• ११ मंसिर २०८१, मङ्गलबार

परीक्षा प्रणालीको विश्वसनीयता

blog

परीक्षाले कुनै पनि व्यक्तिको ज्ञान, बुझाइ, कौशल, दक्षता, सिप आदिको मूल्याङ्कनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मानिसले जीवनका प्रत्येक पल विभिन्न प्रकारका परीक्षा सामना गरिरहेको हुन्छ । अनौपचारिक होस् या औपचारिक मुख्य गरी परीक्षा व्यावहारिक अनि वैज्ञानिक हुन जरुरी छ । जुनसुकै तहको परीक्षा व्यवस्थित अनि मर्यादित हुन जरुरी छ । परीक्षाले विद्यार्थीको क्षमताको मापन गर्नुका साथै कुन क्षेत्रमा सुधार आवश्यक छ भन्ने पहिचान गर्न सघाउँछ । तसर्थ परीक्षाले विद्यार्थीको चौतर्फी शैक्षिक विकासका लागि अहम् भूमिका खेल्छ ।

विद्यार्थीको शैक्षिक यात्रामा परीक्षा एउटा अभिन्न अङ्ग हो । यसले उनीहरूको ज्ञान र चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वासको जग खडा गर्छ । नियमित परीक्षा दिने विद्यार्थीलाई हरेक समस्या सामना गर्न योग्य बनाउँछ । अनुशासित, सिर्जनशील र लगनशील बनाउँछ । कमजोरीको आत्मबोध गरी सत्मार्गमा लाग्न प्रेरणा प्रदान गर्छ । स्वस्थ प्रतिस्पर्धाको भावना जगाउँछ । हारलाई पनि स्वीकार गर्ने र जितका लागि अगाडि बढ्ने हौसला प्रदान गर्छ । अझ सरल भाषामा भन्नु पर्दा आत्ममूल्याङ्कनका लागि मद्दत गर्नुका साथै आफ्नो शैक्षिक दक्षतामा कमीकमजोरी अथवा उच्च क्षमताको अवस्थाबारे बोध गराउँछ । यसले आत्मसमीक्षा मात्र नभएर सक्षम व्यावसायिक जीवनको आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण भूमिका प्रदान गर्छ ।

परीक्षाले विद्यार्थीहरूलाई शिक्षकहरूबाट पर्याप्त पृष्ठपोषणको अवसर प्रदान गर्छ । सिकाइ अनि शिक्षण दुवैको रणनीति निर्माण गर्न सघाउँछ । सङ्क्षेपमा परीक्षाले विद्यार्थीको समस्या समाधान गर्छ । समयको व्यवस्थापन, समस्या समाधान, योजना अनि व्यवस्थित लचकताको मार्गप्रशस्त गर्छ ।

व्यवस्थित अनि वैज्ञानिक परीक्षा प्रणालीले शिक्षकहरूलाई शिक्षण विधिमा प्रभावकारिता ल्याउन सहयोग गर्छ । विद्यार्थीहरूको नतिजालाई अवलोकन गरी शिक्षकहरूले आफ्ना विद्यार्थीको सबल र दुर्बल पक्ष पत्ता लगाउनुका साथै आगामी दिनमा सम्पूर्ण विद्यार्थीको शैक्षिक उन्नयनका लागि योजना तर्जुमा गर्ने अवसर प्रदान गर्छ । तसर्थ परीक्षाले केवल विद्यार्थी मात्र नभई शिक्षकलाई उत्तम शिक्षकमा परिणत गराई प्रभावकारी सिकाइको वातावरण निर्माण गर्न अहम् भूमिका खेल्छ ।

परीक्षा प्रणालीको अवस्था 

विद्यमान परीक्षा प्रणाली सन्तोषजनक छैन । यथाशीघ्र यसलाई परिवर्तन गर्ने कदम चालिएन भने हाम्रा सन्ततिमाथि ठुलो घात हुने छ । अहिले हामीले देखेको अनि भोगेको परीक्षा प्रणाली अत्यन्त कहालीलाग्दो छ । विकसित देशमा अत्यन्तै व्यवस्थित र मर्यादित परीक्षा सञ्चालन भएको पाइन्छ । फलस्वरूप विद्यार्थीहरू जहिल्यै उच्चतम नतिजा हासिल गर्न सफल हुन्छन् । परीक्षा मर्यादित अनि व्यवस्थित भयो भने मात्र दक्ष अनि सबल नागरिक उत्पादन गर्न सकिन्छ । विगत डेढ दशकयताको परीक्षा प्रणालीमा धेरै त्रुटि भएको यथार्थ हामीमाझ लुकेको छैन । पहिले पहिले भारतको बिहार अमर्यादित परीक्षाका लागि बदनाम थियो । हाल हाम्रो देशमा सोही शैली अवलम्बन भएको अवस्था छ । केही निजी विद्यालको अस्वस्थ प्रतिस्पर्धा र चलखेलका कारण परीक्षा अमर्यादित हुँदै गएको यथार्थ कसैबाट लुकेको छैन । समाजमा राम्रो नतिजा देखाई आफ्नो विद्यालय अब्बल साबित गर्ने होडको सिकार कलिला बालबालिका भएका छन् । शिक्षालाई कमाइ खाने भाँडो बनाउने यस्ता गतिविधिमा लगाम लगाइएन भने हाम्रा बालबालिकाले प्राप्त गरेको शैक्षिक प्रमाण पत्र विश्व बजारमा नबिक्ने र उनीहरूको भविष्य अन्धकार हुने निश्चित छ । 

माध्यमिक तहको परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको जिम्मेवारी हो । यही बोर्डले कक्षा १०, ११ अनि १२ का परीक्षाहरू सञ्चालन गर्दै आइरहेको छ तर केही वर्षयता कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले लिने गरी जिम्मेवारी दिइएको छ । धेरैजसो आफूलाई ठुला विद्यालय, कलेज भन्नेहरूको नतिजा गहन रूपमा छानबिन हुन जरुरी छ । 

निजी क्षेत्रका विद्यालय तथा कलेजले शिक्षाको गुणस्तर उकास्न पक्कै पनि सकारात्मक भूमिका निर्वाह गरेकै छन् । यद्यपि शिक्षाको नाममा व्यापार गर्ने सञ्चालकका कारण इमानदार कर्मठ संस्था पनि मुछिने गरेको पाइन्छ । शतप्रतिशत नतिजा प्राप्त गर्न पठनपाठनमा जोड दिनुभन्दा परीक्षालाई आफू अनुकूल बनाउन विभिन्न चलखेल गर्ने होडबाजी छ भने अब रोकिनै पर्छ । तर सङ्घीय राजधानीका केही उच्च माविको नतिजा मूल्याङ्कन गर्ने हो भने सामान्य व्यक्तिले पनि चलखेल नभएको होला भन्नै सक्दैन । 

वर्तमान परीक्षा प्रणालीको संरचना नै त्रुटिपूर्ण छ । पदाधिकारी चयनमा दक्ष र अनुभवी जनशक्तिभन्दा राजनीतिक प्रभाव बढी छ । परीक्षा सञ्चालन गर्ने टोली पूर्ण रूपमा सक्षम, विज्ञ अनि इमानदार हुनु पर्छ । यसो भएमा विद्यार्थीको सही मूल्याङ्कन हुन्छ । परीक्षा मर्यादित रूपमा सञ्चालन हुने हो भने केही वर्षको परिणाम हालको भन्दा धेरै नै न्यून हुन जान्छ । परीक्षामा विद्यार्थी आफैँमा निर्भर हुने अवस्था निर्माण हुने हो भने केही समय परिणाम न्यून भए पनि विद्यार्थीमा मेहनत गर्नु पर्छ भन्ने भावनाको विकास हुन्छ । जब विद्यार्थी आफैँ परीक्षामा लेख्ने हुन्छ, तब मात्र ऊ सक्षम नागरिक बन्छ । शतप्रतिशत नतिजाको लोभमा मर्यादित शिक्षण गर्ने संस्थाहरूलाई पनि अमर्यादित हुने बाध्यता सिर्जना भइरहेको छ । 

परीक्षामा उत्कृष्ट परिणाम हासिल गर्ने नाउँमा यस्ता कार्य भइरहेको टुलुटुलु हेर्न समाज बाध्य छ । परीक्षा अनुकूल बनाउन परीक्षा केन्द्र निर्धारणदेखि उत्तरपुस्तिका परीक्षणसम्म चलखेल हुने गरेको पनि सुन्न पाइन्छ । यसरी मेहनत गर्नुभन्दा कुन विद्यालयले परीक्षामा सहजीकरण गर्दछ, अनि मेहनत नगरीकन नै राम्रो अङ्क प्राप्त गर्न सकिन्छ भन्ने विद्यार्थीमा परेको छ । इमानदार विद्यार्थी ज्ञानका भोका हुन्छन् । कठोर परिश्रमबाट ज्ञान हासिल गर्न चाहन्छन् तर यस्ता विद्यार्थीले मेहनत नगरी उच्च अङ्क प्राप्त गर्ने कमजोर साथीहरूको परिणाम देख्दा उनीहरूमा हीनताको भाव विकास हुने गर्छ ।

कोरोना कालमा राज्यले विद्यालयलाई नै परीक्षा मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको थियो । केही विद्यालय सञ्चालकले आफ्ना विद्यार्थी अब्बल साबित गर्न शतप्रतिशत नम्बर प्रदान गरी उनीहरूले बोक्न नसक्ने भारी बोकाएका थिए । तत्पश्चात् विद्यार्थीमा नियमित अध्ययनभन्दा पनि कुन माध्यमबाट अङ्क हासिल गर्न सकिन्छ भन्ने गलत मानसिकता विकास हुँदै गयो । परीक्षालाई व्यवस्थित अनि मर्यादित बनाउन नेतृत्वले निकै निर्दयी भई कडाभन्दा कडा निर्णय लिन आवश्यक छ । यदि हामी हाम्रा भावी सन्ततिलाई असल मार्गमा हिँडाउन चाहन्छौँ भने तत्काल आवश्यक पहल गर्न ढिला गर्नु हुँदैन । 

परीक्षा अमर्यादित हुँदा पहिलो विद्यार्थीमा नियमित अध्ययन गर्ने बानी रहँदैन । विश्वको प्रतिस्पर्धी बजारमा हाम्रा विद्यार्थी भाइबहिनीलाई मर्यादित अनि वैज्ञानिक परीक्षा प्रणाली सञ्चालनमा ल्याई सक्षम बनाउनु आजको आवश्यकता हो । सरकारी विद्यालय यस्ता अवाञ्छित गतिविधिमा त्यति धेरै संलग्न नभए पनि जान्ने विद्यार्थीको नक्कल गर्न अनि परीक्षामा सामान्य चिट चोर्न अभिप्रेरित भने छन् तर जसरी केही निजी विद्यालय सञ्चालक, जसले परीक्षा केन्द्रदेखि उत्तरपुस्तिका मूल्याङ्कनसम्म प्रभाव पार्ने जस्तो काम सरकारी विद्यालयबाट नहुने यथार्थ चाहिँ छ । केही निजी क्षेत्रका विद्यालयले आफूलाई इमानदारीको कसीमा उतारेका भए पनि उनीहरूसमेत प्रत्यक्ष अप्रत्यक्ष रूपमा दबाबमा नपरेका छैनन् । 

विद्यमान परीक्षाको ढाँचा मूल्याङ्कन गर्ने हो भने यसका अनियमितता अनि अवैज्ञानिक र अव्यावहारिकपनलाई सच्याउन जरुरी छ । बहुवैकल्पिक प्रश्नहरू परीक्षा केन्द्रमा इमेलमार्फत पठाइन्छ । परीक्षा सुरु हुनुअगावै विद्यार्थीको मोबाइलमा यसका उत्तर कतिपय अवस्थामा पुगेको भन्ने सुन्नमा आएको छ । त्यस्तै गरी परीक्षा हलमा विद्यार्थी बस्ने बेन्च छोटा छन्, जसले विद्यार्थीलाई एकआपसमा उत्तर नक्कल गर्न सहज हुन्छ । विद्यार्थी परीक्षा सुरु हुनुपूर्व सकेसम्म ढिला परीक्षा हलभित्र पस्ने गर्छन् । किनकि उनीहरू मोबाइलमा पठाइएको उत्तर हेरेर मात्र आउने गरेको आरोप पनि लाग्ने गरेको छ । कतिपय विद्यालयले त विषय शिक्षक प्रवेश गराई विद्यार्थीलाई सिकाउने गरेको आरोप छ । परीक्षा हलमा जसले जसको सारे पनि निरीक्षक मूकदर्शक बन्ने गरेको पनि पाइन्छ । प्रत्येक विषयको प्रयोगात्मक नम्बर निजी विद्यालयले शतप्रतिशत प्रदान गर्छन् । धेरैभन्दा धेरै विद्यार्थी भर्ना गराउने लालचमा यस्ता अमर्यादित गतिविधि विद्यमान रहेको आकलन गर्न सकिन्छ । हाल भइरहेको परीक्षाका यस्ता त्रुटि यथाशक्य परिवर्तन गर्नु पर्छ । साथसाथै मूल्याङ्कन प्रक्रियामा पनि व्यापक समस्या छ । यसका साथै परीक्षकहरूले विद्यार्थीहरूको उत्तरपुस्तिका गम्भीरतापूर्वक अध्ययन नगरी हचुवाको भरमा नम्बर प्रदान गर्ने परिपाटीको अन्त्य हुन जरुरी छ । अनैतिक चलखेल, परीक्षा केन्द्रहरूमा हुने अनियमितता र उत्तरपुस्तिका परीक्षणमा हुने लापर्बाहीको कडा अनुगमन नहुने हो भने केही वर्षमै नेपाली शिक्षण संस्थाबाट उत्पादित विद्यार्थी विश्व बजारमा नबिक्ने खतरा छ । यसतर्फ सम्बन्धित निकायको ध्यान आकृष्ट हुन ढिला भइसकेको छ । 

परीक्षा प्रणाली कसरी सुधार्ने ? 

विश्व मानचित्रमा कुनै पनि देशको पहिचान भनेको उसको शैक्षिक अवस्था हो । राज्यको शिक्षा नीति उत्तम छ भने उसका नागरिक पनि उच्चकोटिका हुने गर्छन् । तसर्थ शिक्षा नीतिमा आमूल परिवर्तन हुन जरुरी छ । २१ औँ शताब्दीको चुनौती सामना गर्न युग सुहाउँदो, व्यावहारिक अनि व्यावसायिक शिक्षामा जोड दिन आवश्यक छ । राज्यले शिक्षामा प्रशस्त लगानी गरेको भए पनि सही सदुपयोग नभएको तितो यथार्थ छ । राज्यले सकेसम्म एउटै शिक्षा प्रणालीको अवधारणा लागु गर्न जरुरी छ । हालको शिक्षा प्रणालीबाट दुई प्रकारका नागरिक उत्पादन भएको अवस्था छ । शिक्षा अनि स्वास्थ्य राज्यको दायित्व भएकाले यसलाई व्यवस्थित गर्नु पर्छ । परीक्षा प्रणालीमा भएको विद्यमान कमीकमजोरीलाई सुधार गर्नु अहिलेको मुख्य आवश्यकता हो । परीक्षा मर्यादित अनि व्यवस्थित हुनका लागि परीक्षासँग सम्बन्धित् अधिकारी इमानदार हुन जरुरी छ । राज्यले ती अधिकारीको निजी लगानीकर्तासँगको उठबसमा प्रतिबन्ध लगाउनु पर्छ । उनीहरूका बालबालिका राज्यको लगानी भएका विद्यालयमा अध्ययन गराउने अनिवार्य व्यवस्था गर्नु पर्छ । परीक्षा केन्द्र निर्धारणदेखि परीक्षा सञ्चालन अनि मूल्याङ्कनसम्म विशेष निगरानी आवश्यक छ ।

राज्यले बृहत् शैक्षिक बहस गरी यस क्षेत्रका विज्ञको रायसल्लाह लिन जरुरी छ । प्रमुख राजनीतिक दलहरूले एकै ठाउँमा बसी विश्व बजार अनुकूल सक्षम नागरिक तयार गर्न शिक्षामा आमूल परिवर्तन गर्नु पर्छ । अहिलेको कहालीलाग्दो ब्रेन ड्रेनलाई निरुत्साहित गर्ने नीति राज्यले अवलम्बन गर्नु पर्छ । बर्सेनि लाखौँ विद्यार्थी कक्षा १२ उत्तीर्ण हुनासाथ बिदेसिने अवस्थाको अन्त्य हुन जरुरी छ । अर्बौं रुपियाँसँगै होनहार विद्यार्थीले देश छोड्नु भनेको देशको अवस्था बिग्रनु हो । तसर्थ विद्यमान शिक्षा प्रणालीका साथै परीक्षा प्रणालीमा व्यापक सुधार गरौँ ।   

Author

नारायण सिटौला