• १२ साउन २०८१, शनिबार

डढेलोले राजमार्गमा तुवाँलो, चालक र यात्रीलाई समस्या

blog

वन डढेलोले पूर्व–पश्चिम राजमार्गमा देखिएको तुँवालो। तस्बिर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, चैत २९ गते। डढेलोबाट निस्किएको धुँवाले वातावरणमा परेको असरको कारण पूर्व-पश्चिम राजमार्गको रौतहट खण्ड तुवाँलोले ढाकेको जस्तो देखिन्छ। 

डिभिजन वन कार्यालय रौतहटका सूचना अधिकृत विमल ठाकुरका अनुसार डढेलोबाट निस्कने धुवाँको मुस्लोमा कार्बनडाईअक्साईड, कार्बनमोनोअक्साईड, मिथेन र अन्य प्राङ्गारिक ग्यासहरू हुनेहुँदा वातावरण तुवाँलोले ढोकेको जस्तो देखिएको हो। 

नेपालको सन्दर्भमा वन डढेलो मुख्यतया प्राकृतिक कारण र मानवीय कारणबाट लाग्ने गरेको तथ्य भेटिन्छ। विभिन्न अध्ययन तथा सन्दर्भ सामाग्री अनुसार उक्त कारणमध्ये एक प्रतिशतभन्दा पनि कम प्राकृतिक कारणले डढेलो लाग्नसक्छ भने ९९ प्रतिशतभन्दा बढी मानवीय क्रियाकलापले लाग्नसक्छ।   

वन डढेलोले सबै जैविक वस्तु (वनस्पति तथा वन्यजन्तु) र अजैविक वस्तु (माटो, ढुङ्गा तथा वातावरण) लाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा असर पुर्‍याइरहेको हुन्छ। मुख्यतया: डढेलोले वन जङ्गलका काठ, दाउरा, घाँस सखाप पार्छ।  स–साना बिरुवा डढेर मर्ने, वनको पुनरुत्पादन तथा जैविक विविधतामा ह्रास पुर्‍याउने गर्छ। डढेलोले वायुमण्डलीय प्रदूषण, वर्षाको अनियमितता, जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीमा असर पार्छ जसको कारण वातावरण प्रभावित हुन्छ।

डढेलोबाट सामाजिक तथा आर्थिक असर जस्तै माटोको उर्वराशक्ति ह्रास आउनु, विकास निर्माण कार्यमा असर पर्नु, वन नजिक रहेका बस्तीमा क्षति हुनु, बहुमूल्य वनस्पति एवं वन्यजन्तुको नाश हुने गर्दछ। 


वन डढेलोबाट आर्थिक, सामाजिक र जैविक विविधतामा मात्र क्षति पुग्ने नभई त्यसबाट निस्कने धुवाँको मुस्लोमा कार्बनडाईअक्साईड, कार्बनमोनोअक्साईड, मिथेन र अन्य प्राङ्गारिक ग्याँसले वायुमण्डल दूषित हुनगइ मानिसमा आँखा तथा श्वासप्रश्वास सम्बन्धी रोग लाग्न सक्ने सम्भावना अधिक हुन्छ। 

डढेलोको धुवाँले राजमार्गमा तुवाँलो लागेको जस्तो वातावरण हुँदा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा अन्य कुनै पनि सवारी चलाउन समस्या भएको सवारी चालक नै बताउँछन्। तुवाँलोको कारण दुरदृष्टि कमजोर हुँदा दुर्घटना हुनसक्ने सम्भावना अधिक रहेको वीरगन्ज– गौर चल्ने एक बसका चालक शैलेश गिरीले बताउनुभयो। 

जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यले वनमा लागेको डढेलोको कारण निस्किएको धुवाँले एकातिर चालक र यात्रुको आँखा पोल्ने, दम बढ्ने समस्या देखिएको छ भने अर्कोतिर बाटो धमिलो देखिनाले दुर्घटना समेत हुन सक्ने समस्या देखिएको छ। 

डढेलो नियन्त्रण तथा व्यवस्थापनको लागि वन तथा वातावरण मन्त्रालय, वन तथा भू-संरक्षण विभाग र डिभिजन वन कार्यालयबाट बर्सेनि विभिन्न कार्यक्रम सञ्चालन गरिएता पनि त्यसबाट खासै ठुलो उपलब्धि भने देखिएको छैन। 

जिल्ला सामुदायिक वन महासङ्घका अध्यक्ष बेदहरी दाहालले भन्नुभयो, “वन डढेलो व्यवस्थापनमा देखिएको मुख्य चुनौती भनेको आगो निभाउने आधुनिक उपकरण र औजार नहुनु, दक्ष जनशक्तिको कमी हुनु, ऐन नियममा डढेलो सम्बन्धी छुट्टै व्यवस्था नहुनु र डढेलो नियन्त्रणमा राज्यको लगानी कमी हुनु हो।”