• १३ मंसिर २०८१, बिहिबार

अस्पताल निर्माण अवरुद्ध

blog

राधा नेपाली 

सन्धिखर्क, चैत २२ गते । निर्माण कम्पनीको लापर्बाहीले अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको निर्माण कार्य तीन वर्षदेखि अलपत्र परेको छ । २०७७ साल चैतमै निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल सम्झौताभन्दा तीन वर्ष ढिला हुँदा पनि सम्पन्न भएको छैन । अस्पतालको भवन पूर्ण रूपमा सम्पन्न भएको छैन । निर्माण भएका संरचना पनि अस्तव्यस्त छोडिएको छ । स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो । सुरुमा निर्माण कार्यलाई तीव्रता दिए पनि अहिले स्थगित छ । सम्झौताको ५० प्रतिशतभन्दा धेरै रकम कम्पनीले लिइसकेको छ । 

अस्पताल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई पटक पटक निर्देशन गरे पनि बेवास्ता गरेको नगरपालिकाले जनाएको छ । स्थानीय जनताको स्वास्थ्य उपचारसमेत प्रभावित भएको बताउँदै नगरपालिकाका प्रमुख छविलाल पौडेलले भन्नुभयो, “समयमै सम्पन्न गर्न हामीले धेरै पहल ग¥यौँ तर भएको छैन । हामी यसमा चिन्तित छौँ, अब कानुनी पाटोबाट अघि बढ्छौँ । केन्द्रीय आयोजना भएकाले केन्द्रसँग पनि समन्वय गरिरहेका छौँ ।” प्राविधिक कारणले ढिलाइ हुन पुगेको निर्माण कम्पनीले जनाएको छ । कम्पनी सञ्चालक पदम भुसालले भन्नुभयो, “आगामी असारसम्म सम्झौताको म्याद छ । असारमा सम्पन्न गर्ने गरी काम नियमित गर्न लागेका छौँ, असारसम्म सक्छौँ ।” 

अस्पताल निर्माण सम्पन्न नगर्दा अन्य विकास निर्माणका काम पनि प्रभावित भएको नगरपालिकाले जनाएको छ । समयमै अस्पताल निर्माण हुन नसक्दा लगानीको उपयोग हुन नसकिरहेको र स्थानीय जनताको स्वास्थ्य अधिकारप्रति नै खेलबाड भइरहेको प्रमुख पौडेलले बताउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले पुनर्निर्माण कार्यक्रम अन्तर्गत अस्पताल निर्माण गर्न २०७६ साल असार १३ गते सम्झौता भएको थियो तर नियमनकारी निकायले प्रभावकारी अनुगमन र जाँच नगर्दा अस्पताल निर्माण कार्य अलपत्र परेको नगरपाकिालको गुनासो छ ।   

उक्त कम्पनीले अस्पताल मात्र होइन, सडक निर्माणमा पनि ढिलाइ गरेको नगरपालिकाले जनाएको छ । शीतगङ्गाको हिलेखोलादेखि रजिया, खमोरदेखि अमराई हुँदै दहसम्मको सडक कालोपत्र गर्ने ठेक्का पाएको थियो । उक्त ठेक्का पनि अलपत्र छ । नगरपालिकाले कम्पनी नै कालो सूचीमा पर्न सक्ने भन्दै चेतावनी दिइरहेको तर निर्माण कम्पनीले बेवास्ता गरिरहेको छ ।