• १२ साउन २०८१, शनिबार

मुस्लिम महिलाका लागि सिलाइकटाई तालिम

blog

बाँकेको जानकी १ साईगाउँमा आयोजित सिलाइकटाई तालिममा सहभागी मुस्लिम महिला । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, चैत २० गते । मुस्लिम तथा मधेसी समुदायका महिलाहरू घर बाहिर निस्कन असहज मान्ने गरेको अवस्थामा बाँकेको जानकी गाउँपालिकाले उनीहरूलाई सिप सिकाएर व्यावसायिक बनाउने योजना अघि सारेको छ । 

जानकी गाउँपालिकाले वडा नम्बर १ साईगाउँका मुस्लिम र दलित महिलाका लागि ४५ दिने सिलाइकटाई तालिम दिएको छ । मङ्गलबार समापन भएको तालिममा १५ जना महिलाको सहभागिता रहेको योजना शाखा प्रमुख शोभा पौडेलले जानकारी दिनुभयो । 

गाउँपालिकाले लघु उद्यम विकास शाखामार्फत महिलाहरूलाई स्वरोजगार बनाउनका लागि तालिम प्रदान गरेको छ । उनीहरूका लागि सिलाइकटाई मेसिन, कपडा र प्रशिक्षकको व्यवस्था गरिएको हो । योजना शाखा प्रमुख पौडेलले भन्नुभयो, ‘ग्रामीण महिलालाई आत्मनिर्भर बनाउन यो कार्यक्रम ल्याएका हौँ ।’ 

४५ दिनको आधारभूत सिलाइकटाई तालिम समापन भएपछि महिलाहरूले घरमै तथा गाउँका केन्द्रमा सिलाइकटाईको काम गर्न सुरु गर्नेछन् । अर्को वर्ष उनीहरूका लागि थप दोस्रो चरणको सिलाई कटाई तालिम दिइने छ । 

तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गाउँपालिकाले आर्थिक विकाससँगै स्वरोजगारका कार्यक्रम अघि सारेको बताउनुभयो । उहाँले केही दिनपछि वडा नम्बर ५ मा पनि यस खालको कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । बाँकेको जानकी गाउँपालिका मधेसी र मुस्लिम समुदायको बाहुल्यता भएको स्थानीय तह हो ।