राजकुमार भट्टराई
खोटाङ, चैत २७ गते । एकै तीन आगलागीबाट खोटाङमा तीन घर जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलो गाउँ पस्दा सोमबार हलेसी तुवाचुङ नगरपालिकामा एक घर जलेर खरानी भएको छ । विद्युत सर्ट हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावा बेसी गाउँपालिकामा एक/एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित अरअरे सामुदायिक वनबाट सुरु भएको डढेलोले वडा नम्बर ३ च्यास्मीटार दाल्फुका वसन्त राईको घर जलेर खरानी भएको छ । डढेलोले राईको बसोबास नभएको रित्तो घर जलेको हो । आगलागीबाट राईको एक लाख बराबरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
अन्य घरलाई भने छानामा पानी छेपेर जोगाइएको छ । सोही डढेलोले आइतबार साँझ बाहुनीडाँडा मैतुङको नाम्नाखु सिरानका अम्बरहादुर अधिकारीको घर, खर्कटारका अम्बरबहादुर अधिकारीको घर र गोठ तथा दाल्फुका भलाराज राईको तीन वटा गोठ जलेको थियो । अरअरे सामुदायिक वनबाट पिप्ले पुछार, गुदारा पाखा हुँदै फैलिएको डढेलोले टुटुंगे सामुदायिक वन सखाप बनाएको छ । इलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी च्यास्मीटारबाट खटिएको प्रहरीको टोली र स्थानीययले सोमबार राती सो डढेलो नियन्त्रणमा लिएका छन् ।
यस्तै, सोमबार आगलागीबाट रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका चन्द्रबहादुर बिकको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । घर पूर्णरुपमा जलेर नष्टहुँदा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीमा बिकको घर सहित, नगद ४० हजार, सोलार प्यानल, सोलार व्याट्री नष्ट भएको छ ।
यस्तै, विद्युत सर्ट हुँदा दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा ज्यामिरेका प्रेमकुमार राईको घर जलेको छ । सोमबार मिटर बक्समा विद्युत् सर्ट भएपछि आगलागी हुँदा राईको घर र घरभित्र भएका दुई तोला सुन, ६ तोला चाँदी, नगद ३० हजारलगायत जल्दा ६० लाख बराबरको क्षति भएको छ ।