• ७ जेठ २०८१, सोमबार

बानेश्वर क्याम्पसको ३३ औँ स्थापना दिवस सम्पन्न

blog

काठमाडौँ, चैत २४ गते । राजधानीमा रहेको बानेश्वर बहुमुखी क्याम्पसले आज ३३ औँ स्थापना दिवस मनायो । यस क्रममा सहभागीले नेपालमा उच्च शिक्षाको गुणस्तर अझै प्रभावकारी बन्न नसकेको गुनासो गर्नुभयो । 

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्राडा डिल्लीराज शर्माले राज्यले २०१३ सालदेखि विभिन्न योजना ल्याए पनि आङ्गिक क्याम्पसको भविष्य सन्तोषजनक नरहेको भन्दै पाठ्यक्रममा परिवर्तन गर्नुपर्ने, सामुदायिक क्याम्पसमा आर्थिक लगानीमा वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईले क्याम्पसको उन्नतिका लागि प्राध्यापक, विद्यार्थी तथा अभिभावकसमेत सक्रिय भूमिकामा रहेर समयसापेक्षको शिक्षा दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख प्राडा घमानसिंह खड्काले २०४७ सालमा स्थापना भएको क्याम्पसमा स्नातकोत्तरसम्मका शैक्षिक गतिविधि सञ्चालन भइरहेको जानकारी दिनुभयो । 

कार्यक्रममा व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय तथा कक्षा १२ मा सर्वोत्कृष्ट अङ्क ल्याई प्रथम हुने विद्यार्थी क्रमशः अर्जुनकुमार श्रेष्ठ, विकास खनाल, अस्मिता खड्कालाई गेहेन्द्रनाथ, उत्तरादेवी, खड्गचन्द्र छात्रवृत्तिबाट सम्मानसमेत गरियो । प्राध्यापकमा प्रा. राजेन्द्र दहाल, पदमबहादुर कार्की, तारादत्त जोशी तथा शैलजा पोख्रेल सम्मानित हुनुभयो भने कर्मचारीमा प्रमिला क्षेत्री, कल्पना कार्की र सुरेश देउला सम्मान गरियो । 

साथै कार्यक्रममा क्याम्पसद्वारा आयोजित विभिन्न विधामा भएका प्रतियोगितामा सहभागी विद्यार्थीलाई प्रमाणपत्र तथा मेडल वितरण गरियो ।