• २३ वैशाख २०८१, आइतबार

पुस्तक

हिमाल आरोहणको अनुभूति

blog

गत २०७२ साल वैशाख २९ गते भूकम्प जाँदा भाग्ने क्रममा झ्यालबाट हाम्फालेर पर्यटन व्यवसायी ल्हाक्पा सोनाम शेर्पा घाइते हुनुभयो । सोनाम नामले परिचित उहाँ ढाडमा चोट लागेर भएपछि करिब चार महिना त ओछ्यानमै पर्नुभएको थियो । विभिन्न उपचार गर्दा पनि ठिक नभएपछि अन्योलमा रहनुभएका उहाँलाई एक जना फ्रान्सेली हिमाल आरोहीले गजबको सल्लाह दिनुभएको रहेछ । हिमाल चढ्दा लडेर ढाड भाँचिई सख्त घाइते हुनुभएका फ्रान्सका पर्वतारोही जोन लुकले हिमाल चढेमा चोट निको हुने सल्लाह दिएपछि उहाँले हिमाल आरोहणका लागि तयारी गर्नुभयो ।

यसै क्रममा उहाँ अफ्रिका महादेशको सबैभन्दा अग्लो हिमाल किलिमन्जरो आरोहणका लागि जानुभएको थियो । हिमाल चढ्दा ढाड दुखेर रुनु न हाँस्नु भएर पाइला चाल्नुभएका सोनामले आठ दिनको बाटोमा दुई पटक त नेपाल फर्कने निर्णय गर्नुभएको थियो । सकी नसकी आठौँ दिन सन् २०१६ को जनवरी ११ तारिखका दिन उहाँ पाँच हजार ८९५ मिटर अग्लो किलिमन्जरो हिमाल चढ्न सफल हुनुभयो । विगतमा हिमाल आरोहणको अनुभव भए तापनि उहाँ २७ वर्षपछि बिनाप्रशिक्षण उक्त हिमालमा जानुभएको थियो । हिमालबाट फर्केर होटलमा पुग्दा त सोनामलाई ढाड निको भइसकेको थियो । किलिमन्जरोले आफ्नो ढाड निको पारेको कुरा उहाँले हालै सार्वजनिक गरेको ‘हिम्बु’ नामक आत्मसंस्मरण पुस्तकमा उल्लेख गर्नुभएको छ । हिम्बु शब्द नेपाली भाषामा हिउँ तथा शेर्पा भाषामा बु अर्थात् छोरा मिलेर बनेको छ । हिम्बु अर्थात् हिउँ अथवा हिमालको छोराको रूपमा पुस्तकमा प्रकाशित गरिएको छ । 

शेर्पा पर्यटन क्षेत्रमा क्रियाशील हुनुभएको ५० वर्ष भइसकेको छ । उमेर १३ वर्ष हुँदा पदयात्रीमा गएका विदेशीहरूलाई खानेकुरा पु¥याउने काम ‘मेसब्वाई’ बाट पर्यटन क्षेत्रमा प्रवेश गर्नुभएका शेर्पा आज ट्रेकिङ कम्पनी हुँदै नेपालका विभिन्न जिल्लामा होटल तथा यति एयरलाइन्स, तारा एयर एवं हिमालय एयरलाइन्सका सञ्चालक भइसक्नुभएको छ । उहाँले आफू ट्रेकिङ कम्पनी सञ्चालक भइसकेपछि विगत ३५ वर्षको अवधिमा धेरै विदेशीलाई हिमाल चढाएको कुरा पुस्तकमा उल्लेख गर्नुभएको छ । सगरमाथा र अन्य हिमालका साथै चीनको तिब्बत, भारत, पाकिस्तानलगायतका हिमालमा उहाँले आरोहीहरूलाई चढाउने कार्य गर्नुभयो ।

शेर्पाले सन् १९८७ मा थामसेर्कु हिमालको आरोहण गरी हिमाल आरोहणको सुरुवात गर्नुभएको थियो । त्यसपछि धौलागिरि, अन्नपूर्ण प्रथमलगायतका हिमाल चढ्नुभएको थियो । सन् १९९३ मा राष्ट्रिय विभूति स्वर्गीय पासाङ ल्हामु शेर्पाको सगरमाथा आरोहण अभियानमा दोस्रो शिविरसम्म पुग्नु भई घरायसी कारणले फर्कनुभएका उहाँलाई ६० वर्षको उमेर कटेपछि पुनः हिमाल आरोहण गर्ने साइत जुरेको थियो । 

किलिमन्जरो हिमाल चढेपछि उहाँले २०१६ मै अन्य दुई हिमालको पनि आरोहण गर्नुभएको थियो । उहाँ सन् २०१६ को अगस्ट २५ तारिखका दिन युरोपको अग्लो हिमाल माउन्ट एल्ब्रुस (पाँच हजार ६४२ मिटर) आरोहण गर्नुभएको थियो । यसै गरी नोभेम्बर १६ तारिखका दिन दक्षिण पूर्वी एसियाको अग्लो पहाड कास्टन पारामिट (चार हजार ८४०) आरोहण गर्न उहाँ सफल हुनुभएको थियो । शेर्पाले उक्त हिमाल चढ्न जाँदा आफूले सामना गरेको डरलाग्दो अवस्थाको रोचक ढङ्गले पुस्तकमा उल्लेख गर्नुभएको छ । आरोहण गर्न जान घना जङ्गलबाट हिँड्नु परेको, सामान बोक्ने भरियाहरूमा महिलाले पातबाट बनेको धोती बेरेका तथा पुरुषहरू भने नाङ्गै रहेको, उनीहरू सबैले हातमा बन्दुक, वाण र धनुष बोकेको पुस्तकमा लेखिएको छ । सुन खानी भएकोले उक्त हिमाल आरोहणका लागि झन्झटिलो भएको उहाँको अनुभव रहेको छ तर यति समस्या भोग्दाभोग्दै पनि उक्त हिमाल आरोहण गर्ने उहाँ पहिलो नेपाली बन्न सफल हुनुभयो । शेर्पाले चढेपछि त्यो हिमाल आरोहण गर्न बन्द गरिएको थियो । हालसम्म त्यहाँ आरोहण खुला गरिएको छैन । 

उत्तर अमेरिकाको माउन्ट डेनालीमा पनि लेखकलाई बेग्लै खालको अनुभूति भएको थियो । उहाँले सन् २०१७ को जुलाई ४ तारिखका दिन छ हजार १९० मिटर अग्लो उक्त हिमालको सफल आरोहण गर्नुभएको थियो । डेनालीमा पनि जङ्गलै जङ्गल छ । त्यहाँका मानिस छ महिना बस्ने तथा छ महिना अन्तै जाने गरेका छन् । हिमालमा रात नपर्ने तथा छ महिना दिन तथा छ महिना रात हुने गरेको छ । राति सुत्दा आँखामा पट्टी लगाई सुत्नु पर्छ । लेखक शेर्पाले डेनाली हिमाल चढ्न निकै गाह्रो भएको तथा सगरमाथा आरोहण गर्नेले समेत सो हिमाल चढ्न नसक्ने उल्लेख गर्नुभएको छ । कठिन भूभाग र बढी अग्लो नै यसको कारण भएको उहाँको अनुभव छ । यसै गरी सगरमाथामा सबै सामान शेर्पाले बोकेर आरोहीहरूलाई सघाउने गरेका छन् तर डेनाली हिमालमा जानेहरूले आफ्नो सामान आफैँ बोक्नु पर्छ । 

लेखक शेर्पाले सन् २०१७ को डिसेम्बर १४ तारिखमा अन्टार्कटिकामा रहेको हिमालको पनि सफल आरोहण गर्नुभएको थियो । सो हिमालको उचाइ चार हजार ८९७ मिटर रहेको छ । उक्त क्षेत्रमा समय एकैनास नहुने तथा १२ महिना नै उज्यालो हुँदोरहेछ । रात कहिल्यै नपर्ने हुनाले घडी हेर्दै रात परेको र दिन सुरु भएको छुट्याउनु परेको अनुभव लेखक शेर्पाले पुस्तकमा व्यक्त गर्नुभएको छ । सन् २०२२ को जनवरी २४ मा लेखक शेर्पाले दक्षिण अमेरिकाको प्रसिद्ध हिमाल अङ्ककगोवा हिमाल चढ्नुभएको थियो । सो हिमाल छ हजार ९६१ मिटर अग्लो रहेको छ । सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने क्रममा अन्तिम हिमालको रूपमा लेखक शेर्पाले सन् २०२३ को मे १६ तारिखका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । 

सगरमाथामा ३० वर्षअघि जानुभएका उहाँले यस पटक आधार शिविरको वातावरण नै फरक पाउनु भएपछि सगरमाथा आधार शिविर हाल रहेको स्थानबाट अर्को स्थानमा सार्नु पर्ने देखिएको कुरा बताउनुभएको थियो । सन् २०२३ को वसन्त ऋतुमा करिब तीन हजार मानिस सगरमाथा आधार शिविरमा जम्मा भएका थिए । जसमा ४७५ जना विभिन्न मुलुकबाट आएका आरोही भएको पर्यटन विभागले उल्लेख गरेको थियो । त्यति धेरै मानिसले खुला ठाउँमा गरेको मलमूत्रबाट स्थानीय वातावरणमा कति असर पर्छ, त्यसबारे सम्बन्धित निकायले ध्यान दिनु जरुरी भएको उहाँको धारणा थियो । 

यसै गरी सगरमाथा आधार शिविरमा करिब १५ सय पाल राख्ने क्रममा हिउँ केही मिटर काटेर समथर बनाइएको थियो । यसरी हरेक वर्ष हिउँलाई काट्दै गएमा आगामी १० वर्षमा हिमनदीलाई कस्तो असर पर्ला यसबारे पनि ध्यान दिन उहाँले सुझाव दिनुभएको छ । खुम्बु आइसफलको जोखिमपूर्ण मार्गमा शेर्पाहरू करिब ३० किलो भारी बोकेर रातभरि हिँड्नु पर्ने चुनौती भएकोले क्याम्प–२ सम्म हेलिकोप्टरबाट सामान लगिदिने व्यवस्था भए जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । सगरमाथामा माथि जाने र तल ओर्लने दुई वटा रोप टाँगिए सगरमाथामा ट्राफिक जामको समस्या त्यत्तिकै हल हुने सुझाव उहाँले दिनुभयो । 

सगरमाथाको चुचुरोमा पुगेपछि तीन पटक ढोगेको तथा आँसु बगेको जस्ता प्रसङ्ग पुस्तकमा उल्लेख गरिएको छ । लेखकले शिखरमा ३४ मिनेट बिताउँदा हिउँ पनि खाएको तर मुखै तितो भएको जनाउँदै वातावरण प्रदूषणले हिउँ तितो भएको अनुमान गरेका छन् । सगरमाथा आरोहणको क्रममा आठ हजार मिटरको उचाइमा मौसम बिग्रन गई बाध्यताले गर्दा तीन रात सुत्नु परेको तथा त्यसलाई ठुलो गल्ती गरेको उहाँले महसुस गर्नुभएको छ । लेखक शेर्पाले पुस्तकको बिक्रीबाट सङ्कलित रकम नेपालका विभिन्न दुर्गम क्षेत्रमा सामाजिक सेवा सञ्चालन गर्न खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।