• १७ असार २०८१, सोमबार

एमाले पाँचथर नेतृत्व चयनका लागि मतदान सकियो

blog

एमाले पाँचथरको जारी नवाैं जिल्ला अधिवेशनका नेतृत्व चयनका लागि मतदान गरिँदै । तस्बिर : राधा लुइटेल/गोरखापत्र

राधा लुइटेल

फिदिम, चैत १९ गते । पाँचथर-नेपाल कम्युनिष्ट पार्टी एमाले पाँचथरको नवौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । उपाध्यक्ष र उप-सचिव सहित पाँच जना खुल्ला सदस्य पदमा सहमति नजुटेपछि मतदान गरिएको हो ।

चार सय १ जना प्रतिनिधिमध्ये ३ सय ५८ जनाले मतदान गरेको निर्वाचन समितिका संयोजक प्रेम काफ्लेले बताउनुभयो । अध्यक्ष पदमा हाल कार्यवाहकको जिम्मेवारी निर्वाह गर्दै आएका विष्णुप्रसाद सापकोटा र सचिव पदमा उप-सचिव पृथ्वी लावती सर्वसम्मत चयन हुनुभएको छ ।

उपाध्यक्षमा वीरबहादुर कुरुम्वाङ र नरबहादुर गुरुङ तथा उप सचिव पुरुषतर्फ तुलसी थापा र जयप्रकाश केरुङ तथा उप सचिव महिला तर्फ कमलकुमारी योङहाङ र कौशिला आङदेम्वेको बित प्रतिस्पर्धा हुँदैछ ।

यस्तै, पाँच जना सदस्य खुल्ला पदका लागि ११ जनाको प्रतिस्पर्धा हुँदैछ । सदस्य पदमा कृष्ण ओझा खगेन्द्र बास्कोटा, देविभक्त मैनाली, नवराज घिमिरे, नेत्रप्रसाद चिमरिया, पीताम्बर भट्टराई, बुद्धिमान स्याङदान, भजेन्द्रप्रसाद आचार्य, बाबुराम कार्की, राजु थाम्सुहाङ र विनोद आङदेम्बे चुनावी मैदानमा हुनुहुन्छ । अहिले मतगणना सुरु हुन लागेको छ साँझ ७ बजेभित्र गणना सक्ने तयारी भइरहेको निर्वाचन मण्डलका सूचना अधिकारी टिका तिम्सिनाले जानकारी दिनुभयो  ।

एमाले जिल्ला कमिटी पाँचथर ७५ सदस्य रहने वैधानिक प्रावधान रहेको तिम्सिनाको भनाइ छ ।