• १३ मंसिर २०८१, बिहिबार

कनकमुनि बगैँचाको भएन संरक्षण

blog

कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा । तस्बिर : नारद कोहार

नारद कोहार 

तौलिहवा (कपिलवस्तु), चैत १९ गते । कपिलवस्तुको अरौराकोटनजिकै कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा संरक्षणको पर्खाइमा रहेको छ । निर्माण गरिएको मूर्तिसहितको बगैँचा संरक्षण नहुँदा अलपत्र अवस्थामा रहेको छ । कनकमुनि बुद्धको जन्मस्थल निगालीकोटबाट करिब डेढ किलोमिटरपूर्वमा उक्त मूर्ति अनावरण गरिएको थियो । 

बुद्धस्थल तीर्थाटनका लागि नेपाल आएका भारतीय सम्राट् अशोकले लुम्बिनीपछि निग्लिहवाको पनि तीर्थाटन गरेका थिए । तीर्थाटनमा आएका सम्राट् अशोकले नै आफूले भ्रमण गरेको चिनोस्वरूप लुम्बिनी र कपिलवस्तुमा स्तम्भ बनाएर ठड्याएका थिए । जुन स्तम्भलाई अशोकस्तम्भको नामले विश्वभरका बौद्ध अनुयायीले चिन्ने गर्छन् तर गौतम बुद्धभन्दा पनि पहिलेका बुद्धहरूले राज गरेका प्राचीन नगरको प्रचारप्रसार र संरक्षण हुन नसक्दा यी स्थलको महत्व ओझेलमा परेको भन्दै बुद्ध प्रतिमा निर्माण गरिएको हो । 

९० लाख छ हजार ७९९ रुपियाँको लगतमा कनकमुनि बुद्धको मूर्तिसहितको बगैँचा निर्माण गरिएको थियो । डिभिजन वन कार्यालय र लुम्बिनी प्रदेशको सहयोगमा उक्त मूर्ति र बगैँचा निर्माण गरिएको हो । स्थानीय बुधई यादवका अनुसार कनकमुनि बुद्धको प्रतिमा निर्माण गर्नु राम्रो काम भए पनि अहिले त्यसको संरक्षणको जिम्मा कसैले नलिएपछि अलपत्र परेको बताउनुभयो । लाखौँ खर्चेर मूर्ति अनावरण गरियो तर त्यहाँ पुग्नका लागि बाटो जीर्ण रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहीँ नजिकै रहेको अरौराकोटको उत्खनन तथा अन्वेषणमा त्यति बजेट खर्च भएको भए केही काम पनि देखिन्थ्यो ।” कनकमुनि बुद्धले आफ्नो बाल्यकाल तथा वैवााहिक जीवन व्यतीत गरेको ठाउँ अरौराकोट संरक्षणको अभावमा रहेको उहाँले बताउनुभयो । 

कपिलवस्तु नगरपालिका–११ का वडाध्यक्ष रामगोपाल यादवका अनुसार वडासँग त्यसको विकासका लागि पर्याप्त बजेट नभएकाले सङ्घ, प्रदेश र लुम्बिनी विकास कोषले विशेष चासो दिनुपर्ने बताउनुभयो । लुम्बिनी विकास कोष कपिलवस्तुका प्रमुख माधवप्रसाद आचार्यका अनुसार प्रतिमासहितको बगैँचा वन कार्यालयको स्वामित्वमा रहेकाले कोषले त्यसको विकासको लागि केही गर्न नसक्ने बताउनुभयो । खाली बगैँचा र प्रतिमा निर्माण गरेर भएन, त्यसको विकास पनि गर्नुपर्ने उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीका अनुसार अरौराकोटनजिकैको कनकमुनि बुद्धको प्रतिमासहितको बगैँचा निर्माण अहिले अलपत्र रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकार परिवर्तनसँगै मन्त्रालय पनि बाँडफाँट हुँदा समस्या हुँदै आएको उहाँले बताउनुभयो । सो क्षेत्रको विकासका लागि वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशसँग सहकार्य भइरहेको उहाँको भनाइ छ । यसको संरक्षण गर्न स्थानीय तहको पनि भूमिका उत्तिकै हुनुपर्ने प्रमुख सुवेदीले बताउनुभयो ।