• १२ साउन २०८१, शनिबार

हुलाकी सडकको काम अलपत्र

blog

हुलाकी सडक अन्तर्गत गढवा–कालाकाटे सडक कालोपत्रे गरिँदै ।

घोराही समाचारदाता 

घोराही, चैत २२ गते । दाङमा हुलाकी सडक निर्माणको काम पुनः अलपत्र परेको छ । निर्माण व्यवसायीको लापर्बाहीका कारण हुलाकी सडक अन्तर्गत वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे काम पुनः अलपत्र परेको हो । 

ठेक्का सम्झौताको साढे चार वर्ष पुगिसक्दा पनि सडकको काम पूरा हुन सकेको छैन । उक्त सडक कालोपत्रे गर्नका लागि ६५ करोड रुपियाँको लागतमा २०७६ साल कात्तिक २९ गते वज्रगुरु कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले सम्झौता गरेको थियो । तोकिएको समयमा काम नभएपछि २०७९ साल मङ्सिर अन्त्यतिर म्याद थपेर २०८० साल साउन १० सम्म म्याद थप गरिए पनि निर्माण व्यवसायीको ढिलाइका कारण गएको मङ्सिरदेखि पुनःकाम सुरु भएको थियो । 

मङ्सिरमा काम सुरु गरेको निर्माण व्यवसायीले डेढ किलोमिटर सडक कालोपत्रे गरेर पुनः काम छोड्दा सडक अलपत्र बन्न पुगेको स्थानीय बुद्धिराज आचार्य बताउनुहुन्छ । हुलाकी राजमार्ग आयोजनाका अनुसार कालाकाटेदेखि गढवा सडकखण्डको वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडकको भौतिक प्रगति करिब ४० प्रतिशत रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख लीला भण्डारी बताउनुहुन्छ । उहाँका अनुसार निर्माण व्यवसायीले नियमित काम गरेमा तीन/चार महिनामा कालोपत्रेको काम सकिने अवस्था रहे पनि निर्माण व्यवसायीका कारण हुलाकी सडक निर्माणमा ढिलाइ भएको छ । कार्यालय प्रमुख भण्डारीले भन्नुभयो, “निर्माण व्यवसायीको लापर्बाहीका कारण लामो समयदेखि सडक बन्न सकेको छैन । इमानदारीसहित काम भए धेरै समय लाग्दैन ।” उहाँका अनुसार अझै करिब ११ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी रहेको छ । 

आयोजना प्रमुख भण्डारीले हुलाकी सडक अन्तर्गत पुलको काम अन्य निर्माण कम्पनीको फटाफट गरे पनि सडक निर्माणको काममा भने अहिलेको कम्पनीले ढिलाइ गर्ने काम गरिरहेको बताउनुभएको छ । २०७६ साल मङ्सिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कनकाई खड्का कृष्ण प्रालिले ठेक्का हात पारेको गढवादेखि राजुपरको गङ्गदीपारिसम्मको २० किलोमिटर सडकको भने प्रगति सन्तोषजनक रहेको देखिएको छ ।

उक्त सडक कालोपत्रे गर्ने कार्य सकिएको छ । एक पटक म्याद थपेर २०८० साल साउन १० सम्म पु¥याइएको उक्त सडकमा बाँकी रहेको फुटपाथ र अन्य काम सकिने अवस्थामा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिनुभयो ।