• १३ असोज २०८१, आइतबार

माइती नेपालको पैदल यात्रा

blog

माइती नेपालको पैदल यात्रामा सहभागी । तस्बिर : माइती नेपाल

काठमाडौँ, चैत २३ गते । मानव बेचबिखनविरुद्धको लडाइँमा समर्पित संस्था माइती नेपालले आफ्नो ३२ औँ वार्षिकोत्सवका अवसरमा पैदल यात्रा कार्यक्रम गरेको छ । ‘न्यायका लागि यात्राः मानव बेचबिखनको अन्त्य’ नाराका साथ आयोजना गरिएको कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले मुलुकभित्रै हुने आन्तरिक मानव बेचबिखनलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले मानव बेचबिखनको जघन्य अपराधलाई सफा गर्न ३२ वर्षदेखि समर्पित रहेको उल्लेख गर्दै माइती नेपालको यात्रामा साथ दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । माइती नेपालका कार्यकारी निर्देशक विश्वराम खड्काले मानव बेचबिखनको अन्धकारलाई अन्त्य गर्न चेतना र ऐक्यबद्धताको दीप प्रज्वलन गरिरहनुपर्ने बताउनुभयो । 

पिङ्गलास्थानस्थित माइती नेपाल प्रधान कार्यालयबाट बिहान सुरु भएको पैदलयात्राको उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिका-९ का अध्यक्ष रामजी भण्डारी, वडा १० का अध्यक्ष रामकुमार केसी, गौशाला प्रहरीका प्रमुख, माइती नेपालका संस्थापक अध्यक्ष कोइराला, कार्यकारी निर्देशक खड्कालगायत विभिन्न सङ्घसंस्थाका व्यक्तिको उपस्थिति थियो । पैदल यात्रा त्रिभुवन विमानस्थल, सिनामङ्गल, पुरानो बानेश्वर, गौशाला हुँदै सम्पन्न गरिएको थियो । मानव बेचबिखन रोकथाम, उद्धार र पुनःस्थापनामा माइती नेपालले गरिरहेको प्रयासका लागि जनचेतना जगाउने कार्यमा सहभागीहरूले एकता र ऐक्यबद्धता जनाउनुभएको थियो । 

माइती नेपालले सन् २०२३ मा महिला र बालबालिका बेचबिखन तथा विभिन्न प्रकारका शोषण र हिंसाविरुद्धको आफ्नो अथक प्रयासलाई निरन्तरता दिएको जनाएको छ ।

माइती नेपाल मानव बेचबिखनविरुद्ध लड्न, पीडितको उद्धार र पुनःस्थापना, सचेतना जगाउने र यो जघन्य अपराध रोक्न आमजनमानसलाई सशक्तीकरण गर्ने कार्यमा समर्पित गैरनाफामूलक संस्था हो । सन् १९९३ मा स्थापना भएको माइती नेपाल मानव बेचबिखन, बालबालिकाको व्यावसायिक यौनशोषण र घरेलु हिंसाबाट प्रभावित असङ्ख्य व्यक्तिका लागि आशाको किरण बनेको छ । रासस