• १२ साउन २०८१, शनिबार

७३ जनाद्वारा नेपाली नागरिकता परित्याग

blog

जिल्ला प्रशासन कार्यालय । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, चैत २१ गते । स्याङ्जामा ७३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । विसं २०६७ जेठ ३ गतेदेखि हालसम्म ४८ जना पुरुष र २५ जना महिलाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकता परित्याग गर्नेमा सबैभन्दा धेरै २०८० सालमा ३६ जना रहेको बताउनुभयो ।

यस्तै, विसं २०६७ मा दुई, २०६८ मा तीन, २०७० मा दुई, २०७१ मा तीन, २०७२ मा चार, २०७३ र २०७४ मा छ/छ, २०७५ मा तीन, २०७६ मा एक जनाले नागरिकता परित्याग गरेको छन् ।

यस्तै, २०७७ मा पाचँ, २०७८ मा एक र  २०७९ मा दुई जानले नागरिकता त्याग गरेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । यद्यपी, २०६९ सालमा एक जनाले पनि नागरिकता त्याग नगरेको नेपालको भनाइ छ ।

प्रजिअ नेपालका अनुसार डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेका हुन् । उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताउनुभयो ।

नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १७ जनाले अमेरिकी नागरिकता प्राप्त गरेका छन् भने अस्ट्रेलिया १५, हङकङ १२, बेलायत ११,  कोरियन तथा जर्मनी तीन÷तीन जना रहेक छन् भने न्यूजील्याण्ड, चीन र पोर्चुगल दुई/दुई जना रहेका छन् ।

यस्तै, क्यानडा, केन्या, बेल्जीयम, युगाण्डा, फ्रान्स, फिनल्याण्डका नागरिकता लिने एक/एक जना रहेका छन् ।

राजनीतिक अस्थिरता, भ्रष्टाचार, वेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउदै विदेशी मुलुक छिरेका नेपाली नागरिकपछि उतै रमाउने र अन्ततः उतैका नागरिक भई बस्न चाहना गर्ने गरेको देखिएको छ ।