेल्ने थुप्रै पापड हुन्छन् । राजनीतिमा झुट, व्याभिचार, अनाचार, दुराचार र पापाचारका लागि स्थान हुँदैन । राजनीति निष्ठा र समायिक सत्यको धरातलमा उभिएको हुन्छ । अराजनीति पलपल चुक्दै र झुक्दै आएको हुन्छ । राजनीति सत्यका लागि जस्तोसुकै बलिदान गर्न तयार हुन्छ तर अराजनीति सत्य छोप्न जहिल्यै झुक्न र चुक्न तयार बन्छ । राजनीतिको रेखा सरल र सहृदयी हुन्छ । अराजनीतिको मार्ग कठोर हुन्छ । राजनीति एउटा यात्रा अनुशासन र अनवरत अभ्यास हो । राजनीति एउटा पार्टीले खेल्ने चुनावी खेल र झेल मात्र होइन, एउटा व्यक्तिले गर्ने जीवन सङ्घर्षको आरोह अवरोह पनि हो । 

राजनीति समाजको नैतिक र सामाजिक मूल्य पनि हो । त्यसैले राजनीतिको तुलोमा नापतौल भइरहन्छ । राजनीति न्यायपूर्ण हुन्छ र राजनीतिको रङ सपाट हुन्छ तर अराजनीतिको रङ हुँदैन । अराजनीति पानी रङको हुन्छ । यो जतासुकै मिल्न सक्छ । राजनीति भेष बदल्दैन तर अराजनीति भेष बदलेर छद्मभेषी भएर हिँड्छ । राजनीतिको चरित्र स्थिर हुन्छ । अराजनीतिको प्रकृति अस्थिर र अराजक देखिन्छ । राजनीतिले लामो समयको मार्गदर्शन गर्छ । अराजनीतिले अन्योल बनाएर राख्छ । राजनीतिको गन्तव्य र मार्गचित्र सुस्पष्ट हुन्छ । अनि अराजनीति अदृश्य र गन्तव्यहीन हुन्छ । 

व्यापारमा पनि न्यूनतम नाफाको नैतिक पक्ष हुन्छ । स्वास्थ्य शिक्षाको व्यापार अनैतिकता र अराजनीतिको पराकाष्ठा हो । चर्को स्वास्थ्य उपचार र अत्यासलाग्दो शैक्षिक शुल्कले राज्य निर्मम बनेर आमसर्वसाधारणमाथि अराजनीति गरेर राजनीति गरेको कुरा गर्छ । राजनीति नियमको कुरा गर्छ र नियमनको कुरामा विश्वास गर्छ तर अराजनीति स्वच्छन्दता र छाडापनलाई स्वतन्त्रताको लेपन लगाएर स्वतन्त्रताको वकालत गर्छ र मर्यादा भुल्छ । स्वतन्त्रता र मर्यादा एकै पाटाका दुई सिक्का भएको भुल्छ ।

नेपालमा राजनीति भनेर अराजनीति गरिँदै आएको छ । राजनीति गर्ने मान्छे कमै छन् तर राजनीतिको नाममा अराजनीतिको पसल खोल्ने र खोटो सामान बेच्ने धेरै छन् । राजनीति कुन हो र अराजनीति कुन हो छुट्याउन असजिलो भएको छ । किनभने राजनीति गर्नेहरू बिरलै छन् । राजनीति गर्नेहरूमा निष्ठा, धैर्य, सहनशीलता दूरदर्शिता, पारदर्शिता र उत्तरदायित्व बोध हुन्छ । राजनीति गर्नेहरू चिल्ला कुरा गर्न जान्दैनन् र सक्दैनन् । राजनीतिको धर्म चिल्ला कुरा गरेर वास्तविकताको ढाकछोप गर्नु हुँदै होइन । राजनीति गर्नेहरू सत्य बोल्छन्, सत्य कटु हुन्छ । राजनीति गर्नेहरू कटु सत्य बोलेर हेमलक नामक विष पिउन मन्जुर गर्छन्, जसरी दार्शनिक सुकरातले ग्रिसमा इपू ३९९ मा गरे । राजनीतिमा चुनावी जोड घटाउको त्यति धेरै महत्व हुन्न । राजनीतिले जसरी नि चुनाव जित्नु पर्छ भन्दैन बरू सम्मानजनक र पारदर्शी कामसहितको हारलाई स्वाभाविक मान्छ । अनैतिक गतिविधि, मनि, मसल्स र षडयन्त्र गरेर हात पर्ने जित र शक्तिलाई राजनीतिले अस्वीकार गर्छ । 

राजनीतिले नैतिक तागत र बलसहित एक्लै उभिएको व्यक्तिलाई पनि हजारौँ र लाखौँको भिडभन्दा बढी शक्तिशाली र दूरगामी ठान्छ । आज शक्ति र सत्तामा कहिल्यै नपुगेका व्यक्तिहरू पनि राजनीतिका मानक छन् । महात्मा गान्धी सामान्य मान्छेले पनि सुनेका छन् । उनी राजकीय सत्ताको भ¥याङ कहिल्यै नचढे पनि मूल्य र राजनीतिको सत्तामा आज पनि केन्द्रमा राखिन्छन् । उनले जुन मूल्यको नैतिकताको राजनीति गरे, अहिंसाको राजनीति गरे, त्यो बन्दनीय छ सिद्धार्थ गौतम बुद्धले पनि २६०० वर्षअघि ज्ञानको सत्ता निर्माण गरेर आजपर्यन्त शासन गरिरहेका छन् र यो कालान्तरसम्म चल्ने छ ।

सत्यसँग धक मान्नेहरू अराजनीतिमार्फत राजनीतिलाई गिज्याइरहेका हुन्छन् । तसर्थ सुनसान पथमा राजनीति गर्नेहरू हिँडिरहेका हुन्छन् । झिल्के र कस्मेटिक युगमा स्वाभाविक यात्रा र विषय बिक्ने बजारको माल हुँदैन । बरु समयसँग चल्न नजान्ने र समयको पदचाप पछ्याउन नसक्नेको पगरीले सत्यका साधक राजनीतिकर्मी र न्यायका पुजारीलाई चिनाइन्छ । नेपालमा सन्दुक रुइत, गोविन्द केसी, महावीर पुन, अनुराधा कोइराला, मदनकृष्ण, हरिवंश आदि थुप्रै व्यक्तित्वले आफ्नो ठाउँ र पेसाबाट समाजका लागि जे गरेका छन्, जुन सैद्धान्तिक र व्यक्तिगत निष्ठासँग देशलाई जोडेका छन्, आफू समर्पित छन्, त्यो राजनीति हो । उल्लिखित नामसँग राज्यको ठुलो कुनै पदको दर्जा छैन । केवल प्रतिनिधि नामहरू हुन्, कति नाम सार्वजनिक नै नभएका हुन सक्छन् ।

समाजका सबै सकारात्मक मानक र मानदण्डहरू राजनीति हुन् । राजनीति कुनै पार्टी विशेषमा लाग्नु, चुनाव जित्नु, जनप्रतिनिधि बन्नु, शक्ति र सामथ्र्यमा पुग्नु मात्र होइन, असल कर्ममा निरन्तर लाग्नु राजनीति हो । गलत नीतिलाई हामी राजनीति भन्ने भुल गरिरहेका छौँ । साम, दाम, दण्ड, भेद, मारमुङ्ग्री गरेर चुनाव जित्नु, सांसद हुनु, मन्त्री हुनु राजनीति किमार्थ होइन । त्यो अराजनीतिको पराकाष्ठा हो । त्यो केवल राजनीतिको आडमा गरिएको र गरिने गुण्डागर्दी मात्रै हो ।

आकर्षण र रुचिका पात्र तिनै हुन्छन्, जसले धन जोडेको छ, पद जोडेको छ, भिड जम्मा गरेको छ । न्याय निरूपण पनि भिडको आधारमा हुन्छ । विवेकलाई भिडले नियन्त्रणमा लिन्छ र नियोजन गर्छ । भिड बटुल्ने र भिडद्वारा आफ्नो स्वार्थ सिद्ध गर्नेहरू महान् लाग्छन् । सत्य न्याय र निष्ठाको मार्गमा हिँड्नेहरू बेकार लाग्छन् । तुच्छ लाग्छन् । किनभने हामी प्रचार र लोकरिझ्याइँका भोका छौँ । राजनीति भनेको राज्यको नीति र व्यवस्थालाई ठिक ढङ्गले परिचालन गर्ने नीति हो । उचित नीति, उचित व्यवहार, उचित संस्कृति र समुचित व्यवस्थापना समग्रमा व्यक्तिदेखि संस्था हुँदै देशसम्म गरिने विधि र व्यवहार राजनीति हो ।

राजनीतिले जनतालाई आफ्नो सर्वोच्च शक्ति, स्रोत र सामथ्र्य ठान्छ । राजनीतिमा व्यक्ति स्वार्थभन्दा समूह स्वार्थ, संस्था स्वार्थ र देशको बृहत्तर हितको स्वार्थ सबैभन्दा माथि राखिन्छ । राजनीति सकारात्मक आचरण, सही संस्कार र उचित व्यवहार हो । राजनीति सुव्यवस्थित जीवनशैली हो, चाहे त्यो एक व्यक्ति होस् या देशको होस् । राजनीतिमा घृणा वर्जित हुन्छ प्रेम, स्नेह, सद्भाव, सामथ्र्य, विनयशीलता र उत्कृष्टताको प्रतिस्पर्धा राजनीतिमा अपेक्षित हुन्छ ।

अतः राजनीति जहाँ जसले र जहिले पनि गर्न सकिन्छ । राजनीति गर्न राज्यको उच्च ओहोदामा पुग्न पर्छ भन्ने केही छैन । राज्यको उच्च ओहोदा र निर्णय गर्ने र गरिएको निर्णय कार्यान्वयन गर्ने तहमा पुगेकाले राजनीति गरुन् अराजनीति नगरुन् । अराजनीतिमार्फत पाइने प्राप्ति दीर्घकालीन र सर्वकालिक नहुन सक्छ । राजनीति समष्टि र व्यष्टि दुवैमा हुन्छ । राजनीति जसले जसरी बुझे पनि राजनीतिको सिद्धान्त र मार्ग सुकर्मद्वारा निर्देशित बन्नु पर्छ । सकारात्मकता मात्रै राजनीति हो भन्ने भाष्य निर्मित हुनु पर्छ । 

   

Author

सञ्जीव कार्की