• १३ असोज २०८१, आइतबार

तिलौराकोट गोल्ड कप फाइनलका लागि विएफसी चितवन र सुदूरपश्चिम भिड्दै

blog

पहिलो सेमिफाइनलमा भिड्दै पुलिस र थ्री स्टारको टिम । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, चैत्र २२ गते । तिलौराकोट गोल्डकप अन्तर्गत फाइनल प्रवेशका लागि हनामी विएफसी चितवन र सुदूरपश्चिम भिड्ने भएका छन् । बिहिबार दिउँसो ४ बजे बुद्ध रङ्गशालामा हुने खेलको विजेताले फाइनलमा नेपाल पुलिस क्लबको सामाना गर्नेछ । 

फाइनल खेल शनिबार हुने आयोजक कपिलवस्तु जिल्ला फुटबल सङ्घका अध्यक्ष तिलक थापाले बताउनुभयो । बुधवार भएको पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई हराउँदै विभागीय पुलिस फाइनलमा पुगेको हो । स्टार खेलाडीसहितको थ्री स्टार १-० गोल अन्तरले पराजित भएको छ । पुलिसको लागि खेलको ५१ औँ मिनेटमा जर्सी नम्बर १८ का विवेक पाण्डेले गोल गर्नुभयो । उहाँ म्यान अफ द म्याच चुनिनुभएको थियो ।

खेलको अन्तिम समयमा थ्री स्टारले डी एरिया नजिकै फ्रिकिक हान्ने अवसर पाए पनि गोल हुन सकेन । पुलिसका किपर सन्जित श्रेष्ठले डाइभ हान्दै प्रहार विफल पारेका थिए । थ्री स्टारबाट पूर्व राष्ट्रिय टिमका कप्तान विराज महर्जन, राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ, अफ्रिकन खेलाडी अफेज उवालुक पहिलो रोजाइमा परेका थिए । गोल खाएपछि थ्री स्टारले पुलिसलाई दबाबमा राखे पनि गोल हान्न भने सकेन ।