• ११ मंसिर २०८१, मङ्गलबार

तीनदिने कला प्रदर्शनी ‘सम्बन्ध’

blog

काठमाडौँ, चैत २४ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक सिमाना चिरस्थायी भएको बताउनुभएको छ । 

काठमाडौँमा नेपाल र भारतका कलाकारबिच ‘सम्बन्ध’ शीर्षकमा तीन दिने कला प्रदर्शनीमा राईले कलाको भाषा अन्तर्राष्ट्रिय भाषा भएको विवेचना गर्नुभयो । उहाँले राजनीतिक र भूगोलले नेपाल र भारत भए पनि दुई देशको सांस्कृतिक सिमानाले दुई देशबिच अविछिन्न सिमाना निर्धारण गरेको बताउनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा पोखरेलले कला प्रदर्शनी मात्रै नभएर मुलुकहरू बिचको सम्बन्ध नाट्य सङ्गीत र लेखकको सम्बन्धलाई पनि प्रगाढ बनाउन सकिने बताउनुभयो । 

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको भाषाले विश्वलाई सीमाविहीन सम्बन्ध बनाएको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाल भारतबिचको सदियौँदेखिको सम्बन्धलाई थप बलियो बनाउने काम भाषा र संस्कृतिले गरिरहेको बताउनुभयो । 

भारतबाट आएका कलाकारको नेतृत्व गरिरहनुभएका कवि एवं कलाकार दीपा राईले कला संस्कृतिको सम्बन्धले नेपाल–भारतको कला संस्कृतिको विकासमा टेवा पुग्ने बताउनुभयो । जरा फाउन्डेसनसँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना भएको कला प्रदर्शनीमा नेपालका २२ र भारतका १३ कलाकारको सहभागिता रहेको छ । भारतका कलाकारसमेत उक्त प्रदर्शनीमा प्रत्यक्ष सहभागी भएका छन् । मुख्य गरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङबाट कलाकार सहभागी भएका नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठनका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले जानकारी दिनुभयो ।