• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री चौधरी पदबाट राजीनामा दिनुहुँदै

blog

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी । फाइल तस्विर

दिवाकर पोख्रेल

देउखुरी, चैत २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिनुहुने भएको छ । सङ्घीय सरकारमा गठबन्धन परिवर्तन भएर नयाँ गठबन्धन परेपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा गर्न थालेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

मुख्यमन्त्रीले लुम्बिनी प्रदेशमा राप्रपा र नागरिक उन्मुक्ति पार्टीसहित साना दलको साथ लिएर सरकार जोगाउने प्रयास गरे पनि सफल हुन नसकेपछि राजीनामाको तयारी गर्नुभएको बुझिएको छ । मुख्यमन्त्री चौधरी वैशाख १४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भई वैशाख १९ मा विश्वासको मत लिनुभएको थियो ।

मुख्यमन्त्री चौधरी आज बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको छ । सरकारको पक्षमा बहुमत नपुग्ने भएपछि राजीनामा दिने तयारी गर्नुभएको योजना आयोगका उपाध्यक्ष नहकुल केसीले जानकारी दिनुभयो । 

यस विषयमा निर्णय गर्न मुख्यमन्त्री चौधरीले नेपाली काङ्ग्रेस संसदीय दलको बैठक बोलाउनुभएको छ । मुख्यमन्त्री चौधरीले राजीनामा गर्ने भएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । 

नयाँ गठबन्धनमा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) लाई मुख्यमन्त्री दिने सहमति भएको छ । माओवादीले मुख्यमन्त्री पाए माओवादी संसदीय दलका नेता रोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य जोखबहादुर महरा मुख्यमन्त्री बन्नु हुनेछ । नयाँ गठबन्धनको नेतृत्वमा बहुमत पुग्ने देखिएको छ ।