• १२ साउन २०८१, शनिबार

पेट्रोलियम उपकरण दैलेखमा

blog

भैरवी गाउँपालिका–१, जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि तयार पारिएको पूर्वाधार । पहिलो चरणमा आइपुगेका ड्रिलिङ उपकरण ।तस्बिर : कमल शर्मा

कमल शर्मा

दैलेख, चैत २० गते । दैलेखको शिरस्थान, नाभिस्थानमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खननका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेका छन् । चीनदेखि कोलकाता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा सोमबार दैलेख आइपुगेका हुन् । 

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा उत्खननका लागि अन्तिम ड्रिलिङ सर्भेको कामका लागि चीनबाट ल्याइएका उपकरण दैलेख आइपुगेको जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारी दिएको छ ।  प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मिनी ट्रक २२ वटा र एउटा १२ चक्के ट्रक जलजले पुगेका छन् । उहाँले साना ट्रक सुर्खेत हुँदै दैलेख आएको र ठुला ट्रक कर्णाली राजमार्ग, मध्यपहाडी राजमार्ग हुँदै जलजलेमा पुग्न लागेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “१२ चक्के ट्रक मध्यपहाडी राजमार्ग अन्तर्गत दुल्लु नगरपालिका–९, पादुकामा आएको र मोड नपुगेका कारण रोकिएको खबर पाउनेबित्तिकै जेसिबी लगाएर मोड बनाउन लागिएको छ ।” पेट्रोलियम पदार्थ उत्खनन लागि चीनबाट ल्याइएका उपकरण र उपकरण बोकेका ट्रकको भन्सार राजस्व विवादले नेपालगन्ज नाका रुपैडिहामा झन्डै तीन साता रोकिएकोमा अर्थ मन्त्रालयले निर्णय गरेपछि उपकरण बोकेका ट्रक जलजलेमा आउन लागेको परियोजनाले जनाएको छ । 

खानी तथा भूगर्भ विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख दिनेश नापितले पेट्रोलियम पदार्थको अन्तिम अन्वेषणका लागि १५० वटा ट्रक जलजलेमा पुग्ने जानकारी दिनुभयो । उहाँले दस वटा मिनी ट्रक जलजले पुगेको र अबको एक/दुई दिनमा १५० वटा ट्रक त्यहाँ पु¥याइने बताउनुभयो । उहाँले भन्नुभयो, “अन्वेषणका लागि उपकरण ल्याउन कर्णाली राजमार्गको सुर्खेतदेखि दैलेखको साँगेतडासम्म र चामुण्डाविन्दासैनी नगरपालिकादेखि मध्यपहाडी राजमार्गको जलजलेसम्म सडक फराकिलो बनाएपछि उपकरण बोकेका ट्रक जलजलेसम्म पुग्न सहज भएको छ ।”

नेपाली र चीनको प्राविधिक टोलीले पहिलो चरण अन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम गरिएको थियो । यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ । 

पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्भे कम्पनीसँग दुई अर्ब ४० करोड रुपियाँको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खननको काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सरकारले भैरवी गाउँपालिका–१, जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको अधिग्रहण गरिसकेपछि आवश्यक पूर्वाधार धमाधम निर्माण गरिरहेको छ । 

अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर जमिनमुनिसम्म ‘ड्रिलिङ’ गरिने छ । ड्रिलिङपछि पेट्रोलियम पदार्थ र ग्यास भण्डारण कति छ भन्ने पत्ता लाग्नेबित्तिकै अर्को प्रक्रियामा जाने तयारी हुने खानी तथा भूगर्भ विभागले जनाएको छ ।