• १० मंसिर २०८१, सोमबार

बाह्र वर्षे महाकुम्भ मेला

blog

सुनसरीका धार्मिक तीर्थस्थलमा सन्त तथा भक्तजनको चहलपहल सुरु भएको छ । नेपालको एक मात्र स्थानमा लाग्ने महाकुम्भका लागि सन्त महात्मादेखि तीनै तहका सरकारको सहभागितामा स्थानीय राजनीतिक दल, सङ्घ संस्थालगायत स्थानीयवासी मेलाको तयारीमा जुटेका छन् । 

धर्तीकै पहिलो तीर्थका रूपमा परिचित वराह क्षेत्रको काखमा आयोजना हुने बाह्र वर्षे पूर्ण महाकुम्भ मेला सँघारमा रहेको छ । एक महिनासम्म लाग्ने पूर्ण महाकुम्भ मेला यही चैत २७ गतदेखि २०८१ वैशाख २८ सम्म लाग्दै छ । नेपालमा एक र भारतका चार गरी जम्मा पाँच स्थानमा लाग्ने गरेको कुम्भ मेला नेपालमा सुनसरीको वराह क्षेत्रस्थित चतरामा लाग्दै आएको छ । विश्वको सबैभन्दा ठुलो धार्मिक मेलाका रूपमा सनातन हिन्दु धर्मावलम्बीले लिने गरेको कुम्भ मेलामा लाखाैँ मानिसको जमघट हुने छ । 

प्राचीन हरिद्वारका नामले समेत चिनिने चतराधाममा २०५९ सालदेखि कुम्भको आयोजना हुँदै आएको छ । चतरामा प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र बाह्र वर्षमा पूर्ण कुम्भ मेला लाग्ने गरेको छ । बाह्र वर्षको अन्तरालमा लाग्ने पूर्ण महाकुम्भ आगामी २०८० चैतदेखि २०८१ वैशाखसम्म तेस्रो पूर्ण महाकुम्भ मेला सञ्चालन हुँदै छ । यसअघि दोस्रो महाकुम्भ नेपाल सरकारको संयोजनमा २०७०/७१ मा सम्पन्न भएको थियो । महाकुम्भलाई सफल बनाउन नेपाल सरकारले प्रधानमन्त्री कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेललाई सम्पर्क व्यक्ति तोकेको छ । जगत्गुरु बालसन्त मोहनसरण देवचरणको अध्यक्षता र वराह क्षेत्रका नगरप्रमुख रमेश कार्कीको सहअध्यक्षतामा विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । गठित समितिले कुम्भको प्रचारदेखि व्यवस्थापनसम्मको काम गर्दै आएका छन् । कुम्भ नगरी चतरालाई सौन्दर्यकारी र कुम्भमा पाल्ने भक्तजनका लागि भोजन, शौचालय, खानेपानी, सुरक्षा, ट्राफिक व्यवस्थापन, प्राथमिक उपचारलगायतका काम अन्तिम चरणमा पुगेको छ । महाकुम्भलाई सफल बनाउन आआफ्नो क्षेत्रबाट नागरिकसमेत लागेका छन् । महिना दिनसम्म लाग्ने महाकुम्भमा मेचीदेखि महाकालीसम्मका नेपाली आउने गरेका छन् । छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेशलगायत विश्वभर छरिएर रहेका सनातनी धर्मावलम्बी मेलाकै लागि आउने गरेका छन् । कुम्भ मेला आन्तरिक तथा बाह्य धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बनेको छ । मेलाले नेपाललाई एउटा धार्मिक, पौराणिक र ऐतिहासिक धरोहरका रूपमा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाएको छ । पूर्वीय सभ्यता र संस्कृतिको धरोहरका रूपमा रहेको कौशिकी तटको किनारमा लाग्ने कुम्भ मेलामा नेपाल र भारतका शङ्कराचार्य, धर्माचार्य, जगत्गुरु, सन्तमहन्त, पीठाधीश, मठाधीश, विद्वान्, विदुषिलगायत सर्वोच्च स्थानमा रहेका व्यक्तित्वहरूका साथै धार्मिक पर्यटकको बाक्लो उपस्थिति रहन्छ । कुनै समय कुम्भ भन्नेबित्तिकै भारतको हरिद्वार, प्रयाग, उज्जैन र नासिकामा लाग्ने बाह्र वर्षे मेला भन्ने बुझिन्थ्यो । कुम्भ स्नानकै लागि लाखौँ नेपाली भारतमा लाग्ने कुम्भ मेलामा जाने गरेका थिए । नेपाल आफैँ धार्मिक भूमि भए पनि यसको व्याख्या र खोज अनुसन्धान नहुँदा ओझेलमा पर्दै आएको थियो । कुम्भ आयोजना हुनुअघि पौराणिक, धार्मिक भूमि चतरा मसानघाटका रूपमा परिचित थियो । 

जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले चतराधामको धार्मिक व्याख्या र खोज अनुसन्धान गरेपश्चात् नेपालमा कुम्भ आयोजना हुन थालेको हो । नेपालमा पनि कुम्भ लगाउन सकिने धार्मिक प्रमाणहरू जुटाई उहाँकै अगुवाइ र पहलमा २०५९ सालमा कुम्भ मेला पहिलो पटक आयोजना गरिएको थियो । त्यसयता धार्मिक भूमि चतरालाई कुम्भनगरी भनेर चिनिन थालियो ।  विश्वका हिन्दुहरूको आस्थाको धरोहर कुम्भ नेपालको चतरामा लगाउनुको ऐतिहासिक र शास्त्रीय मान्यता रहेको छ । जगत्गुरु बालसन्त भन्नुहुन्छ, “समुद्र मन्थनपश्चात् उत्पन्न भएको घडामा रहेको अमृत भारतको हरिद्वार, प्रयाग, उज्जैन र नासिकमा खस्न पुग्यो । जहाँ जहाँ अमृत खस्यो, त्यहीँ कुम्भको आयोजना हुन थालेको हो । त्यही घडामा लागेको तरलाई भगवान् विष्णुले समेटी पिण्ड बनाएर चैत महिनाको शुक्लपक्षको प्रतिपदाको दिन वर्तमानको विजयपुरमा राखिएकाले अमृत पुण्य पिण्डेश्वर भन्न थालियो ।” अमृतको सार (तर) नै राखिएको भूमिको धार्मिक व्याख्या र खोजी नहुँदा नेपाली भारतमा लाग्ने कुम्भ मेलाहरूमा कुम्भस्नानका लागि जाने गरेका थिए । भारतमा अमृतको थोपा झर्दा कुम्भ लाग्ने नेपालमा अमृतको सार पिण्ड राख्दा कुम्भ किन लाग्न सक्दैन भनी जगत्गुरु बालसन्तले शास्त्रार्थ गरेर भारतका शङ्कराचार्य, जगत्गुरु, धर्मचार्य एवं विशिष्ट सन्त, महन्तसमेतको सहभागितामा बहस र छलफलपछि नेपालमा कुम्भको आयोजना हुँदै आएको छ ।

नेपालमा लाग्ने कुम्भ विश्वकै कुम्भका रूपमा स्थापित भइसकेको छ । हिन्दु धर्ममा कुम्भ मेलालाई ठुलो पर्वका रूपमा लिइन्छ । जगत्गुरु बालसन्त कुम्भको महिमा अपार रहेको बताउँदै ज्ञान, वैराग्य र भक्तिको महापर्वका रूपमा व्याख्या गर्नुहुन्छ । कुम्भमा शाहीस्नान, प्रार्थना, साधना, भजन, कीर्तन, साधना, नृत्य, झाँकी, हात्तीघोडा, शुभकार्य, नागासन्तको उपस्थिति, यज्ञ, मन्त्रले लाखौँ भक्तलाई आकर्षित गरिरहेको हुन्छ । 

कुम्भको मुख्य आकर्षक शाही स्नान रहेको छ । कुम्भ स्नान गर्नकै लागि भक्तजन आउने गरेका छन् । अमृतको सार पिण्ड अक्ष तृतीयासम्म राखिएकाले कुम्भमा नुहाए अक्ष प्राप्ति हुने मान्यता रहेको छ । वराह क्षेत्रको कोकाह र कौशिकीको सङ्गम स्थलमा शाही स्नानको आयोजना गरिन्छ । यस पूर्ण महाकुम्भको महास्नान चैत २७ गते शुक्ल प्रतिपदाको दिन प्रारम्भ भई २०८१ वैशाख १ गते शुक्लपञ्चमी, ११ गते शुक्ल पूर्णिमा, २६ गते मातातीर्थ औँसी र समापन महास्नान, २८ गते अक्षय तृतीयासम्म हुने छ । शाही स्नानमा सन्त–महासन्तदेखि अन्तर्राष्ट्रिय ख्यतिप्राप्त व्यक्ति, लाखौँ भक्तजनको साथमा बाजागाजासहित शाही स्नान गरिने छ ।

पूर्ण महाकुम्भकै अवसरमा रामनन्दाचार्य सेवापीठ चतराद्वारा सङ्कटमोचन हनुमान महायज्ञको समेत आयोजन हुँदै छ । चैत २७ गतेदेखि वैशाख ११ गतेसम्म सङ्कटमोचन महायज्ञ सञ्चालन हुने छ । चैत २७ गतेदेखि वैशाख ४ गतेसम्म रामकथा प्रवचन हुने बताइएको छ । वैशाख ५ गते भारतको बागेश्वर धामका पीठाधीश धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) को उपस्थितिमा श्रीरामनवमी महोत्सवका अवसरमा श्रीराम मन्दिरको कुम्भनगरी चतरामा शिलान्यास हुने छ । यसका साथै सङ्कटमोचन महायज्ञमा दिव्य सन्त दर्शन तथा सम्मेलन महायोग, ध्यान साधना, वराह क्षेत्र धामको ऐतिहासिक विवेचना हुने छ । वैशाख ५ गतेदेखि ९ गतेसम्म बागेश्वर सरकारबाट सङ्कटमोचन श्रीहनुमतकथा प्रवचन हुने छ । आध्यात्मिक गुरुका रूपमा चर्चित धीरेन्द्रकृष्ण शास्त्री कुम्भमा हनुमत कथा प्रवचनका लागि आउने भएपछि थप भक्तजनको उपस्थिति हुने जनाइएको छ ।

धार्मिक पर्यटनका रूपमा कुम्भ

धार्मिक मान्यता अनुसार कुम्भ मेलामा सहभागी भई कुम्भ स्नान गर्दा मोक्ष प्राप्ति हुने विश्वासका साथ भक्तजन आउने गरेका छन् । यस पटकको कुम्भमा आन्तरिक र बाह्य गरी ५० लाखभन्दा बढी भक्तजनको आगमन हुने जनाइएको छ । कुम्भमा आउने धार्मिक पर्यटक पवित्र मन र पुण्यको भावनाका साथ सङ्कट, पापमोचन, दान, गोप्यदान, पितृउद्धारलगायतका धार्मिक कार्यमा सहभागिता जनाउँछन् ।

मेलामा आएका भक्तजनले विभिन्न धार्मिक कार्यमा सहभागिता जनाएर धार्मिक लाभसमेत लिने गरेका छन् । कुम्भ आजोजना हुन थालेसँगै हिमवत् खण्डको कौशिकी किनारमा रहेको प्रसिद्ध प्राचीन हरिद्वार क्षेत्र वराहक्षेत्र चतरा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित हुँदै आएको छ । कुम्भमेला धार्मिक मात्र नभई मुलुकका लागि आर्थिक फलदायी बन्न सक्ने जगत्गुरु बालसन्त बताउनुहुन्छ ।

देश तथा विदेशबाट कुम्भ मेलाका लागि आउने भक्तजन पूर्वी नेपालमा रहेका धार्मिक मठमन्दिरमा समेत दर्शनका लागि जाने गरेका छन् । पूर्वी नेपालका वराह क्षेत्र, चतरा, विष्णु पादुका, रामधुनी, हलेसी, अर्जुनधारा, पाथीभारा, दन्तकाली, पिण्डेश्वरी, माईपोखरी, हलेसी, जनकपुर, मुक्तिनाथ, कङ्काली, छिन्ताङदेवी, दुधकुण्ड, पशुपतिनाथ, बुढासुब्बा, लुम्बिनीलगायतका तीर्थस्थलहरूमा समेत दर्शन गर्न पुग्छन् । 

यस्ता धार्मिक, ऐतिहासिक एवं सांस्कृतिक धरोहरका रूपमा रहेका मठ, मन्दिरहरूलाई धार्मिक, सामाजिक र सांस्कृतिक समृद्धिको सूचक मानेर स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नीति बनाएरै संरक्षण र संवर्धन गर्न सके आर्थिक आर्जनको दीर्घकालीन स्रोत धार्मिक तीर्थस्थल हुने थियो । पर्यटकको गन्तव्यस्थल नेपाल बनिरहेको बेला धार्मिक पर्यटन थप आकर्षकको केन्द्र बनेको छ ।

मन्दिरै मन्दिरको देशका रूपमा परिचित नेपालमा धार्मिक पर्यटक भित्र्याउन कुम्भले थप सहयोग पु¥याउने छ । कुम्भ मेला आयोजना हुँदै आएको पवित्र पावन क्षेत्र चतरामा धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी विकासका काम गर्दै कुम्भको प्रचारप्रसार र प्रवर्धन गर्नुपर्ने देखिन्छ । छिमेकी भारतले कुम्भ मेलाका लागि नीति निर्माण गरेर मेलाबाट राम्रो लाभ लिँदै आएको छ । नेपाल सरकारले पनि कुम्भलाई अपनत्व लिएर ऐन, नियम निर्माण गरी स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले जिम्मेवारी बहन गर्न सके मुलुककै आर्थिक पक्षलाई सबलीकरण गर्न सघाउ पु¥याउने सरोकारवालाहरू बताउँछन् ।  पूर्वको सभ्यता बोकेको सप्तकोशी नदी धार्मिक र सांस्कृतिक दृष्टिले महìवपूर्ण छ । कुम्भनगरीसँगै जोडिएको सप्तकोशी नदी मुलुककै ठुलो नदी मात्रै नभएर यो कौसिकी नदी हिन्दु र किराँत धर्म तथा परम्परासँग जोडिएको छ । कोशी नदीको आसपासको क्षेत्रमा वराह क्षेत्र, विष्णुपादुका, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, रामधुनी, हलेसी, पाथीभरा, छिन्ताङलगायतका प्रसिद्ध स्थलहरू हुनु र आदिम ज्ञानको स्रोत कोशी आसपासमा रहेको पौराणिक तथ्यहरू पाउनुले समेत कोशी नदीको सामाजिक, सांस्कृतिक र धार्मिक महìव स्पष्ट पारेको छ । धार्मिक र सांस्कृतिक महìव बोकेको कोशी किनारलाई जल पर्यटनका रूपमा विकास गर्न सके समग्र पूर्वी नेपालकै पर्यटनमा सघाउ पुग्ने छ । पछिल्लो समय नेपालका मठ मन्दिर, शक्ति पीठमा आन्तरिक र बाह्य धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । धर्मका माध्यमबाट राष्ट्रियता, राष्ट्रिय एकता, सार्वभौमिकता कायम गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवर्धन गर्न कुम्भ जस्ता धार्मिक महोत्सव महत्वपूर्ण मानिन्छ । सरकारले नेपाललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा चिनाउन पर्यटकीय प्रवर्धनको कार्ययोजना ल्याउनुपर्ने देखिन्छ ।   

Author

बाबुराम कार्की