• ११ मंसिर २०८१, मङ्गलबार

नागरिकको चरित्र मापक

blog

विद्यार्थीले विदेश अध्ययन गर्न जाँदा होस् वा विदेशमा श्रम गर्न जाँदा होस् वा देशभित्रै पनि विभिन्न सङ्घ संस्था खोल्दा वा उद्योगधन्दा चलाउँदा वा सरकारी पदमा नियुक्ति हुँदा वा अन्य विभिन्न प्रयोजनमा नागरिकको चरित्र (चालचलन) सम्बन्धित सुरक्षा निकाय (प्रहरी) सँग बुझ्ने प्रचलन छ । त्यही भएर नेपाल सरकारले अपराधसम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित गर्न तथा सो अभिलेखको आधारमा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण गर्दै आएको छ । यसलाई व्यवस्थित, सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० जारी भएको छ । 

प्रहरी चारित्रिक प्रमाणपत्र लिन चाहने व्यक्तिले चौबिसै घण्टा अनलाइन प्रणालीबाट आवेदन दिन सक्छ । आवेदन साथ नेपाली नागरिकको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान प्रति तथा नाबालकको हकमा नाबालक परिचयपत्रको स्क्यान प्रति, वैदेशिक प्रयोजनका लागि भएमा राहदानीको स्क्यानको प्रति, पासपोर्ट साइजको रङ्गीन फोटो आवश्यक पर्छ । विदेशमा रहेका नेपाली नागरिकको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको स्क्यान प्रति र नाबालकको हकमा नाबालक परिचयपत्रको स्क्यान प्रति, राहदानीको स्क्यानको प्रति, अन्तिम पटक नेपाल छोड्दा नेपालको अध्यागमन कार्यालयबाट प्रस्थान छाप लगाएको पानाको स्क्यान प्रति, पासपोर्ट साइजको रङ्गीन फोटो आवश्यक पर्छ । विदेशी नागरिकको हकमा राहदानीको स्क्यानको प्रति, नेपालको अध्यागमन कार्यालयबाट आगमन छाप लगाएको पानाको स्क्यान प्रति, नेपालको अध्यागमन कार्यालयबाट प्रस्थान छाप लगाएको पानाको स्क्यान प्रति (आवेदक नेपाल बाहिर भएको अवस्थामा), पासपोर्ट साइजको रङ्गीन फोटो आवश्यक पर्छ । शरणार्थीको हकमा शरणार्थी यात्रा अनुमति पत्रको स्क्यान प्रति, नेपालको अध्यागमन कार्यालयबाट आगमन छाप लगाएको पानाको स्क्यान प्रति, नेपालको अध्यागमन कार्यालयबाट प्रस्थान छाप लगाएको पानाको स्क्यान प्रति (आवेदक नेपालबाहिर गएको अवस्थामा), शरणार्थी शिविरबाट बसोबास खुल्ने पत्रको स्क्यान प्रति, पासपोर्ट साइजको रङ्गीन फोटो आवश्यक पर्छ । 

राष्ट्रिय अभिलेखको आधारमा प्रहरीले चारित्रिक प्रमाणपत्र वितरण गर्ने हुँदा प्रहरीले राष्ट्रिय अभिलेख चुस्त र दुरुस्त राख्नुपर्ने हुन्छ । त्यसैले प्रहरीले नेपाल प्रहरी वा प्रदेश प्रहरीका अपराध अनुसन्धान गर्ने कार्यालय वा एकाइ तथा अन्य निकायबाट अनुसन्धान भई फौजदारी मुद्दामा अभियोजन गरिएका व्यक्तिको विवरण, अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिको विवरण, फौजदारी मुद्दामा अदालत वा कुनै अर्धन्यायिक निकायबाट सजाय पाएको व्यक्तिको विवरण फौजदारी मुद्दामा अदालत वा कुनै अर्धन्यायिका निकायबाट सफाइ पाएको व्यक्तिको विवरण अद्यावधिक बनाएर राख्नु पर्छ । 

साथै नेपाल प्रहरीले अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, फौजदारी मुद्दामा अनुसन्धान तथा अभियोजन गर्ने अन्य निकायका फौजदारी मुद्दासम्बन्धी विवरण सङ्कलन गर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्ने हुन्छ । 

प्रहरी चारित्रिक प्रमाणपत्र वितरण गर्ने जिम्मेवारी प्रहरी प्रधान कार्यालयको हो । उसले त्यो काम हाल चालचलन शाखाबाट गर्दै आएको छ । आवेदक दर्ता भएको पाँच कार्यदिन भित्र प्रमाण पत्र उपलब्ध गराउनु पर्ने कुरा निर्देशिकाले निर्दिष्ट गरेको छ । चारित्रिक प्रमाणपत्र कसुर उल्लेख गरेर र कसुर उल्लेख नगरेर दुई किसिमबाट वितरण हुन्छ । 

कुनै फौजदारी मुद्दामा अभियोग लागी अदालत वा अर्धन्यायिक निकायबाट सजाय तोकिएकोमा त्यस्तो सजाय भुक्तान नगरी कुनै पनि माध्यमबाट चारित्रिक प्रमाणपत्र उपलब्ध नहुने व्यवस्था छ । प्रहरी चारित्रिक प्रमाणपत्रको अधिकारिता सम्बन्धमा यकिन गर्नुपर्ने भएमा नेपाल प्रहरीको आधिकारिक वेबसाइटबाट त्यस्तो प्रहरी चारित्रिक प्रमाणपत्रमा रहेको चलानी नम्बर र नाम उल्लेख गरी जाँच गर्न सकिन्छ । 

प्रहरीले वितरण गरेको चारित्रिक प्रमाणपत्रको विवरण परिवर्तन गरी झुटा विवरण पेस गरेमा सो कसुर गर्ने व्यक्तिलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम सात वर्षसम्म कैद र सत्तरी हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत अपराध अनुसन्धान विभागको मातहतमा चालचलन शाखा रहेको छ । चारित्रिक प्रमाणपत्र वितरण गर्दा कार्यालयले विद्युतीय प्रणाली भरपर्दो नहुनु, प्रविधियुक्त पूर्वाधारको कमी, सिपयुक्त जनशक्तिको कमी, नागरिकमा चेतनाको कमी, पर्याप्त सूचना र प्रविधिको ज्ञान नहुनु आदि समस्या रहेको औँल्याउन सकिन्छ । 

सेवा दिने कार्यालयमा सेवाग्राहीको सजिलै पहुँच रहेको छ तर मुद्दा चलेको वा नाम मिल्न गएको व्यक्तिले भने प्रहरी कार्यालयबाट मेलको जवाफ प्राप्त भएको दुईदेखि तीन दिनमा सम्बन्धित व्यक्तिको ‘युजर एकान्ट’ मा चारित्रिक प्रमाणपत्र प्राप्त हुन्छ । कसैकसैलाई भने यो अवस्थामा १२/१५ दिनसम्म लाग्न सक्छ । प्रहरी चारित्रिक प्रमाणपत्र भेरिफाई गर्दा कसैको नाम जुधेको वा मुद्दा चलेको देखिएमा त्यसलाई फेरि छुट्टै हेरिन्छ । 

नेपाल सरकारले अपराधसम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० जारी गरेर प्रहरी चारित्रिक प्रमाणपत्र वितरण गर्ने व्यवस्थालाई व्यवस्थित, सरल, सहज र प्रभावकारी बनाउन देखाएको अग्रसरता सराहनीय छ तर सरकारले निर्देशिका जारी गरेर मात्र हुँदैन यसमा समय समयमा गृह मन्त्रालयले निरीक्षण अनुगमन गर्न भने जरुरी छ । 

राष्ट्रिय अभिलेखको गोपनीयता र सुरक्षाको व्यवस्था प्रहरी प्रधान कार्यालयले मिलाउनु पर्ने जिम्मेवारी निर्देशिकाले तोकेकोले प्रहरी प्रधान कार्यालय यसमा संवेदनशील हुन जरुरी छ । बरु प्रहरी कार्यलयलाई यससम्बन्धी व्यवस्थापनमा बजेटको अभाव छ भने नेपाल सरकारको ध्यान यस्तो संवेदनशील विषयमा तुरुन्तै जानु पर्छ । साथै सुरक्षा निकायले पनि नागरिकको चरित्रमा कसैले पनि खेलबाड गर्न नसक्ने व्यवस्थामा भने चनाखो हुनु पर्छ । नागरिकले पनि सम्भव भएसम्म हाम्रो चरित्र उच्च राख्न प्रयत्नशील हुनु पर्छ । परिबन्दमा कसुर लाग्ने भवितव्य एउटा कुरा हुन सक्छ तर गल्ती नगरे सजाय भोग्नु पर्दैन भन्ने मानसिकताको विकास हुनु पर्छ । हाम्रो चलनचल्तीको उखानै छ ‘जसले कालो खान्छ उसले मात्र कालो हग्छ’ । हामी कति अनुशासित छौँ ? हाम्रो समाज कति अनुशासित छ ? भन्ने कुरा हाम्रो चालचलनले देखाउँछ । वास्तवमा चरित्र मानव जीवनको ऐना हो । त्यसैले हामी सबैले सम्भव भएसम्म हाम्रो चरित्र उच्च राखौँ । अरूलाई एक औँला देखाउँदा अरू चार वटा औँला आफैँतिर फर्किरहेको हुन्छ भन्ने कुरा पनि मनन गरौँ । नागरिकमा उच्च चरित्र भयो भने राष्ट्रको इज्जत पनि बढ्छ । विश्वमा सम्मानित देशवासीका नाममा पूजनीय हुन सक्छौँ । प्रहरीको चालचलन शाखाले पनि हामी कसैको पनि खराब चरित्र भनी प्रमाणित गर्ने दिन नआवस् ।

Author

शङ्करप्रसाद भेटवाल