• १३ मंसिर २०८१, बिहिबार

प्रदूषित वायुमा सुधार

blog

काठमाडौँ, चैत ३० गते । काठमाडौँ, ललितपुर, भक्तपुरसहित उपत्यका आसपासका जिल्लामा हावाहुरी, चट्याङसहित पानी परेको छ । वायु प्रदूषणका कारण एक सातायता भएको वातावरणीय प्रभावलाई केही राहत मिल्ने गरी बिहीबार वर्षा भएको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारदेखि तीन दिनसम्म देशका विभिन्न भागमा हल्का वर्षा हुने छ । यससँगै प्रदूषणयुक्त वायुमा सुधार आएको छ । महाशाखाले चिसो हावासँगै पश्चिमी तथा स्थानीय वायुको प्रभावले पहाडी भेगका भूभागमा शनिबारसम्म वर्षा हुने अनुमान गरेको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा बिहीबार हल्का वर्षा भएको छ । काठमाडौँमा पनि साँझ केही स्थानमा मेघ गर्जनसहितको वर्षा भएको छ ।

उहाँले बिहीबारको तुलनामा शुक्रबार अझ धेरै स्थानमा वर्षा हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रिमनसुनको समयमा स्थानीय बादल बन्ने र छोटो समयका लागि वर्षा हुने गर्छ, त्यस्तै प्रणालीका कारण वर्षा भएको हो ।” तर वायु प्रतिशत एकै पटक बढारेर लैजाने गरी वर्षा हुने मौसमी प्रणाली आएको छैन । देशका विभिन्न निकुञ्ज तथा वन क्षेत्रमा डढेलो लाग्दा वातावरण धुवाँ र तुवाँलोमय बनेको छ । वर्षा सुरु भएपछि डढेलो नियन्त्रण गर्न केही राहत पुगेको छ । गत साताको तुलनामा आउँदो साताको मौसम प्रदूषणमुक्त हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । वातावरण विभागका अनुसार अहिले पनि देशका प्रमुख सहरको अवस्था अस्वस्थकर छ । 

हल्का वर्षासहित राम्रो हावा चलेपछि मात्र काठमाडौँ उपत्यकाको प्रदूषित वायुबाहिर निस्कने सम्भावना रहने विभागले जनाएको छ । अन्य सहरको तुलनामा काठमाडौँ उपत्यकाको वायु बढी प्रदूषित छ । 

२४ घण्टायता काठमाडौँ उपत्यकाको वायु देशका अन्य भागको भन्दा बढी प्रदूषित छ । रत्नपार्क, शङ्खमूल, कीर्तिपुर, भक्तपुर, खुमलटार, भैँसेपाटी क्षेत्रको वायु बढी प्रदूषित पाइएको वायु प्रदूषणमापन केन्द्रले देखाइरहेका छन् । काठमाडौँबाहेक तराईका केही जिल्लाको वायु प्रदूषणउन्मुख छ । अस्वस्थकर मौसममा श्वासप्रश्वासमा समस्या भएकाले बाहिर हिँडडुल नगर्न विभागले सुझाव दिएको छ । 

उपत्यकामा वायु प्रदूषण बढ्दा मङ्गलबार र बुधबार काठमाडौँ प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा थियो । ‘एयर क्वालिटी इन्डेक्स’ ले सोमबार १६५, मङ्गलबार २००, बुधबार २६५ र बिहीबार १७७ एक्युआई देखिएको छ ।