• १३ मंसिर २०८१, बिहिबार

दूरबिन विधिबाट शल्यक्रिया

blog

गजेन्द्र गुरुङ 

खजुरा, चैत १९ गते । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दूरबिन विधिबाट शल्यक्रिया गरिएको छ । भेरी अस्पतालमा पहिलो पटक दूरबिन विधिबाट आन्द्रामा प्वाल परेको रोगका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यसै गरी जन्मजात पित्तको नली सुन्निएका बिरामीको पनि पहिलो पटक शरीर चिरेर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा. कृष्णमोहन अधिकारीले आन्द्रामा प्वाल परेका बाँकेका ४० वर्षीय शान्तराम केवटको पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालमा आन्द्रामा प्वाल परेका बिरामीको शरीर चिरेर शल्यक्रिया गरिँदै आएकामा केवटको भने पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरी उपचार गरिएको उहाँको भनाइ छ । 

जन्मजात पित्तको नली सुन्निएकी घोराही उपमहानगरपालिका–११, गणेशपुर दाङकी ५० वर्षीय मनकुमारी चौधरीको पनि शल्यक्रिया गरिएको छ । चौधरीको भने शरीर चिरेर शल्यक्रिया गरिएको डा. अधिकारीले बताउनुभयो । जन्मेपछि पित्त सुन्निएका बिरामीको शल्यक्रिया गरिँदै आए पनि अस्पतालमा पहिलो पटक जन्मजात पित्तको नली सुन्निएको रोगको बिरामीको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । 

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा. कृष्णमोहन अधिकारीको नेतृत्वमा डा. सन्तोष सिर्पाइली, डा. विधान पौडेल र डा. कमर हसन अन्सारीको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।