• १३ साउन २०८१, आइतबार

कोहलपुर नगर अस्पतालबाटै विशेषज्ञ सेवा

blog

कोहलपुर नगरपालिकाको कार्यालय भवन । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १८ गते । बाँकेको कोहलपुर नगरपालिकाले नगर अस्पतालबाटै अब विशेषज्ञ सेवा दिने भएको छ । कोहलपुर नगरपालिकामा रहेको नगर अस्पतालबाट आइतबार, बुधवार र शुक्रबार विशेषज्ञ सेवा प्रदान गरिने कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो । 

कोहलपुर नगरपालिका स्वास्थ्य बीमा संयोजन समिति संयोजकसमेत रहनुभएका मेयर आचार्यले नेपालगन्ज मेडिकल कलेज कोहलपुरसँगको सहकार्यमा नगर अस्पतालबाटै विशेषज्ञ सेवा दिन लागिएको बताउनुभयो । कोहलपुर नगर अस्पतालका स्वास्थ्य बीमा संयोजन समितिका सदस्य वीरेन्द्र कुमार शाहका अनुसार आइतबार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ सेवा, बुधवार जनरल फिजिसियन र शुक्रबार शल्य चिकित्सा सेवा प्रवाह गरिने छ । 

स्वास्थ्य बिमा बाेर्डमा सूचीकृत मेडिकल कलेज कोहलपुरका चिकित्सकहरुले नगर अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गर्ने सदस्य शाहले बताउनुभयो । उहाँका अनुसार जटिल खालका समस्या देखिएका बिरामीहरुलाई मेडिकल कलेजमा रिफर गरिनेछ । 

नगर प्रमुख आचार्यको अध्यक्षतामा बसेको बैठकले वैशाखको पहिलो सातादेखि विशेषज्ञ सेवा दिने तयारी गरेको जनाइएको छ । मेडिकल कलेजमा बीमा कार्यक्रम वैशाख पहिलो सातादेखि सुरु गर्ने तयारी गरिएको छ । उक्त कार्यक्रम सुरु भएपछि नगर अस्पतालमा पनि विशेषज्ञ सेवा सुरु हुने भएको हो । 

नगरपालिकाले आफ्नै फार्मेसी सञ्चालनको तयारी गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।