• १२ साउन २०८१, शनिबार

दलका कारण सङ्घीयता कार्यान्वयन समस्या : डा. कोइराला

blog

फिदिममा आयोजित पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै कांग्रेस नेता डाक्टर शशाङ्क कोइराला। तस्बिर : राधा लुइँटेल

राधा लुइटेल 

फिदिम, चैत १७ गते। नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले प्रमुख राजनीतिक दल र तिनको नेतृत्वले अधिकार प्रत्यायोजन नगर्दा सङ्घीयता कार्यान्वयनमा कठिनाइ भइरहेको बताउनुभएको छ। 

पाँचथरको फिदिममा शनिबार  नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। दलहरूले शक्ति र अधिकार आफू केन्द्रित गर्न खोजिरहँदा प्रदेश र स्थानीय सरकार मजबुत हुन नसकेको उहाँको धारणा थियो।

राजनीतिक दल र तिनको नेतृत्व सरकार र गठबन्धन गर्न र भत्काउन केन्द्रित हुँदा मुलुकमा विकास निर्माण र सुशासन पनि ओझेलमा परेको उहाँको भनाइ छ।

प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलको बहुमत नपुग्दा यो अवस्था आएको भन्दै कोइरालाले निर्वाचन प्रणालीलाई संशोधन गरेर मुलुकको स्थायित्वका लागि दल गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। 

कोइरालाले यसपछि सम्पन्न हुने कुनै पनि निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्नु नहुने तर सरकार गठनका सम्बन्धमा भने सहकार्य गर्न सकिने बताउनुभएको छ ।

कोइरालाले सङ्घीयता मजबुत बनाउन अधिकार प्रत्यायोजनमा कन्जुस्याइँ गर्नु नहुने पनि बताउनुभयो। कांग्रेसमा अधिकार प्रत्यायोजनको झन् धेरै समस्या रहेको कोइरालाको भनाए थियो।

इलाम २ को निर्वाचनमा विवेक पुर्‍याएर टिकट वितरण गर्दै आफ्ना उम्मेदवार जिताउन एक भएर लाग्न कोइरालाले कांग्रेस कार्यकर्ता र नेतालाई आग्रह गर्नुभयो।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले इलाम २ को निर्वाचनमा पार्टीको सबै शक्ति केन्द्रित हुने बताउनुभयो।