हरिप्रसाद कोइराला
उर्लाबारी, चैत २७ गते । मोरङको उर्लाबारी –२ स्थित लामपाते सिमसारको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
सालबारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको सिमसार सो पोखरीमा साथीहरूसँग नुहाउन गएका ११ वर्षीय बालक सूर्य गौतमको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका –१ हनुमानचोकमा हजुरबा हजुरआमासँग बस्दैआएका गौतम ९ जना साथीका साथमा पौडी खेल्न पोखरीमा पुगेका थिए । पथरीबाट ४ किलोमिटर पूर्वउत्तरमा रहेको पोखरीमा पौडी खेल्नेक्रममा उनको मृत्यु भएको दासले बताउनुभयो ।
बालकको शव पोष्टमार्टमका लागि उर्लाबारीको मदन भण्डारी अस्पातल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।
बालक पथरीमा रहेको पञ्चायत माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थी हुन । उनको आज नै वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित भएको थियो ।