मुरारी अधिकारी
धादिङ, चैत २२ गते । पर्यटनको सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिकामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ अगाडि बढाइने भएको छ । गङ्गाजमुना गाउँपालिकामा रहेको धार्मिक एवम् प्राकृतिक सम्पदालाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनात्मक विकास गर्नका लागि आज सो गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँग सम्झौता गरेको हो ।
धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा रहेको गङ्गाजमुना तीनसुरे पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवर्द्धनका लागि गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा र टानका अध्यक्ष नीलहरि बास्तोलाबिच सम्झौतापत्रमा हस्ताक्षर भएको गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त पदमार्गले धादिङको रुवीभ्याली र गोरखा मनास्लु क्षेत्रलाई जोड्ने टानका अध्यक्ष बाँस्तोलाले बताउनुभयो । बाँस्तोलाका अनुसार उक्त पदमार्गले नेपालको पदयात्रा प्रवर्द्धनको विकासमा सहयोग पुग्ने विश्वास छ । सम्झौतासँगै अब टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी गर्ने, पदमार्ग विकास तथा प्रवर्द्धन योजना तयारी गर्ने, पदमार्गको नयाँ नक्सा प्रकाशित गर्ने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिनुभयो ।
यस्तै, पदयात्रा मार्ग प्रवर्द्धनात्मक वृत्तचित्र तथा ‘ब्रोसियर’ निर्माण गर्ने, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ पदयात्रा मार्गको शुभारम्भ गर्ने, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेछ । पछिल्लो समय स्थानीय तहको गठनसँगै स्थानीय तहले विकासका नाममा जथाभाबी मोटरबाटो खन्दा कतिपय ‘ट्रेकिङ ट्रायल’हरू मासिँदै गएका जनाउँदै टानले नयाँ गन्तव्यको खोजी गरी प्रवर्द्धन गर्दै आएको छ ।
टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको बताउनु भयो । यस सम्झौताले गंगाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा निकै टेवा पुग्ने गंगाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामाले बताउनुभयो । टान र पालिकाको सम्झौतालाई पूर्णरुपमा कार्यान्वयन गरिने अध्यक्ष लामाको भनाइ छ ।