फडिन्द्र अधिकारी
लेखनाथ, चैत २९ गते । गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधीवक्ता कृष्णप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार आयोजित समारोहमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईबाट उहाँले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
शपथलगत्तै अधिकारीले पदबहाली गर्नुभएको छ । प्रदेश सरकारको मंगलबार भएको मन्त्रिपरिषद बैठकले अधिकारीलाई मुख्य न्यायाधीवक्ता नियुक्त गर्ने निर्णय गरेको थियो। अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम बिहीबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
कानुनमा स्नातक गर्नुभएका उहाँ लमजुङमै कानुन व्यवसायमा संलग्न हुुनुहुन्थ्यो । लमजुङ जिल्ला बारमा तीन कार्यकाल अध्यक्ष भइसक्नुभएका अधिकारी चैत तेस्रो साता भएको एमाले जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित हुनुभएको थियो ।
चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका खगराज अधिकारी नेतृत्वको सरकारविरुद्ध २९ गते नै सर्वाेच्चमा रिट परेको छ । रिटको प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सरकारलाई दीर्घकालीन निर्णय नगर्न बुधबार आदेश गरेको छ ।