• १६ वैशाख २०८२, मङ्गलबार

स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न

blog

कोकिला ढकाल

इलाम, चैत २८ गते। इलाम क्षेत्र नं. २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि मङ्गलबार सात जना स्वतन्त्र उम्मेदवारले आफ्नो चुनाव चिह्न पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवारलाई रोज्न लगाएर चुनाव चिह्न प्रदान गरेको हो । 

स्वतन्त्र उम्मेदवार अर्जुन शाहीले डोजर, डकेन्द्रसिंह लिम्बूले मुडा, डाकप्रसाद गौतमले महिला, दीपेश बोहोराले सिरिन्ज, राज बस्यालले जुँगासहितको अनुहार, योगेन्द्र गुरुङले कैँची र मनोज निरौलाले माछा चुनाव चिह्न पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ । चुनावी मैदानमा रहेका अन्य १२ दलको भने निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिह्न  छ । 

स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न दिएपछि अब निर्वाचनका लागि मतपत्र छपाइको काम हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पटकको मतपत्र सानो हुन्छ । अन्य निर्वाचनमा जस्तो मतदातालाई अप्ठ्यारो छैन ।” मुख्य निर्वाचन अधिकृत घिमिरेले भन्नुभयो, “छोटो र सानो मतपत्र, एउटा मतपेटिका हुने हुँदा कतै झुक्किने र अलमलिने अवस्था रहँदैन ।”  

उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन, नेसनल रिपब्लिक नेपाल, जनमत पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी,  नेपाली जनता दल, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी चुनावी मैदानमा छन् । 

एक जनाको उम्मेदवारी फिर्ता

यसैबिच प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी दिने एक जनाको उम्मेदवारी फिर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावलीमा १२ दलका उम्मेदवार र सात जना स्वतन्त्र उम्मेदवारको नाम प्रकाशन गरेको थियो । 

कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न पनि प्रदान गरेको हो । निर्वाचन कार्यतालिकामा चैत २८ देखि वैशाख १२ सम्म चुनाव प्रचार अवधि तोकिएको छ । 

यता दलहरू भने आफ्ना उम्मेदवार घोषणा गरेसँगै चुनावी प्रचारका लागि गाउँ गाउँमा उम्मेदवार लिएर पुगेका छन् । यो निर्वाचनका लागि नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले साझा उम्मेदवारका रूपमा एमालेका सुहाङ नेम्वाङलाई अगाडि सारेका छन् । नेपाली कांग्रेसले डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मिलनकुमार योङहाङ लिम्बू तथा पहिचान पक्षधरतर्फबाट डकेन्द्र सिंह थेगिमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट गणेशबहादुर चौहान उम्मेदवार रहनुभएको छ  ।