• १९ वैशाख २०८१, बुधबार

काठमाडौँ टुँडिखेलमा घोडेजात्रा उत्सव (फोटो फिचर)

blog

काठकाडौं, चैत २६ गते । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँको टुँडिखेलमा सुरुभएको छ ।  

यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्यमाथिको विजयको रूपमा मनाउने गरेको हो । परापूर्वकालमा टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिका खाइदिने गरेको किंवदन्ती छ । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नका लागि अनेक उपायहरू खोज्न थालेका थिए ।

त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडेजात्रा मनाउने परम्परा सुरु भएको मानिन्छ । सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आज राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ। यो पर्व काठमाडौँ उपत्यकाको प्रचलित प्राचीन जात्रामध्येको एक मानिन्छ । 

सो अवसरमा नेपाली सेनाले युद्धकला प्रदर्शन, अश्वकलाका विविध रोचक कार्यक्रम राइड पास, ब्यानर डिस्प्ले, टाँगन र चार्जर घोडा दौड, सो–जम्प, ड्रिल राइड, क्रस टेण्ट पेगिङ्, सुइरो, स्वर्ड एण्ड वाटर मेलन एक्रोब्याटिस,  म्युजिकल राइड, क्रसकन्ट्री जम्प प्रदर्शन गरेको छ । 

घोडेजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरू, ,नेपाल सरकारका उच्चपदस्थ अधिकृत, संवैधानिक निकायका प्रमुख, सुरक्षा अङ्गका प्रमुख एवम् समाजका विभिन्न क्षेत्रका महानुभाव टुँडिखेल पुग्नुभएको छ ।

तस्विरः केशब गुरुङ 


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।