रुपन्देही समाचारदाता
रुपन्देही, चैत २१ गते । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चैत २३ र २४ गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । चैत २३ गते संवाद कार्यक्रम तथा २४ गते बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन आयोजना गरिने नेपाल पर्यटन बोर्डका मणि लामिछानेले जानकारी दिनुभएको हो ।
पर्यटन बोर्ड, नेपालस्थित चीनको दूतावास, लुम्बिनी विकास कोष (एलडिटी) र प्रदेश खेलकुद परिषद् लुम्बिनीलगायतको सहकार्यमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको हो । लुम्बिनीको प्रचारप्रसारबाट नै पर्यटन प्रवर्धन र आर्थिक समृद्धि जोड्ने गरी कार्यक्रम हुन लागेको लामिछानेले बताउनुभयो । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम हुने उहाँले जनकारी दिनुभयो ।
प्रतियोगिताको पुरुषतर्फ अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ४२ किलोमिटर बढीको म्याराथन दौड हुनेछ भने महिलातर्फ २१ किलोमिटर दुरीको हाफ म्याराथन दौड हुने छ । पाँच किलोमिटरको रोड रेस र विद्यालयका छात्रछात्राका लागि तीन किलोमिटर वाकाथन पनि हुने छ । सो प्रतियोगिताको विधागत रूपमा २० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । लुम्बिनी स्क्वायरमा साँझ लुम्बिनी शान्ति कन्सर्ट हुने छ । विश्व प्रशिद्ध गायिका आनी छोइङ डोल्मा, प्रख्यात चिनियाँ गायक उलान तुया, गुकिन कलाकार लु निङ र परम्परागत गायक तथा सङ्गीतकारको प्रस्तुति रहने बताइएको छ ।
लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले विगतबाट नै विश्व खेलकुद दिवसमा लुम्बिनीमा विशेष खेलकुद कार्यक्रम गर्दै आएको बताउनुभयो । यो पटक खेल गतिविधिसँगै आध्यात्मिक र सांस्कृतिक कार्यक्रमलाई जोडेर पर्यटन प्रवर्धन गर्ने गरी कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कोभिड सङ्क्रमणको बेला लुम्बिनीमा सन् २०२२ मा पहिलो पटक ओलम्पिक दिवस मनाउन सुरु गरेको बताउनुभयो । नाम अनुसार नै शान्तिको रूपमा पहिचान लुम्बिनीले बनाएको उहाँले बताउनुभयो ।