• १४ जेठ २०८१, सोमबार

माथिल्लो अरुण र दुधकोशी अघि बढाउनेबारे छलफल

blog

काठमाडौँ, चैत ३० गते । सरकार र दुई ठुला जलविद्युत् आयोजना माथिल्लो अरुण र दुधकोशीका प्रस्तावित लगानीकर्ता विश्व बैङ्क र एसियाली विकास बैङ्कबिच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । 

अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा बिहीबार भएको छलफलमा दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

बैठकमा अर्थमन्त्री पुनले माथिल्लो अरुण र दुधकोशी जस्ता ठुला आयोजनाको निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताउनुभयो । उहाँले आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै त्यसका लागि सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री पुनले दुई ठुला आयोजनाको निर्माणपछि नेपालको अरू ठुला आयोजना निर्माणका लागि क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । ऊर्जामन्त्री बस्नेतले २९ हजार मेगावाट क्षमताको सम्भाव्यता अध्ययन सकिएको भन्दै पाइपलाइनमा रहेका आयोजनामा लगानी गर्नेबारे धारणा बनाउन विश्व बैङ्क र एसियाली विकास बैङ्कलाई आग्रह गर्नुभयो ।

सङखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुणमा विश्व बैङ्कले लगानी गर्ने चासो देखाइरहेको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दुधकोशी नदीस्थित रभुवाघाटबाट निर्माण हुने ६३५ मेगावाटको जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजनाको एसियाली विकास बैङ्क नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋणमा वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ । अर्थ मन्त्रालयका सचिव (राजस्व) डा. रामप्रसाद घिमिरे, ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने निर्देशक फारिस हजाद जर्भास तथा एसियाली विकास बैङ्कका नेपाल निर्देशक अर्नाउड काउचियोससमेत सहभागी रहेको छलफलमा आयोजना स्थलमा जारी निर्माणपूर्वका तयारी कार्यबारे अवगत गराइएको थियो ।

आयोजना प्रवर्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी माथिल्लो अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेडले आगामी सन् २०२६ को सुरुबाटै आयोजना निर्माण थालिने बताएको छ । आयोजना निर्माणका लागि अनुमानित पाँच वर्षको समयसीमा तोकिएको छ । माथिल्लो अरुणको पूर्वतयारीस्वरूप दुई किलोमिटर सुरुङमार्ग र २१ किलोमिटर पहुँचमार्ग निर्माणको काम अघि बढेको छ । जग्गा प्राप्ति र मुआब्जा वितरण करिब सकिएको छ ।