• १२ मंसिर २०८१, बुधबार

रैथाने बाली प्रवर्धन गर्न मेसिन वितरण

blog

वराहक्षेत्र समाचारदाता

वराहक्षेत्र, चैत २६ गते । जिल्लामा रैथाने बाली हराउँदै गएपछि कृषि ज्ञान केन्द्र सुनसरीले रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा रहेको वराहक्षेत्र नगरपालिका–१, चियाबारीमा रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु गरेको हो । 

कृषि ज्ञान केन्द्र्र सुनसरीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वराहक्षेत्र १ मा रहेको हाम्रो कुलुङ गाउँ कृषक समूहमार्फत रैथाने बाली प्रवर्धन कार्यक्रम थालिएको छ । रैथाने बाली हराउँदै गएपछि बालीको संरक्षणमा सहयोग पु-याउन कृषक समूहलाई अनुदान कार्यक्रम अगाडि सारिएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले बताउनुभयो ।

सूचना अधिकृत श्रेष्ठका अनुसार कृषक समूहमार्फत सञ्चालन हुने गरी कोदो बाली तथा अन्य रैथाने बालीका लागि जमिन तयारी गर्न प्रयोग हुने मिनी टिलर दुई थान, रोग किरा नियन्त्रण गर्न सात थान स्प्रे ट्याङ्की, मल्टी क्रप थ्रेसर एक थान, मिनी कम्बाइन मिल एक थान, प्याकेजिङ प्लास्टिक ब्याग दुई केजी क्षमताको सामग्री ज्ञान केन्द्र सुनसरीको ७५ प्रतिशत र कृषक समूहको २५ प्रतिशत लागत सहभागितामा प्रवर्धन कार्यक्रम सुरु गरिएको छ । 

कृषक समूहले उत्पादन गरेको कोदोबाट पिठो तयार गरी ब्रान्डिङ गरी बिक्रीवितरण सुरु गरिने हाम्रो कुलुङ् गाउँ कृषक समूहका सचिव तपेन्द्र राईले जानकारी दिनुभयो । 

वराहक्षेत्रको वडा नम्बर १ मा कृषकले पाँच बिघाभन्दा बढी क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ । कोदो खेतीका लागि उर्वर भूमि मानिने वडा नम्बर १ को चियाबारी, धापा गाउँ, डाडागाउँ क्षेत्रमा बढी मात्रामा कोदो उत्पादन हुँदै आएको छ । रैथाने बाली प्रवर्धन कार्यक्रम सुरु भएपछि थोरै क्षेत्रफलमा कोदो लगाउँदै आएका किसानले समेत कोदो खेतीको विस्तार गर्न थालेको समूहका अध्यक्ष दीपक राईले बताउनुभयो । उत्पादित कोदो प्रतिकेजी ७० रुपियाँमा बिक्री हुँदै आएको छ । 

जिल्लामै व्यावसायिक रूपमा रैथाने बाली लगाउने कृषक नहुँदा कोशी प्रदेश अन्तर्गतको बजेटमा रैथाने बाली संरक्षण कार्यक्रम राखेर बालीको प्रवर्धनामा कृषि ज्ञान केन्द्र सुनसरी लागेको छ । झुपडीदेखि नाम चलेका होटलसम्म रैथाने बालीको परिकार खाने पारखी बढ्दै गए पनि उन्नत जातको बिउबिजनसँगै रैथाने बाली लोप हुँदै गएका छन् । 

रोग, किरा, सुक्खा, खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता रैथाने बालीमा हुने भएकाले यो बालीलाई प्रवर्धन गर्नुपर्ने विज्ञहरू बताउँछन् । सुनसरीमा पछिल्लो समय रैथाने बाली कोदो, फापर, छिर्केमिर्के सिमी, मिठे र तितेफापर, लोकल मकै, जौ, लट्टे जस्ता बालीको संरक्षण गर्न थालिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रले उत्पादन गर्न कृषकलाई यसै आर्थिक वर्षदेखि अनुदानका कार्यव्रmम सुरु गरिएको सूचना अधिकृत श्रेष्ठले जानकारी दिनु भयो । 

वराहक्षेत्र नगर कृषि शाखाका कृषि प्रविधिक नीरबहादुर राईले जिल्लामै कम उत्पादन हुने बालीमा रैथाने बाली रहेको छ । रैथाने बालीको परिकारको माग बढी हुने भए पनि उत्पादन नहुँदा माग अनुसारको आपूर्ति बजारमा हुन सकिरहेको छैन । ज्ञान केन्द्र सुनसरीले जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र धरान उपमहानगरको विष्णु पादुका, पानबारी, पत्रुनवारी, बाजगरा क्षेत्रमा हुने रैथाने बालीको संरक्षण गर्ने बताइएको छ ।