• १२ साउन २०८१, शनिबार

थारू संस्कृतिको अपत्यारिलो पाटो : एक मृतकको चार ठाउँमा काजकिरिया

blog

माइला छोरा छिटकलाल आफ्नै घरमा काजकिरियामा / कल्ठीका पनाति वसन्तको घरमा काजकिरियाको तयारी हुँदै ।

एकिन्द्र तिमिल्सेना

टीकापुर, चैत २० गते । मातापिताको निधन भएपछि छोराछोरी, भाइबन्धु एकै ठाउँमा भेला भएर काजकिरिया गर्ने चलन छ । तर टीकापुर नगरपालिका–१, वनगाउँकी कल्ठीदेवी चौधरीको मृत्युपछि उहाँका दुई छोरा र दुई पनातिले फरक फरक ठाउँमा काजकिरिया गरेका छन् ।

कल्ठीका माइला छोरा छिटकलाल, कान्छा छोरा छुकुन्वा चौधरी र जेठा छोरा जितबहादुरका नाति वसन्त टीकापुर नगरपालिका–१, वनगाउँ बिचपुरुवास्थित आआफ्नै घरमा काजकिरिया बस्नुभएको छ । अर्का नातेदार दिपेश चौधरी उत्तरपुरुवामा काजकिरियामा हुनुहुन्छ । 

कल्ठीका तीन छोरा २०४५ सालमा छुट्टिई भिन्न हुनुभएको थियो । अंशबन्डासँगै दाजुभाइ छुट्टिए र देउता पनि बाँडिए । अलग अलग देवता भइसकेपछि थारू समुदायको चलन अनुसार मृत्युकर्म पनि अलग अलग गर्नुपरेको गाउँका अगुवा मीनबहादुर चौधरी बताउनुहुन्छ ।

“घर फुटेपछि जेठो छोराले देवता पाउने र बाँकीलाई जेठोले फलामको टुक्रा दिनु पर्छ । यही फलामको टुक्राबाट बनेको कामा (त्रिशूल) मा मैयाँ (देवी) बनाई स्थापना गरेपछि देवता छुट्टिएको मानिन्छ,’’ उहाँले भन्नुभयो । 

यसपछि हरेक परिवारले आफ्ना देवता छुट्याइसकेपछि बाआमाको मृत्यु भएमा अलग अलग काजकिरिया गर्नुपर्ने चलन रहेको स्थानीय ज्ञानबहादुर चौधरी बताउनुहुन्छ । यही चलनका कारण थारू समुदायमा बाआमा जीवित हुँदासम्म जति भाइ भए पनि सगोलमै बस्ने चलन छ ।

दाहसंस्कार पनि अलग अलग 

कल्ठीदेवीको यही चैत १० गते मृत्यु भएपछि सबै जना कर्णाली नदीमा अन्तिम संस्कारमा सहभागी भएका थिए । आमासँगै बसेका कारण कान्छा छोरा छुकुन्वाले अन्तिम संस्कार गर्नुभयो तर माइला छोरा छिटकलाल र पनातिहरू (जेठो छोराका नाति) ले भने घर आएर पुतला (कुशको शव) बनाई नजिकैको जमरा कुलामा अन्तिम संस्कार गर्नुभएको हो ।  नातिले गरेको दाहसंस्कारमा नजिकका गोत्यार र बाहुन मात्रै गएका थिए । “कान्छा (छुकुन्वा) लाई लास जलाएपछि जुठो लाग्यो । हामीलाई कुशको पुतला जलाई हिरन हालेपछि मात्रै जुठो लाग्यो,” माइला छोरा छिटकलाल भन्नुभयो, “त्यसैले अलग अलग तयारी गरेर आआफ्नै घरमा काजकिरिया बसेका हौँ ।”

थारू समुदायमा यस्तो परम्परा भए पनि धर्मशास्त्रमा भने उल्लेख नभएको जानकारहरू बताउँछन् । “हिन्दुका ग्रन्थ निर्णय सिन्धु र धर्म सिन्धुलाई मान्ने हो भने एकाघरका मानिस अलग अलग दिन मरे पनि जुठो नाता अनुसार जेठोमा मिलाएर एकै चोटि बार्न सकिन्छ,” पण्डित डा. चक्रप्रसाद अधिकारीले भन्नुभयो । 

“लास फेला नपरेको अवस्थामा मरेको निश्चित भइसकेपछि मात्रै कुशको शव बनाई जलाउने हो, एउटा छोराले लास जलाउने अरूले कुशको शव बनाई जलाउने शास्त्रीय प्रमाण कहीँ कतै छैन,” उहाँले थप्नुभयो । डगौरा थारूको जन्मदेखि मृत्युसंस्कारबारे जानकार सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक नाथुराम चौधरी थारू संस्कारबारे पुराना लिखत नभएकाले मौखिक रूपमा जीवन्त परम्परा कायमै रहेको बताउनुभयो । कल्ठीका दुई छोरा र दुई पनातिले अलग अलग काजकिरिया गर्ने भनेपछि उहाँहरूलाई सघाउन गाउँका बडघरले गाउँले पनि बाँडिदिनुभएको छ ।  सबैको काम चलाउन सहयोगी बाँड्नुपरेको बडघर किट्टु चौधरीले बताउनुभयो ।

बिचपुरुवमा रहेका छिटकलाल, छुकुन्वा र वसन्तलाई सघाउन १८/१८ परिवार लागे भने अर्को गाउँमा बस्ने दिपेशले छिमेकको भरमा काजक्रिरिया गरेका छन् । बाँडिएकाले पात टिप्ने, दाउरा, काट्ने, चिर्ने, टपरी लगाउने अन्तिम दिन खाने कुरा पकाउने काम गरेका छन् । 

हरेक काम १८ परिवार पूरै मिलेर गर्नुपरेको छपिलाल चौधरी बनाउनुहुन्छ । यसरी बाँडिएका परिवारले तोकिएको घरबाहेक अर्को घरको पितृ कार्यमा जान मिल्दैन । कारणवश गइहाले पनि खानापानी खान मिल्दैन । 

मरेको ७ दिनपछि दुई रात अलग्गै काजक्रिरिया बसी जुठो बारेका छन्, अन्तिम दिन थारू बाहुनले सबै पुरुषको टाउमा तेल र टोपी लगाइदिएका छन् । अन्तिम दिन जिता (बङ्गुर) मारेर, भात भोजनको पितृभाग छुट्याएर देवथानमा चढाई बाँकी गोत्यार र नातागोताले सँगै खाएर जुठो छोडेका छन् । 

देवता अलग बनाएका कारण एउटै व्यक्तिको चार ठाउँमा काजक्रिरिया गर्दा उनीहरूको खर्च बढेको छ भने गोत्यारहरूले पनि काम गर्नुपर्दा काम बढेको छ । छुटिया (छुट्टिएर किरिया गर्नु) पुरानो चलन हो, नगरे दुःख होला भनेर अलग अलग गरेको छिटकलालका पण्डित जन्कु चौधरीले बताउनुभयो ।