• १३ असोज २०८१, आइतबार

अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा नौ खेल

blog

अन्तर प्रदेश राष्ट्रिय खेलकुद बारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, चैत २२ गते । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा नौ खेल समावेश गरिएको र तयारी अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आउनुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ । 

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट खेलमा प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबलबाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल हेटौँडास्थित गौरीटार रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा एक सय ३६ स्वर्ण, एक सय ३६ रजत र एक सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका एक हजार पाँच सय ४७ खेलाडीको सहभागिता रहने बताइएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः पाँच हजार, चार हजार र तीन हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

हरेक खेलको उत्कृष्ट खेलाडीलाई १० हजार रुपियाँबाट पुरस्कृत गरिने छ । टिम च्याम्पियनलाई चाँदीको रनिङ सिल्ड प्रदान गरिने छ । करिब १२ करोड रुपियाँ खर्च हुने प्रतियोगिताको समापन वैशाख १ गते गौरीटार रङ्गशालामा हुनेछ ।