• १२ साउन २०८१, शनिबार

केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री

blog

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री राजकुमार शर्मा । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, चैत २० गते । 
यतिबेला कर्णालीको राजनीति तातिएको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको हो ।

सोमबार मात्र सत्तारुढ गठबन्धनबिच भएको सहमतिअनुसार नेकपा (एमाले) को नेतृत्वमा कर्णालीमा सरकार गठन हुने भनिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न माओवादीको प्रदेश नेतृत्वलाई निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री राजकुमार शर्माले कुनैपनि हालतमा आफूले विश्वासको मत लिएरै छाड्ने अडान राखी रहनुले थप समस्या पैदा भएको हो ।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री शर्माको बिचमा कुरा मिलेको छैन । मङ्गलबार बिहान उहाँहरूबिच भेटवार्ता भएको थियो । बिहान भएको संक्षिप्त भेटमा दुवै नेताका आ–आफ्ना अडान राखेपछि भेट निष्कर्षविहीन बनेको हो । एमालेका नेता कँडेलले केन्द्रको सर्कुलर अनुसार अघि बढ्नुपर्छ भन्ने कुरा राख्नुभएको थियो भने मुख्यमन्त्री शर्माले पहिलो चरणमा आफूले सत्ता सम्हाल्न पाउनुपर्ने अडान राख्नुभएको छ ।

यसैबिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन भन्दै माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाउनुभएको छ । अहिले शाही सहित पार्टीभित्रका नेताहरूबिच छलफल चलिरहेको छ ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको छ ।   माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बैठकका लागि तयारी भइरहेको बताउनुभयो । त्यो भन्दा पहिला मुख्यमन्त्रीलगायतलाई मनाउन नेता महेन्द्रबहादुर शाहीको सहभागीमा आन्तरिक छलफल भइरहेको उहाँले बताउनुभयो आन्तरिक छलफलबाट निस्कने निचोडका आधारमा पार्टी अघि बढ्ने उहाँको भनाइ छ ।