• १२ साउन २०८१, शनिबार

पर्सामा सवारी साधनको जरिवानाबाट डेढ करोड राजस्व उठ्यो

blog

वीरगञ्ज (पर्सा), चैत १९ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा सवारी साधनको जरिवाना बापत डेढ करोडभन्दा धेरै राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले आठ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनबाट एक करोड ५७ लाख ६९ हजार छ सय छ रकम राजस्व सङ्कलन गरेको बताउनुभयो । ‘‘गत आवको तुलनामा चालु आवको आठ महिनामा जरिवानाबापतको राजस्वको रकम केही घटेको छ’’, उहाँले भन्नुभयो, ‘‘अहिले नयाँ टिभिआरएस सिस्टम लागू गरेका छौँ । विगतमा अधिकतम जरिवानाबाट सुरुवात गर्ने गरिन्थ्यो । तर,अहिले न्यूनतमबाट जरिवाना गर्दा केही राजस्व घटेको हो ।’’ 

ट्राफिक प्रहरीले जनचेतनाको कार्यक्रमलाई तीव्रता दिँदा पनि ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकको सङ्ख्यामा केही कमी आएको उहाँको भनाइ छ । कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने ट्रकको सङ्ख्या छ हजार चार सय २५ रहेको छ । ट्रकबाट ८८ लाख १९ हजार दुई राजस्व सङ्कलन भएको छ । कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने एक सय ३२ बस कारबाहीमा परेका छन् । कारबाहीमा पर्ने बसबाट एक लाख ३० हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।

त्यस्तै गरी ट्राफिक नियम उल्लङ्घन गर्ने कार-जीप-भ्यानको सङ्ख्या एक हजार तीन सय २४ जना रहेको छ । ती सवारीसाधनबाट रु १२ लाख दुई हजार पाँच सय पाँच रकम राजस्व सङ्कलन भएको छ । गरी ट्राफिक नियम उल्लङ्घन गर्ने दुई पाङग्रे सवारीसाधनको सङ्ख्या सात हजार १२ रहेको छ । ती सवारीसाधनबाट ४९ लाख ८० हजार ५९ रकम राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आव भरिमा भने ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार पाँच सय ३४ सवारीसाधनलाई कारबाही गरेर तीन करोड ४२ लाख ६५ हजार रकम राजस्व सङ्कलन गरेको थियो । रासस