• ३ असार २०८२, मङ्गलबार

पहिरोको जोखिममा मुसिकोट दरबार

blog

मुसिकोट दरबार पहिरोको जोखिममा परेपछि पहिरो नियन्त्रणको काम हुँदै ।

टोपलाल अर्याल

गुल्मी, असार ३ गते । ऐतिहासिक मुसिकोट दरबार पहिरोको जोखिममा परेको छ । सडक विस्तारसँगै दरबार पछाडिको भाग खस्दै गएको हाे । 

मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रममार्फत् एक करोड २५ लाख रुपियाँको लागतमा पहिरो नियन्त्रणको काम भइरहेको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेलले बताउनुभयो । 

खरेलले मुसिकोटको पहिचान मुसिकोट दरबार पछिल्लो समय पहिरोको जोखिममा परेपछि मुसिकोट नगरपालिका र स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका १२ योजना मध्ये सबैभन्दा धेरै बजेट विनियोजन गरेर पहिरो नियन्त्रणको काम भइरहेको बताउनुभयो । यो कामले पहिरोबाट दरबार क्षेत्रलाई जोगाउन ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको खरेलले बताउनुभयो । मुसिकोट नगरपालिका र स्थानीय पुर्वाधार सहयोग कार्यक्रम मार्फत नगरभित्र तिन करोड बढिका योजनामा काम भइरहेको छ । 

स्वाँरादेखि सालिमे जोड्ने तीन किलोमिटर पदमार्ग निर्माण, कुकुवाखोला थापाटोला चितपानी सिँचाइ, सानीचौर–भर्मचौर–वालुवा सिँचाइ योजना, भुवाचिदीमा कुकुवाखोला तटबन्ध र डाँडाथोक सिँचाइ योजना निर्माणको सम्झौता भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिनुभयो । 

त्यस्तै निस्तीखोला ठुला पहिरो क्षेत्र र दरमखोला बसेरी क्षेत्र तटबन्ध, तल्लाफाँट रिङ्गरोडसँगै नाली तथा सिँचाइ कुलाहरू निर्माण र आगलागी जोखिम रहेको तिलेहार ठुलपोखरी वनक्षेत्रमा विपद् जोखिम न्यूनीकरणका लागि अग्निरेखा निर्माणको काम हुने गिरीले बताउनुभयो । विपद्को बाहेक सबै काम कार्यान्वयनमा गएको नगरपालिकाले जनाएको छ ।