• १८ वैशाख २०८१, मङ्गलबार

पशुमा बाँझोपनको समस्या विकराल, करोडौँको नोक्सानी बेहोर्दै किसान

blog

काठमाडौँ, चैत २९ गते । घरपालुवा पशुमा हुने बाँझोपनले नेपाली किसानले वार्षिक करोडौँ रुपियाँको घाटा बेहोरिरहेका छन् । महँगो मूल्य तिरेर ल्याएका राम्रो जातका गाई, भैँसी एक पटक ब्याएपछि अर्को पटक नब्याउने समस्याका कारण किसान आर्थिक नोक्सानी बेहोर्न बाध्य भएका हुन् । 

पशुमा हुने बाँझोपनबाट कृषकको लगानी धराशायी हुँदा यसको रोकथामका लागि दीर्घकालीन योजना, क्षतिपूर्तिको व्यवस्था र यसबाट प्रभावितको तथ्याङ्कसमेत सरोकारवाला निकायसँग छैन । 

एक वर्षमै किसानले एउटै पशुबाट हजारौँ रुपियाँको घाटा हुँदा पशुपालनबाट विस्थापनको खतरा बढेको छ । पशुमा देखिने बाँझोपनबाट हुने आर्थिक क्षतिको विवरण कुनै सरकारी र गैरसरकारी निकायमा छैन । न त क्षतिपूर्तिको व्यवस्था नै छ । स्वयम् किसानले नै त्यसको आर्थिक क्षति बेहोरिरहेका छन् । 

पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले गाई वा भैँसीले पटक पटक साँढे/राँगो खोज्ने र पशुमा गर्भ नबस्ने समस्या बढेको जानकारी दिनुभयो । उहाँले बाँझोपना आउने धेरै कारण हुने भएकाले किसानले पशुपालन गर्दा धेरै कुरामा ध्यान पु¥याउनुपर्ने बताउनुभयो । पशुले भाले खोजेको समयमै कृत्रिम गर्भधारण वा प्राकृतिक गर्भधारण गराउँदा कृत्रिममा ६५ र प्राकृतिकमा ८५ प्रतिशतसम्म गर्भ रहने सम्भावना रहन्छ । 

प्राविधिक सापकोटाले पशुमा बाँझोपन हुनुमा वंशाणुगत, वातावरणीय र विभिन्न रोगको सङ्क्रमण, पोषणतत्वको कमी, गोठको व्यवस्थापनमा कमजोरीले हुने गरेको बताउनुभयो । पशु सेवा विभागका अनुसार नेपालमा ७४ लाख गाई र ५१ लाख भैँसीको पालन गरिएको छ । 

पशु चिकित्सक मणिप्रसाद सापकोटाले दुधालु पशुले उचित दाना पानी नपाएमा पशुको शरीरको तौल कम हुने, प्रजनन अङ्ग राम्रोसँग वृद्धि विकास नहुने, प्रजननका लागि आवश्यक हर्मोन पशुको शरीरमा नहुँदा पशुको प्रजनन क्षमतामा ह्रास आउने र पशुमा बाँझोपन देखा पर्ने जानकारी दिनुभयो । 

पशु प्राविधिक राजेश लम्सालले हरेक २१/२५ दिनमा गाई, भैँसीको मासिक चक्र हुने बताउनुभयो । उहाँले पशुले मासिक चक्र बाहिर नदेखाउने हुँदा कुन समयमा साँढे लगाउने भन्न समस्या पर्ने प्रस्ट पार्नुभयो । 

राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डेयले अनुवांशिक गुणले गर्दा धेरै पशुमा बाँझोपनको समस्या देखा पर्ने जानकारी दिनुभयो । उहाँका अनुसार ‘लम्पी स्किन’ जस्ता महामारीका कारण पनि पशुको उत्पादन क्षमता ह्रास ल्याइरहेको छ । उहाँले केही पशुमा कुन समय मासिक चक्रमा छ भनेर पत्ता लगाउन निकै गाह्रो हुने भएकाले पशुधनीले उपयुक्त समयमा साँढे लगाउने वा कृत्रिम गर्भाधान गर्न नसक्दा बाँझोपनको समस्या बढिरहेको जानकारी दिनुभयो । पोथी पशुमा वंशाणुगत र रासायनिक प्रक्रियामा फेरबदल हुँदा कोषको अधिक वृद्धि भएर पाठेघरको आकार ठुलो हुन्छ र पछि क्यान्सर समस्या पनि देखिने गरेको पाइन्छ । पाठेघरमा ट्युमर बनेपछि पोथीले प्रजननका लागि चाहिने अण्डा उत्पादन गर्न सक्दैन र सो पशुमा बाँझोपन देखा पर्छ । 

पशुमा गर्भाधानपछि विभिन्न कारणले भ्रूणको राम्रोसँग विकास हुन नसक्दा पशुले गर्भ तुहाउने समस्या देखिने गरेको छ । पशु प्राविधिक लम्सालले दुधालु पशुबाट मुनाफा पाउन पशुको स्वास्थ्य, आहार, विहार र वातावरणीय प्रभावबारे ख्याल राख्न सुझाव दिनुभयो ।

गाई, भैँसीको उत्पादनशील उमेर तीन–आठ वर्ष हुने भएकाले त्यस समयमा पशुको विशेष ख्याल गर्नु पर्छ । प्रजननसँग सम्बन्धित समस्या भएमा उपचार पनि महँगो हुने र कहिलेकाहीँ उपचारले पनि काम नगर्ने हुँदा पशुलाई बथानबाटै हटाउनुपर्ने हुन्छ । नेपालमा वार्षिक २७ लाख मेट्रिक टन दुध उत्पादन हुने गरेको पशु सेवा विभागले जनाएको छ ।