• ८ वैशाख २०८१, शनिबार
blog

अटिजम एक अवस्था हो; जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्छ । अटिजम शब्द पहिलो पटक १९११ मा सुरुवात गरिएको हो । मानिसमा अटिजमका लक्षण देखा पर्न थालेपछि सन् १९४० मा डाक्टरद्वय लियो क्यानर र ह्यान्स एस्पर्जरले अटिजमलाई बुझ्न थप प्रोत्साहन गरे । विश्व अटिजम जागरुकता दिवस आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घबाट सन् २००७ मा पारित भयो । अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) बारे अनुसन्धान र समर्थन गर्न, देशलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरु गरियो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने छ ।

मस्तिष्क र स्नायुकोषको स्वाभाविक विकासक्रममा हुने असमान अवस्थाको रूप अटिजम हो । यसलाई नेपालीमा आत्मकेन्द्रित व्यवहार भनिन्छ । व्यक्तिको मस्तिष्कमा स्नायुकोषको सञ्जालले राम्रोसँग काम नगर्दा सूचना प्रशोधनमा बाधा उत्पन्न हुन गई सामाजिक क्रियाकलाप, सञ्चारसिप र कल्पनाशक्तिको विकासमा असर पुग्छ  । जसले गर्दा सञ्चारमा विचलन, सामाजिक रूपमा घुलमिल हुन नसक्ने, पुनरावृत्ति, एकोहोरोपन, इन्द्रियहरूको उतारचढावको फलस्वरूप वातावरण, व्यक्ति र वस्तुप्रति भिन्दै प्रतिक्रिया र व्यवहार देखाउँछन् । बौद्धिक अपाङ्गता वा अटिजम कुनै रोग होइन । मस्तिष्कको एक विशेष अवस्था मात्रै हो । जुन असामान्य र अस्वीकृत व्यवहारका रूपमा देखिन्छ । 

अटिजम हुनुका कारण र उपचारका क्षेत्रमा धेरै अनुसन्धान भइरहेका छन् । कारण र निर्मूल गर्ने उपाय अझै पत्ता लाग्न सकेको छैन । विश्वभर अटिजमले कति मानिसलाई असर ग¥यो भन्ने फरक फरक अध्ययनका ठम्याइ पनि फरक फरक नै देखिन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा एक प्रतिशत मानिसमा अटिजम देखिने गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रतिवेदन अनुसार हरेक ५९ जनामध्ये एक जनालाई अटिजम हुने गरेको छ । त्यस्तै अटिजमको असर छोरीभन्दा छोरालाई तीन–चार गुणा बढी गर्ने गरेको सिडिसीको तथ्याङ्क छ । अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनीमा अन्य व्यक्तिभन्दा २५ गुणा बढी अटिजम हुने तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा कति जनामा अटिजम छ भन्नेबारे विस्तृत अध्ययन नै भएको छैन । नेपालको जनगणना–२०७८ अनुसार छ लाख ४७ हजार ७४४ जना अर्थात् कुल जनसङ्ख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता छ । जसमा अटिजम तथा बौद्धिक अपाङ्गताको जनसङ्ख्या ६२ हजार ३७२ छ । हामीले सत्यपूर्ण रूपमा अटिजम भएका व्यक्तिको सूचना सही नदिएकै कारण विश्व स्वास्थ्य सङ्गठनको अनुसन्धानसँग मेल खाँदैन । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर एक प्रतिशत जनसङ्ख्यामा अटिजम रहेको तथ्याङ्क सार्वजनिक गरेको देखिन्छ । 

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) को अध्ययनले पछिल्लो समयमा अटिजम भएका बालबालिकाको सङ्ख्या बढ्दै गएको देखाउँछ । २०२३ मार्चमा प्रकाशित तथ्याङ्क अनुसार २०१६ मा प्रति ५४ जना बच्चामध्ये एक जनामा अटिजम देखिन्थ्यो । २०१८ मा प्रति ४४ बच्चामध्ये एक जनामा अटिजम देखियो भने २०२० मा यो बढेर प्रति ३६ बच्चामध्ये एक जनामा अटिजम हुने गरेको पाइएको छ । नेपालमा जन्मेदेखि चार वर्ष उमेर समूहका बालबालिकामा २१.९ प्रतिशतमा अटिजमको उच्च जोखिम रहेको तथ्याङ्क छ । 

विश्वभरि नै अटिजम बालबालिकाको जन्मदर बढ्दो छ । विश्व तथ्याङ्क आकलन गर्दा नेपालमा पनि अटिजम बालबालिका तीन लाखभन्दा बढी भएको अनुमान लगाउन सकिन्छ । यता छिमेकी मुलुक भारतमा अटिजम हुनेको सङ्ख्या आठ करोड रहेको अनुमान छ । सकेसम्म चाँडै लक्षण पत्ता लगाएर समयमै सिकाइको अवसर पाए अटिजम भएकाको जीवनयापन सहज हुने गर्छ । अटिजम र यस प्रकारको व्यवहार व्यक्तिमा जीवनभर रहिरहन्छ । अटिजम भएका केही व्यक्तिहरूमा बौद्धिक क्षमता तिक्ष्ण रहेको पाइन्छ भने केहीमा बौद्धिक अपाङ्गता रहेको पाइन्छ । 

अटिजम हरेक व्यक्तिमा अलग अलग किसिमका लक्षण देखिन्छन् । बालबालिका जन्मेको छ महिनादेखि नै क्रमशः तीन वर्षसम्ममा यसका लक्षण प्रस्ट भइसक्छन् । वयस्क अवस्थामा पनि विभिन्न रूपमा रहन्छन् । अटिजम निको पनि हुँदैन । विभिन्न थेरापी, विशेष शिक्षा, हेरचाह एवं तालिमबाट सामान्य विद्यालय जान सक्ने गरी तयार गर्नु पर्छ भने कतिपय बालबालिका सामान्य विद्यालय जान सक्ने अवस्थामा पुग्दैनन् र उनीहरूको विद्यालय शिक्षा पनि विशेष विद्यालयमा नै व्यवस्थापन गर्नु पर्छ । 

अटिजमका लक्षण 

आफ्ना उमेरका बालबालिकासँग खेल्न नरुचाउने । असान्दर्भिक हँसाइ तथा रुवाइ । आँखामा आँखा जुधाउन नसक्ने । घाउचोट तथा दुखाइप्रति वास्ता नगर्ने । एक्लै बस्न रुचाउने तथा सामाजिकीकरण नहुने ।  सामान घुमाइरहने तथा अँगालो हालेको मन नपराउने । बोलाउँदा नबोल्ने साथै नसुने जस्तो भइदिने । आफ्नो आवश्यकताको सामान औँलाले नदेखाउने वा ठुलो मानिसको हात समातेर देखाउने, शब्दको प्रयोग नगर्ने । कल्पना गरेर खेल नखेल्ने वा दोहो¥याएर एउटै खेल खेलिरहने । सामान्य शिक्षण विधिबाट सिक्न नसक्ने । हरेक दिन एउटै काम गर्न रुचाउने तथा परिवर्तन नरुचाउनेलगायतका बानीबेहोरा बालबालिकामा देखा पर्नु अटिजमको लक्षण हुनु हो । 

अटिजम भएमा के गर्ने ?

बौद्धिक अपाङ्गता एवं अटिजम भएका बालबालिका र युवालाई व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा सजिलै पुनस्र्थापना गराउनु पर्छ । अटिजम भएका बालबालिकाका लागि आवश्यक थेरापीसहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो । जनचेतनाको अभावका कारण अटिजम भएका बालबालिका शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको अवस्था छ । समाजमा अटिजम सचेतना कार्यक्रम सञ्चालन गर्दै विधागत विज्ञहरूको परामर्श लिई उनीहरूको समस्या र चुनौतीको पहिचान गरी सोही अनुरूपको शिक्षा, स्वास्थ्य सेवा पु¥याउन अटिजमको क्षेत्रमा काम गर्ने थेरापी केन्द्रसँग सहकार्य गर्नु जरुरी छ । 

अटिजम भएका बालबालिकाको फरक क्षमता र बौद्धिक अवस्था अनुसारको शिक्षाको व्यवस्था नहुँदा उनीहरूको जीवन निकै कष्टकर बनेको छ । मूलधारका विद्यालयमा अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने शिक्षा र स्वास्थ्य सेवा सम्भव नहुने भएका कारण यस प्रकारका बालबालिकाको शिक्षाका लागि विशेष विद्यालयमा नै उपलब्ध गराउन आवश्यक हुन्छ । हाम्रो समाज र स्वयम् अभिभावकले समेत बच्चामा देखा परेको अटिजमको समस्यालाई स्वीकार नगरी सामान्य विद्यालयमा पठाउँदा अटिजम भएका बालबालिकाको झनै बानी, व्यवहार र कार्यशैलीमा समस्या आउने गरेको छ । सानो उमेरमै अटिजम विशेष शिक्षामा परामर्श तथा थेरापी गराउन ढिला गर्नु हुँदैन । 

जीवन सहज बनाउने तरिका  

अभिभावकले बालबालिकालाई पर्याप्त समय दिनुका साथै उनीहरूलाई रचनात्मक काममा क्रियाशील गराउनु पर्छ । आफ्ना बच्चाको मानसिक क्षमताबारे बुझ्न चिकित्सक वा विशेषज्ञको सल्लाह, सुझाव लिनु पर्छ । अटिजम केन्द्रमा थेरापीका माध्यमबाट पनि सहज तरिकाले सञ्चार प्रक्रियाका लागि सक्रिय बनाउन सकिन्छ । यस्तो समय बालबालिकाका अतिरिक्त उनीहरूका अभिभावकले पनि यससम्बन्धी थेरापी तथा जीवन सिकाइ प्रक्रियासम्बन्धी सिप र ज्ञान लिनु आवश्यक हुन्छ ।

अटिजमको उपचार

अटिजमको विश्वमा अहिलेसम्म कुनै औषधी छैन । यसको मुख्य उपचार भनेको थेरापी नै हो । व्यवहार थेरापी सबैभन्दा उत्तम हुन्छ । त्यसैले अभिभावकले यससम्बन्धी थेरापी लिनु आवश्यक हुन्छ । अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरू रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोगप्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएका छन् ।

शिक्षा प्राप्त गर्न पाउनु सबै बालबालिकाको मौलिक अधिकार हो । नेपालको सन्दर्भमा विद्यालयमा विशेष शिक्षाको व्यवस्था सहज छैन । यस कारणले अटिजम भएका बालबालिका, युवा र तिनका परिवार ठुलो मर्कामा परिरहेका छन् । शिक्षाको सुविधा सहज उपलब्ध गराउन नसक्नाले कतिपय विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई भर्ना लिन हिच्किचाउँछन् । भर्ना लिइहाले पनि अपाङ्गतामैत्री वातावरण नहुने, विशेष हेरचाह नहुने, एउटै कक्षामा धेरै वर्ष बिताउनुपर्ने, नियमित उपचार तथा थेरापी नहुने हुँदा त्यस्ता बालबालिकामा झन् नकारात्मक असर परिरहेको हुन्छ । एकै प्रकारको अपाङ्गता भएका बालबालिकामा पनि एकनास अवस्था हुँदैन । धेरै बालबालिका साधारण विद्यालयमा समायोजन हुन सक्दैनन् । अटिजम भएका धेरै व्यक्ति बाँधिएर थुनिएर बस्नु परेको छ । 

अटिजम भएका बालबालिकाका लागि आवश्यक थेरापीसहित क्षमतानुकूलको शिक्षा उनीहरूको मौलिक अधिकार हो । जनसचेतनाको अभावका कारण अटिजम, बौद्धिक अपाङ्गता (आत्मकेद्रित) भएका बालबालिका तथा किशोरकिशोरी शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । यता अभिभावकमा थेरापीको सामान्य ज्ञान नहुँदा अभिभावक अन्योलमा रहेका कारण बालबालिका घर र समाजमा तिरस्कृत हुनु परेको छ । अटिजम भएका बच्चाका अभिभावकले परिवार, आफन्त र समाजबाटै विभेद खेपिरहनु परेको छ । तसर्थ अटिजमसम्बन्धी जनसचेतना जगाउँदै अटिजम भएका बालबालिका र किशोरकिशोरीलाई साधारण शिक्षाका साथै थेरापीद्वारा शारीरिक र मानसिक रूपमा सबल बनाउनु सरोकारवाला पक्षको दायित्व हो ।  

Author

यमन पौड्याल