• २० वैशाख २०८१, बिहिबार

तस्करी र अवैध आयात बढ्यो

blog

वडा प्रहरी कार्यालयले बरामद गरेको भन्सार छलिको सामग्री । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २२ गते । मुस्लिम समुदायको महान् पर्व इद नजिकिँदै गर्दा बाँकेमा सीमापारिबाट भइरहेको तस्करी र अवैध आयात अत्यधिक बढेको छ । 

नाकामा खटिएको सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालगन्जस्थित विभिन्न प्रहरी युनिटले दैनिकजसो ठुलो परिमाणमा भन्सार राजस्व छलेर भित्र्याइएको अवैध सामान बरामद गर्दै आए पनि तस्करी र अवैध आयात भने रोकिएको छैन । 

चाडपर्वको बेला तयारी कपडालगायतका विभिन्न सामानको माग हुनेगरेकाले तस्करी गर्नेहरू सोही समयमा बढी सक्रिय हुने गरेका छन् । सोक्रममा पछिल्लो समय वडा प्रहरी कार्यालय नेपालगन्जले नेपालगन्ज –७ मा गोदाम बनाएर भन्सार छलिका सामानहरू राखेर बिक्री हुनेगरेको सूचना पाएपछि सो गोदाममा मंगलबार छापा मारेर दस लाख रुपियाँभन्दा बढीको तयारी कपडा र औषधी बरामद गरेको छ । 

वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारीअनुसार नेपालगन्ज उपमहानगरपालिका –७ गगनगन्ज प्रगतिशील मार्गस्थित असरफ अन्सारीको घरमा नामथर वतन नखुलेका व्यक्तिले भाडामा लिई बस्दैआएको कोठामा वडा प्रहरीको टोलीले खानतलासी गर्दा त्यहाँबाट ४४३ थान तयारी लेडिज कुर्ता सुरुवाल र तीन हजार पत्ता जिनटप नामक भिटामिन क्याप्सुल बरामद गरेको हो । 

सो गोदामबाट बरामद भएका अवैध सामानको मूल्य १० लाख ४३ हजार रहेको जनाउँदै ती सबै सामानलाई आवश्यक थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बिसीले बताउनुभयो । 

उहाँले चाडपर्वको समयमा भन्सार छलिको सामान भित्रिने क्रम बढेकाले प्रहरीले सचेत भएर गस्ती तथा सूचना सङ्कलन गरिरहेको जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले चैत १६ गते ८८८ पिस ७१ हजार रुपियाँको सेन्डो गन्जी बरामद गरेको थियो । चैत ९ गते एक लाख ५३ हजार बढीका भन्सार छलेर भित्र्याएका विभिन्न सामान बरामद गरेको थियो ।