• १२ साउन २०८१, शनिबार

हिमोफिलियाको लागि आवश्यक पर्ने औषधी उपलब्ध गराउन सरोकारवालाको माग

blog

काठमाडौं, चैत २० गते। हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने औषधी राज्यबाटै उपलब्ध गराउन सरोकारवाला निकायले माग गरेका छन्। 

हिमोफिलिया सोसाइटी नेपालको ३१ औँ स्थापना दिवसको अवसरमा एक कार्यक्रम गर्दै सोसाइटीका अध्यक्ष मुकुण्द घिमिरेले पहिचान भएको हिमोफिलियाका बिरामीलाई आवश्यक पर्ने जीवन रक्षार्थ औषधी उपलब्ध गराउन सरकार समक्षा माग गर्नुभएको हो।  

 उहाँले भन्नुभयो,“सरकारले पहिचान भएका बिरामीलाई औषधीको सुनिश्चिता गर्नुका साथै पहिचान हुन बाँकी रहेका बिरामीलाई खोजी गरी उपचारको दायारामा ल्याउनु पर्छ।” 

राष्ट्रिय जनगणना २०७८ मा भएको जनगणनामा चार हजार ९३६ हिमोफिलियाका व्यक्ति रहेका छन्। जसमध्ये आठ सय बिरामीमात्र उपचारको दायरमा आएको उहाँको भनाइ छ। चार हजार हिमोफिलियाका बिरामी उपचार दायर बाहिर छन्। 

हिमोफिलियाको उपचार महँगो हुँदा सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको उहाँका भनाई छ।  उहाँका अनुसार हाल हिमोफिलियाका बिरामीले ९५ प्रतिशत औषधी दाताको सहयोग र पाँच प्रतिशत औषधी सरकारले खरिद गर्दै आएको छ। 

वीर अस्पतालका हेमाटोलोजिष्ट डा. निरजकुमार सिंहले रोगको उपचार महँगो भएकोले  ठोस नीति बनाएर पहिचान भएका बिरामीको उपचारको जिम्मा सरकारले लिनुपर्ने बताउनुभयो। 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रति १० हजार जन्ममा एक जना हिमोफिलियायुक्त व्यक्ति जन्मने गर्छन्। जसमध्ये औषधीको अभावले प्रत्येक वर्ष चार पाँच जना हिमोफिलियाका बिरामीको मृत्यु हुने गर्छ।